Comments Add Comment

ताप्लेजुङमा पहिरोमा परी मृत्यु हुनेको संख्या २७ पुग्यो

२९ जेठ, ताप्लेजुङ । जिल्लाको दक्षिणमा पर्ने ६ वटा गाविसमा गएको भिषण पहिरोमा परी मृत्यु हुनेको संख्या २७ पुगेको छ । शुक्रबार थप ६ जनाको शव फेला परेपछि मृतकको संख्या २७ पुगेको हो । बिहीबार अबेरसम्म २१ जनाको शव फेला परेको थियो ।

Taplejung

शुक्रबार विहानैदेखि पहिरो प्रभावित क्षेत्रमा खोजी र उद्धारमा खटिएको टोलीले शव फेला पारेको हो । २४ जनाको शव आफन्तको जिम्मा लगाइसकिएको छ । बाँकी शवको पहिचान गर्ने र जिम्मा लगाउने काम जारी छ ।

प्रमुख जिल्ला अधिकारी डमरुप्रसाद निरौलाका अनुसार अझै ३१ जना सम्पर्कविहीन छन् । उनीहरुको खोजीकार्य जारी छ । पहिरोमा पुरिएर ८ जना घाइते भएका छन् । घाइतेहरुलाई सदरमुकाम फुङलिङमा ल्याएर उपचारको लागि बिभिन्न अस्पतालमा पठाइएको छ ।

पहिरोमा फसेकाको उद्धार भएन

शुक्रबार विहान बसेको विपद व्यवस्थापन समितिको बैठकले पहिरोको जोखिममा परेको बस्तीलाई सुरक्षित स्थानमा सार्ने निर्णय गरेको छ ।

तर, लिवाङ गाविसको ल्यामल्याममा बुधबार रातिदेखि पहिरोको बीचमा फसेका १४ जनाको अझै उद्धार हुन सकेको छैन । प्रमुख जिल्ला अधिकारी निरौलाले अनलाइनखबरसँग भने- ‘१४ जना फसेको जानकारी पाएका छौं । तर, त्यहाँसम्म पुग्न कठिन भैरहेको छ ।’

लिवाङको वार्ड नम्बर २ ल्यामल्याम र नयाँ पहिरो बनेको फुगाम्देनको बीच भागमा १४ जना फसेको स्थानीयले जानकारी दिएका छन् । विहीबार उद्धार गर्न सदरमुकामबाट गएको हेलिकप्टर पनि गन्तव्यसम्म पुग्न नसकेर फर्किएको थियो ।

मौसम प्रतिकूल

पटक-पटक पानी परिरहेको र बाक्लो हुस्सु लागिरहेकाले हेलिकोप्टर पठाउन नसकिएको प्रजिअ निरौलाले बताए । ‘अत्यन्तै प्रतिकूल स्थिति छ, हामीले चाहेर पनि केही गर्न सकिरहेका छैनौं’ उनले भने-‘प्रभावित क्षेत्रमा पैदल टोली पठाएका छौं ।’

उद्धारका लागि सेना, सशस्त्र र नेपाल प्रहरीको टोली परिचालन गरिएको छ । स्थानीयका अनुसार केही सुरक्षाकर्मीहरु गाउँमा पुगे पनि उद्धारको काम प्रभावकारी भएको छैन ।

विहान दर्के पानी परे पनि अहिले मौसमक केही अनुकुल भएको छ । तर, प्रभावित क्षेत्रमा सिमसिम पानी र बाक्लो कुहिरो कायमै छ । ठाउँठाउँमा बाटो अबरुद्ध भएकाले पनि त्यहाँसम्म पुग्न कठिनाइ भइरहेको छ ।

बुधबार राति परेको अविरल वर्षासँगै पहिरो जाँदा दक्षिण भेगका ६ वटा गाविसमा धनजनको क्षति भएको छ । लिवाङ, थिङलावु, सान्थाक्रा, खोक्लिङ, लिङतेप, थुकिम्वा र खाम्लुङ गाविसमा पहिरो गएको हो । यी क्षेत्र सदरमुकामबाट ८-९ घण्टाको पैदल दुरीमा पर्दछन् ।

जोखिमयुक्त बस्ती सार्ने निर्णय

शुक्रबार विहान बसेको विपद व्यवस्थापन समितिको बैठकले जोखिमका बस्ती सुरक्षित स्थानमा सार्ने निर्णय गरेको छ । मेवा नदीको किनारमा रहेको जिल्लाकै दोश्रो ठूलो व्यापारिक केन्द्र दोभान बजार जोखिममा रहेकाले उनीहरुलाई सार्ने काम पनि आजैबाट सुरु गरिने निर्णय गरिएको छ ।

बुधबार दोभान बजारका तीन घर बाढीले बगाएको थियो । सो स्थानका बासिन्दा राति नै घर छाडेर सुरक्षित स्थानको खोजिमा निस्किएका थिए ।

राहत अझै पुगेन

बाढी पहिरो प्रभावित क्षेत्रमा पाल, कम्बल, खाद्यान्न लगायतका राहत पठाउने निर्णय विपद व्यवस्थापन समितिले गरेको छ । राहतसहित हेलिकप्टर सदरमुकाम फुङलिङमा तयारी अवस्थामा राखिए पनि उड्न सकेको छैन ।

प्रजिअ निरौलाले अनलाइनखबरसँग भने-‘हामीहरु तयारी अवस्थामा सशस्त्र प्रहरी बलको अफिसमा बसेका छौं मौसम अनुकुल हुनासाथ राहत पुर्‍याउँछौं ।’

राहत सामग्रीको समन्वय तथा ब्यवस्थापनमा नेपाल रेडक्रस सोसाइटी र उद्योग वाणिज्य संघलाई जिम्मेवारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment