२९ मंसिर, काठमाडौं । एमाओवादी अध्यक्ष प्रचण्ड पार्टीभित्र आन्तरिक सकसमा परेका छन् । विशेष गरी भारत र एमालेलाई कसरी हेर्ने भन्नेबारे प्रचण्ड अप्ठ्यारोमा परेका हुन् । यसबारे प्रचण्डलाई होमवर्क गर्ने समय पुस ४ गतेसम्म प्राप्त भएको छ ।
गत मंसिर १५ देखि पेरिसडाडाँमा बसेको बैठकमा प्रचण्डले जुन राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए, त्यसमा अधिकांश सदस्यले मौखिक र लिखित सुझावहरु दिएका छन् ।
तर, कनिष्ट मध्येका एकजना केन्द्रीय सदस्य हेमराज भण्डारीले प्रचण्डको दस्तावेजमा लिखितरुपमै फरक मत दर्ता गराएका छन्, जुन प्रचण्डका लागि मुख्य टाउको दुखाइको विषय बनेको छ ।
फरक मत व्यवस्थापनका तीन विकल्प
सम्भवत: प्रचण्डले अब पुस ४ गते केन्द्रीय समितिको अर्को बैठक बस्नुअघि नै फरक मतवाला केन्द्रीय सदस्य भण्डारीलाई आफ्नो निवास लाजिम्पाटमा बोलाउनेछन् र ‘कन्भिन्स’ गर्ने प्रयत्न गर्नेछन् । यसका लागि प्रचण्डसँग तीनवटा विकल्प छन्:
पहिलो विकल्प– भण्डारीले बैठकमा राखेको १५ पृष्ठको भिन्न मतलाई आफ्नो राजनीतिक प्रतिवेदनमा समेटेको वा समेटिने चित्तबुझ्दो आधार दिने र उनलाई फरक मत फिर्ता लिन सहमत गराउने ।
दोस्रो विकल्प – भण्डारीलाई पार्टीमा उपयुक्त स्थान एवं सुविधा दिने भौतिक आश्वासन दिएर फकाउने र फरक मत फिर्ता लिन लगाउने । यसका लागि उनले भण्डारीलाई रोजेको ठाउँमा जिम्मेवारी दिने लगायतका आश्वासन दिन सक्नेछन् ।
र, तेस्रो विकल्प– युवा नेता भण्डारीले माथिका दुई विकल्प अस्वीकार गरेको वा सम्झौता नगरेको अवस्थामा उनको फरक मतलाई महाधिवेशनसम्म तल्ला कमिटीहरुमा छलफलका लागि पठाउन आफू सहमत हुने ।
भारत र एमाले मुख्य समस्या
भण्डारीले उनको दस्तावेजमा उठाएका कुराहरुलाई प्रचण्डले आफ्नो दस्तावेजमा समेट्न त्यति सजिलो छैन । किनभने भण्डारीले प्रधान अन्तरविरोधकै विषयमा फरक मत राखेका छन्, जसमा मिलनविन्दु खोज्ने हो भने या त भण्डारी प्रचण्डको लाइनमा सहमत हुनुपर्छ, या प्रचण्ड स्वयंले भण्डारीको लाइनलाई समर्थन गर्नुपर्ने हुन्छ ।
भण्डारीले भारत र नेपाली जनतावीचको अन्तरविरोधलाई प्रधान बनाउनुपर्ने र भारतलाई प्रधान शत्र घोषणा गर्नुपर्ने मत अघि सारेका छन् । तर, प्रचण्डले चाँहि ‘भारतीय विस्तारवादबाट पालित पोषित नोकरशाही दलाल पुँजीपति वर्ग’ सँगको अन्तरविरोधलाई प्रधान मान्नुपर्ने बताएका छन् । यी दुई धारवीचको सिद्धान्तनिष्ठ मिलनबिन्दु पुस ४ भित्रै निस्कने अवस्था सहज छैन ।
प्रचण्डले भारतलाई प्रधान शत्रु घोषणा गर्ने भण्डारीको प्रस्तावलाई मान्ने सम्भावना निकै कम छ । किनभने भित्री सूत्रहरुका अनुसार प्रचण्ड भारतसँग सम्बन्ध सुधार गर्ने र वेटिङ प्रधानमन्त्रीका रुपमा आफूलाई हेर्ने नेता हुन् भन्ने धेरैको बुझाइ छ । यद्यपि यसबारेमा पुस ४ गते बस्ने पार्टीको अर्को बैठकमा केही रहस्य खुल्न सक्ला ।
भारतलाई हेर्ने विषयमा जस्तै नेकपा एमाले लगायतका शक्तिलाई हेर्ने विषयमा पनि प्रचण्ड र भण्डारीका वीचमा आनका तान फरक देखिएको छ । भण्डारीले एमालेलाई सामाजिक फासीवादतर्फ उन्मूख प्रतिक्रियावादमा पतन भइसकेको शक्तिका रुपमा व्याख्या गर्न खोजेका छन्, जुन व्याख्या प्रचण्डले जनयुद्धकालमै गरिसकेका थिए । तर, प्रचण्डले अहिले एमालेका विषयमा दुई वाक्यमात्रै लेखेर उसलाई अवसरवादी सुधारवादी देखाउन खोजेका छन् । विगतमा प्रचण्ड आफैले एमालेलाई ‘प्रतिक्रियावादमा पतन भइसकेको’ शक्ति बताएका थिए ।
केन्द्रीय सदस्य भण्डारीले एमालेलाई आफ्नो पार्टीको मुख्य प्रतिस्पर्धी मान्दै उसका विरुद्ध वैचारिक संघर्ष केन्दि्रत गर्नुपर्नेमा जोड दिएका छन् । प्रचण्डले चाँहि भविश्यमा एमालेसँग पार्टी एकताको तारतम्य मिलाउँदै एमालेप्रतिको प्रहारबाट तर्किन खोजेको जस्तो उनको दस्तावेजमा देखिन्छ ।
भण्डारीलाई कन्भिन्स गर्नका लागि प्रचण्डले आफ्नो दस्तावेजमा एमालेबारे थप व्याख्या गर्नुपर्ने देखिन्छ । तर, एमालेसँग सम्बन्ध गाँस्न खोजिरहेका प्रचण्डले एमालेमाथि निशाना केन्दि्रत गर्ने भण्डारीको मागलाई सम्बोधन गर्लान् ? यो पनि रोचक चासोको विषय हो ।
एमालेजस्तै नेपाली कांग्रेसलाई हेर्ने विषयमा पनि भण्डारी र प्रचण्डवीच फरकमत छ । प्रचण्डले कांग्रेसले राम्रो काम गरे राष्ट्रवादी हुने र नराम्रो गरे दलाल हुने भन्नेजस्तो मध्यपन्थी विश्लेषण गरेका छन् भने भण्डारीले कांग्रेसलाई समाजवादी क्रान्तिको वाधक शक्तिका रुपमा किटेका छन् ।
२५ बुँदेको अर्को लफडा
भण्डारीले आफ्नो फरक मतमा गतवर्ष प्रचण्डले अघि सारेको २५ बुँदेलाई पक्डेका छन् । प्रचण्डले आफ्नो दस्तावेजमा २५ बुँदेको नामसम्म लिएका छैनन् । २५ बुँदेअनुसार अघि बढ्ने हो भने केन्द्रीय समिति भंग गरेर महाधिवेशनको मिति तोक्नुपर्ने हुन्छ, जुन भण्डारीले आफ्नो प्रतिवेदनमा जोडका साथ उठाएका छन् ।
आचारसंहिता र सम्पत्तिको विवाद
प्रचण्डले आफ्नो प्रतिवेदनमा पार्टी सदस्यका आचार संहिता प्रस्ताव गरेका छन् । भण्डारीले चाँहि कम्युनिष्ट पार्टीभित्र आचार संहिता बनाउनु हास्यास्पद भन्दै विधान र सर्वहारा नैतिकताअनुसार अघि बढ्नुपर्ने बताएका छन् ।
त्यस्तै केन्द्रीय सदस्यले पार्टीको अनुमतिविना आर्थिक उत्पादनको काममा लाग्न नपाइने प्रचण्डको प्रस्ताव छ भने नेता कार्यकताले उत्पादनमा लाग्न पारिवारिक हिसाबले अर्थोपार्जन गर्न पार्टीले प्रोत्साहन गर्नुपर्ने भण्डारीको फरक मत छ । पार्टी नेतालाई परनिर्भर एवं चन्दामा टिक्ने बनाउने या निजी सम्पत्तिलाई खुला गर्ने भन्ने दुई नेताको दस्तावेजमा फरक देखिन्छ ।
त्यसैगरी प्रचण्डले आफ्नो दस्तावेजमा ‘अन्तरराष्ट्रिय परिस्थिति’ लेख्ने ठाउँमा बाबुराम भट्टराईको पार्टी परित्यागबारे लेखेका छन् । भण्डारीले चाँहि इस्लामिक स्टेटबारे पार्टीको धारणा स्पष्ट पार्दै अन्तरराष्ट्रिय परिस्थितिबारे लेखेका छन् ।
यी सबै भिन्नतालाई उल्लेख गर्दा भण्डारीले प्रचण्डसँग सहमति गर्ने सम्भावना कमै देखिन्छ ।
तर, भण्डारीले कुनै प्रलोभन वा आश्वासनमा परेर प्रचण्डसँगै विलय भएको घोषणा गरे भने उनको फरक मतमा उठाइएका विषयहरु पानीको फोकामा परिणत हुने सम्भावना देखिन्छ । तर, भण्डारी विलय पनि भएनन् र फकिएनन् भने उनको फरक मत आगामी महाधिवेशनसम्म जाने तेस्रो सम्भावनाले सार्थकता पाउन सक्छ ।
नपत्याउने खोलाले बगायो
विगतमा बाबुराम भट्टराई समूहका मानिँदै आएका र धनकुटाका पूर्वसभासद समेत रहेका केन्द्रीय सदस्य भण्डारीले यसरी फरक मत राखेर आफूलाई चुनौती देलान् भन्ने प्रचण्डले शायदै सोचेका थिए । र, अहिले प्रचण्डले सोचेका हुन सक्छन् भण्डारीले अनुरोध गर्नासाथ सहजै आफ्नो फरक मत फिर्ता लिनेछन् ।
डा. बाबुराम भट्टराईले एमाओवादी परित्याग गरिसकेपछि उनको समूहका नेता देवेन्द्र पौडेलले देशव्यापी भ्रमण गरेर भनेका थिए कि अब केन्द्रीय समितिको बैठक ‘फेस’ गरिने छ । तर, यसो भनेको भोलिपल्टै पौडेलसहित ४५ भाइले एमाओवादी छाडेको घोषणा गरे ।
पौडेलसँगै पछि पछि आउलान् भन्ने आशा गरिएका भण्डारीले चाँहि पार्टीभित्र बहस र छलफल नगरी पीठ फर्काएर नहिँड्ने भन्दै एमाओवादीमै बस्ने अठोट गरे । उनले यस्तो अठोट मात्रै गरेनन्, नपत्याउँदो खोलाले बगाउँछ भनेजस्तै पार्टीमा वैचारिक अन्तरविरोधलाई नयाँ मोड दिने प्रयास गरे ।
तर, भण्डारी एमाओवादीभित्र प्रायः एक्ला छन् । पार्टीमा उनको कुनै गुट छैन । गुट नभएकाले गर्दा पनि भण्डारीको प्रतिवेदनमाथि सबैको ध्यान केन्दि्रत भएको छ ।
फरक मत दर्ता गरेका भण्डारीकै प्रस्तावका कारण गृहमन्त्रीको चाइना प्रकरणले पेरिसडाँडा बैठकमा प्रवेश पायो । आइतबारको बैठकमा भण्डारीले जुरक्क उठेर प्रचण्डको ध्यानाकर्षण नगराएको भए चाइना प्रकरणले केन्द्रीय समितिमा सायदै प्रवेश पाउने थियो ।
फरक मतलाई व्यवस्थितरुपमा राखेको र गृहमन्त्रीको बदमासीलाई केन्द्रीय समितिको एजेण्डा बनाएको घटनासँगै भण्डारी एमाओवादीभित्र आकर्षणको पात्र बन्न थालेका छन् । एमाओवादीमात्रै होइन वैद्य माओवादीका नेताहरुले समेत भण्डारीको फरक मतको दस्तावेज मागेर अध्ययन गर्न थालेको स्रोतले बतायो ।
दीनानाथको महामन्त्रीदेखि पूर्वसभासदसम्म
उमेरले ४० वर्षभन्दा तलै रहेका भण्डारी धनकुटाको कुरुले तेनुपामा सामान्य परिवारमा जन्मिएका हुन् । सुरुमा उनी चित्रबहादुर केसीको राष्ट्रिय जनमोर्चामा आवद्ध थिए । पछि दीनानाथ शर्मासँगै विद्रोह गरेर उनी ०५७ सालमा माओवादीमा एकतावद्ध भए । मसालमा विद्रोहपछि उनी विद्रोही अखिल छैठौंको महासचिव बनेका थिए । तर, पछि उनले दीनानाथको कित्ता छाडिदिए । त्यसलगत्तै उनलाई डा. भट्टराई समूहका रुपमा चर्चा गर्न थालियो ।
अन्ततः भण्डारीले आफूलाई बाबुराम पक्षमा समेत नरहेको देखाएका छन् । आफ्नो फरक मतको दस्तावेजमा भण्डारीले बाबुरामलाई आलोचना गर्दै प्रधान दुश्मन सहीरुपमा पहिचान गर्न नसकेको बताएका छन् ।
माओवादीमा लागेर भूमिगत भएपछि भण्डारीले धनकुटाको पार्टी इञ्चार्ज लगायतका जिम्मेवारी निभाए । पहिलो संविधानसभा चुनावमा उनले धनकुटा १ बाट प्रत्यक्ष चुनाव जिते । तर, दोस्रो चुनावमा उनी हारे ।

प्रतिक्रिया 4