१६ जेठ, भक्तपुर । भक्तपुरको डेरी पसलमा शनिबार बिहान ग्यास लिक भएर आगलागी भएको छ । मध्यपुरथिमि नगरपालिका– १७ नमुना बस्ती गठ्ठाघरमा चारवटा पसलमा एकैसाथ आगलागी भएको हो ।
गठ्ठाघरबाट सानोथिमि जाने सडकमै रहेको दानबहादुर जिसीको टहरामा राखिएको आठवटा पसलमध्ये आगलागीबाट चार वटा पसलमा क्षति भएको छ ।
आगलागीबाट टङ्कप्रसाद पराजुलीको डेरी पसल, दीपेन्द्र खनालको मोबाइल पसल, मीरा भण्डारीको कपडा पसल र सविना लिम्बूको फेन्सी पसलमा क्षति भएको छ ।
डेरी पसलमा करिब रु १० लाख, मोबाइल पसलमा करिब रु पाँच लाख, कपडा पसलमा करिब रु चार लाख र फेन्सी पसलमा करिब रु चार लाखको क्षति भएको प्रहरीको भनाइ छ ।
भक्तपुर र काठमाडौँबाट आएको दमकलले आगो नियन्त्रणमा लिएको थियो ।