- फाइल फोटो
६ माघ, काठमाडौं । संविधानसभा बैठकमा एमाओवादीसहितका विपक्षी दलका सभासदहरुले तोडफोड गरेपछि संविधानसभा अध्यक्ष सुवास नेम्वाङले गहभरि आँखु पारे ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेम्वाङले उत्तेजनात्मक घटना भएको बताए । नेम्वाङले यो बेठीक भयो, यो भन्दा बढी मैले बताउन सक्ने अवस्था छैन भन्दा उनका आँखा रसाएका थिए ।
नेम्वाङले यो घटनाको जति भत्र्सना गरे पनि नपुग्ने बताए । उनले घटनाबारे सम्वन्धित पक्षले जनतालाई प्रष्ट जवाफ दिनुपर्ने समेत बताएका छन् ।
बैठक अवरोध गर्ने क्रममा एमाओवादीका एक सभासद संविधानसभा अध्यक्षको आसनतर्फ गएका थिए । यद्यपि मर्यादा पालकले उनलाई रोकेका कारण सभामुखमाथि आक्रमण हुन पाएन ।
जनताको निधारमा कलंकको टीका : गौतम
बैठकपछि उपप्रधान एवं गृहमन्त्री बामदेव गौतमले संविधानसभामा भएको घटनाले नेपाली जनताको निधारमा कलंकको टीका लगाउने काम भएको बताएका छन् ।
संविधानसभाको नारा दिएर माओवादी संविधानसभालाई नै ध्वस्त पार्न लागिपरेको बताए । उनले भने-‘पूरै ध्वस्त बनाउन योजना बनाउनुभएको थियो, त्यसो गर्न सक्नु भएन । हामी उहाँहरु जस्तै हुन सक्दैनौं । बाटोमा हिँड्दा कुकुरले खुट्टामा टोक्यो भने मान्छेले पनि टोक्न सक्दैन ।’
गौतमले अघि भने- ‘विचारको बहस गर्न बनाइएको संविधानसभामा हामी कुस्ती खेल्न आएका होइनौं ।’ यद्यपि गौतमले आगामी दिनमा यस्तो हुन नदिने बताए ।
प्रतिक्रिया 4