+
+

निरन्तर संवाद र सहकार्यबाटै राजनीतिक सहमति हुन्छ : प्रधानमन्त्री कोइराला

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख १ गते ९:०५

१ वैशाख, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले निरन्तरको संवाद र सहकार्यबाटै राजनीतिक सहमति हुने बताएका छन् । नयाँ वर्ष २०७२ सालको शुभकामना सन्देश दिँदै प्रधानमन्त्री कोइरालाले राजनीतिक दलबीचको निरन्तर संवाद, सहकार्य, एकता र मेलमिलापबाटै राजनीतिक सहमति कायम हुने विश्वास व्यक्त गरेका हुन् ।
Susil-koirala
नेपाली जनताले साढे सात दशकभन्दा अगाडिदेखि गर्दै आएको संघर्षको परिणामस्वरुप प्राप्त सघीयता, गणतन्त्र र समावेशितासहितको लोकतन्त्रलाई संविधानसभाबाट बन्ने संविधानमा लिपिबद्ध गरी संस्थागत गर्न सबै राजनीतिक दल जिम्मेवार हुनुपर्ने कोइरालाको भनाई छ ।

शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री कोइरालाले भनेका छन्-‘लोकतन्त्रको मूल्य, मान्यता, सिद्धान्तमा आधारित राजनीतिक पद्धतिका माध्यमबाट जनताको जीवनस्तरमा सुधार ल्याउन सकिने सकारात्मक सोचले हामीलाई उज्यालो भविष्यतर्फ डोर्‍याउँदै ल्याएको छ । यही प्रेरणाले नै आन्तरिक द्वन्द्वको शान्तिपूर्ण सफल अवतरण गरेर सबै नेपालीलाई बहुदलीय प्रतिस्पर्धात्मक राजनीतिक व्यवस्थाको मूलधारमा ल्याउन हाम्रा अग्रजहरूले कठोर प्रयास गर्नुभएको थियो । लोकतान्त्रिक शासन व्यवस्थाको लागि हाम्रा अग्रज नेताहरू र योद्धाहरूले दिएको बलिदान र योगदानलाई स्मरण गर्दै नेपाल र नेपालीको भविष्य सुनिश्चित गर्ने सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माणको कार्यलाई हामीले सफल पार्नै पर्दछ । यो ऐतिहासिक दायित्व पूरा गर्न नयाँ वर्ष २०७२ ले हामी सबैलाई प्रेरणा दिनेछ ।’

वर्तमान सरकार संविधान निर्माण प्रक्रियामा सार्वभौम संविधानसभालाई सघाउँदै देशमा दिगो शान्ति, राजनीतिक स्थायित्व र तीव्र गतिको आर्थिक विकासका माध्यमबाट नेपाली जनताको जीवनस्तरमा गुणात्मक सुधार ल्याउन प्रयत्नशील रहेको बताउँदै कोइरालाले प्रशासनलाई दक्ष, सक्षम, झन्झटमुक्त, छिटोछरितो, पारदर्शी, जिम्मेवार, सदाचारयुक्त, भ्रष्ट्राचारमुक्त बनाई नागरिकमुखी बनाउने सरकारको प्रयत्न रहेको उल्लेख गरेका छन् ।

सरकारले अपनाएको लगानीमैत्री नीतिको परिणाम यस वर्षदेखि देखिने  अपेक्षा रहेको बताउँदै उनले बढ्दो लगानीले स्वदेशमा नै रोजगारीका अवसर सिर्जना गरी युवा शक्तिलाई राष्ट्र निर्माणमा सरिक गराउने उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?