+
+

क्रिसमसले समुन्नत सामाजिक संरचनाको निर्माण गर्छः राष्ट्रपति

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष १० गते ९:०४

rambaran-yadav
१० पुस, काठमाडौं । राष्ट्रपति डा. रामबरण यादवले क्रिसमसले राष्ट्र निर्माण तथा समुन्नत सामाजिक संरचनाको निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने बताएका छन् ।

इसाई धर्माबलम्बीहरुको महान चाड क्रिसमसको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति यादवले भने-‘ ‘विविध जातजाति, भाषाभाषी, धर्म-संस्कृति, परम्पराहरूबाट समृद्ध हाम्रो मुलुकमा यस प्रकारका चाडपर्वहरूको संरक्षण र संबर्द्धनबाट देशमा आपसी विश्वास र सद्भावको अभिवृद्धि भई राष्ट्र निर्माण एवम् समुन्नत सामाजिक संरचनाको निर्माण गर्ने कार्यमा महत्वपूर्ण टेवा मिल्नेछ ।’

देश विदेशमा बस्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीलाई शुभकामना दिँदै यादवले यस पर्वले सबै नेपालीबीच बान्धुत्व, प्रेम र एकताको भावना बढाउने कार्यमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

यसैगरी, उपराष्ट्रपति परमानन्द झाले क्रिसमस डेका अवसरमा शुभकामना सन्देश दिँदै संविधानसभाको दोस्रो निर्वाचनपछि देशले जनचाहना अनुरूपको लोकतान्त्रिक संविधान प्राप्त गर्दै स्थिरता र समृद्धिको मार्गमा अघि बढ्न सकोस् भन्ने कामना गरेका छन् ।

राजनीतिक क्षेत्रको गतिरोधलाई सदाका लागि समाप्त गरी सबै नेपालीलाई यो दिवसले सुख, शान्ति र समृद्धि प्रदान गर्ने आशा उपराष्ट्रपतिको छ ।

विविधता बीचको एकता हाम्रो राष्ट्रियताः प्रधानमन्त्री

प्रधानमन्त्री सुशील कोइरालाले इसाई धर्माबलम्बीहरुको महान चाड क्रिसमस डेको अवसरमा शुभकामना दिन्दै यस पर्वले नेपालको विविधता बीचको एकता हाम्रो राष्ट्रियता भन्ने नारालाई पुष्टि गर्ने बताएका छन् ।

शुभकामना सन्देशमा कोइरालाले भनेका छन्-‘बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक पहिचान बोकेको भौगोलिक विविधतायुक्त नेपालमा सबै जातिका विभिन्न धर्म र संस्कृति अङ्गीकार गर्ने नागरिकबीच सदियौँदेखि सौहार्द सम्बन्ध रहिआएको छ । यही विविधता बीचको एकता हाम्रो राष्ट्रियताको सबल आधार बनेको छ । विभिन्न भौगोलिक क्षेत्रमा बसोबास गर्ने नेपालीमा रहेको जातीय, धार्मिक, सांस्कृतिक सहिष्णुताले मुलुकमा शान्ति र सद्भाव कायम गर्न सघाउँदै आएको पनि छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?