२९ जेठ, काठमाडौं । ताप्लेजुङका विभिन्न गाविसमा गएको पहिरोबाट ठूलो धनजनको क्षति भएको छ । जिल्लामा यसरी भीषण पहिरो जानुको कारण बैशाख १२ को भूकम्पलाई देखाइएको छ । तर, यो भूूकम्पका कारणले पहिरो गएको भन्ने विश्लेषणमा ताप्लेजुङबासीहरु सहमत छैनन् ।
यसपालिको भूकम्पको केन्द्रविन्दु गोरखा र सिन्धुपाल्चोकमा थियो । ताप्लेजुङ सुदुरपूर्वमा सिक्किमसँग जोडिएको जिल्ला हो । यो जिल्लामा यसपालिको भूकम्पले खासै ठूलो क्षति पुर्याएको छैन ।
गृहमन्त्रालयको तथ्यांक अनुसार कुल २४ हजार २ सय ९० घरधुरी रहेको ताप्लेजुङमा यसपालिको भूकम्पले ४ निजी घरमा मात्रै पूर्ण क्षति गराएको छ । २८ घरमा आंशिक क्षति गराएको र ६९ वटा सरकारी भवनहरुमा आंशिक क्षति भएको गृहको तथ्यांक छ । यो जिल्लामा भूकम्पबाट १ जनाको निधन भएको र ७ जना घाइते भएको गृहको तथ्यांक छ ।
मानव निर्मित संरचनाहरुमा समेत कम क्षति गराएको भूकम्पले ताप्लेजुङका डाँडाकाँडा भत्काएर जोखिमपूर्ण बनाएको अनुमान गर्न सकिँदैन । त्यसैले दुई दिन अघि आएको भीषण पहिरोमा भूकम्पको सम्बन्ध नरहेको स्थानीयको तर्क छ ।
‘यो पहिरो भूकम्पका कारणले गएको होइन,’ ताप्लेजुङमा पहिरोपीडितको उद्धारमा सक्रिय रहेका सभासद डम्बरध्वज तुम्बाहाम्फेले अनलाइनखबरसँग भने- ‘अधिक पानी परेका कारणले पहिरो गएको हो, ताप्लेजुङमा भिरालो जमीन भएकाले वर्षेनी यस्तो समस्या आइरहन्छ ।’
अलैंची र उत्तिस रोप्ने प्रचलन पनि पहिरोको एउटा कारण हुन सक्ने सभासद तुम्बाहाम्फेले बताए । उनले भने- ‘यो पनि पहिरोको एउटा कारण हुन सक्छ, अलैंची रोपेको ठाउँमा उत्तिस रोप्ने चलन छ, उत्तिसले माटोलाई सेपिलो र खुकुलो बनाउने हुँदा त्यहाँ पहिरोको जोखिम बढी हुन्छ ।
पूर्वी नेपालका ताप्लेजुङ, इलाम, पाँचथर, संखुवासभा र तेह्रथुम लगायतका जिल्लाहरु अलैंची खेतीका लागि प्रशिद्ध मानिन्छन् । धान फल्ने खेत मासेर अलैंची र उत्तिस रोप्ने चलन बढ्दै गएको छ । अलैंची र उत्तिस खेतीले पहाडमा पानीका स्रोतहरु बढेका छन् ।
ताप्लेजुङ निवासी रमेश बराल पनि पहिरो जानुमा अलैंची खेती एउटा कारक हुन सक्ने बताउँछन् । अलैंचीले माटो रसिलो बनाउने हुँदा पहिरोको सम्भावना बढी हुने उनको तर्क छ ।
- ताप्लेजुङको पहिरो
एकीकृत बस्तीबारे बहस
भूकम्पको जोखिमबाट बच्न एकीकृत वस्ती बसाउनुपर्ने मध्य नेपालमा चर्चा भइरहेका बेला पूर्वी नेपालको ताप्लेजुङमा पनि यसबारे छलफल हुन थालेको छ । तर, भूकम्पले हैन, पहिरोका कारण एकीकृत वस्तीको आवश्यकता महसुस गरिएको हो ।
‘हामी यसबारेमा जिल्लामा छलफल गर्दैछौं,’ सभासद तुम्बाहाम्फेले अनलाइनखबरसँग भने- ‘सबैभन्दा पहिले त यसपालिको पहिरोबाट विस्थापित बनेका करिब ४४ घरका २ सय पीडितलाई कहाँ व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल गर्दैछौं ।’
ताप्लेजुङमा बुधबार राति गएको पहिरोमा परी २७ को मृत्यु भएको छ भने २९ जना हराइरहेका छन् । ८ घाइतेलाई उपचारका लागि धरान पुर्याइएको छ । शुक्रबारदेखि सेनाको हेलिकोप्टरले पीडितस्थलमा राहत सामग्री पीडितस्थलमा राहत सामग्री पुर्याएको छ ।