+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

‘हिउँदे दरबार’ भाडामा दिने सरकारी निर्णयबिरुद्ध पोखरावासी एकजुट

सन्देश श्रेष्ठ सन्देश श्रेष्ठ
२०७३ जेठ ११ गते ११:१२

Nagarik-Samaj-Pokhara११ जेठ, पोखरा । तत्कालिन राज परिवारको हिउँदे दरबारको रुपमा रहेको पोखराको ‘हिमागृह’ व्यापारिक प्रयोजनका लागि भाडामा नदिन नागरिक समाज पोखराले सरकारलाई चेतावनी दिएको छ ।

हिमागृहसहितको रत्नमन्दिर परिसरलाई सम्पदा क्षेत्र, जैविक विविधता पार्क र संग्रहालयको रुपमा बिकास गर्ने योजना पोखरेलीले अगाडि बढाइरहेकै समयमा सरकारले हिमागृहलाई भाडामा दिनको लागि सूचना प्रकाशित गरेलगत्तै नागरिक समाजले यसबिरुद्ध आवाज उठाएको हो ।

पोखराको फेवाताल किनारमा रहेको उक्त ‘हिमागृह’ यति एयरलाइन्सलाई दिने तयारी गरिएको नागरिक समाज पोखराको ठम्याई छ । यसअघी बैशाख १८ गते नेपाल ट्रष्टले हिमागृह भाडामा दिने सूचना जारी गरेको थियो ।

नागरिक समाज पोखराले मंगलबार पोखरामा गरेको ‘हिमागृह सम्बन्धी सञ्चारकर्मीसँग छलफल’ विषयक अन्तरक्रियामा बोल्दै समाजका अध्यक्ष रामबहादुर पौडेलले संक्रमणकालको मौका पारेर पोखराको गहनाको रुपमा रहेको हिमागृह भाडामा दिन खोजिएको आरोप लगाए । उनले राष्ट्रिय सम्पदा टुक्राटुक्रामा बिभाजित बनाउन खोजिएको भन्दै हिमागृह भाडामा दिने निर्णय खारेज गर्न माग गरे । उनले फेवाताल क्षेत्र वरपर लगाइएको ६५ मिटरको मापदण्ड भित्र हिमागृह पनि पर्ने भएकाले सो हिमागृह भाडामा दिन नमिल्ने तर्क गरे ।

फेवाताल संरक्षण समितिका सदस्य समेत रहेका पर्यटन बोर्डका पूर्व सदस्य बासु त्रिपाठीले व्यूरोक्रेसी र राजनीतिक पहुँचका आधारमा पुरातात्विक सम्पदा अनधिकृत रुपमा भाडामा दिन खोजिएको आरोप लगाए । उनले संरक्षण समितिले हिमागृह फेवातालको मापदण्डमा परेपनि संरक्षण गर्न सरकारलाई सुझाव दिएको जानकारी दिँदै कुनैपनि हालतमा भाडामा दिन नहुने बताए । देश संघीयतााम गएको समयमा केन्द्रीकृत राज्यसत्ताले हतारहतार १५/२० वर्षका लागि राष्ट्रिय सम्पदा भाडामा दिन खोज्नुमा कमिसन र भ्रष्टाचारकै खेल भएको उनले दाबी गरे ।

बरिष्ठ पत्रकार नारायण कार्कीले राष्ट्रिय सम्पदामा सत्ताले गिद्धे दृष्टि राखेर भाडामा दिन खोजेको आरोप लगाए । सटर बनाउँदा कमिसन खान र आफ्ना मान्छेलाई भाडामा दिलाएर रकम कुम्ल्याउन हिमागृह भाडामा लगाउन खोजिएको उनको दावी छ ।

कार्यक्रममा उपस्थित पत्रकारहरुले हिमागृह जबरजस्ती भाडामा लगाए त्यसबिरुद्ध आन्दोलन थाल्न सुझाव दिए । उनीहरुले पहुँचका आधारमा भाडामा दिन खोजिएको भन्दै सरकारले दिएपनि भाडामा लिने समूह वा प्रतिष्ठानलाई हिमागृह भित्र पस्नै दिन नहुनेमा सहभागीले जोड दिए ।

यसअघि नागरिक समाजको पहलमा राष्ट्रिय सम्पदा संरक्षण समिति नेपाल, पोखरा सम्पदा संरक्षण समिति, राष्ट्रिय पर्यटन प्रबर्द्धन समिति, पोखरा पर्यटन परिषद, पोखरा उद्योग वाणिज्य संघ, रत्न मन्दिर फेवाताल सरोकार समिति, रेबान पोखरा, पश्चिमाञ्चल होटल संघ, राष्ट्रिय पर्यटन परिषद, टान पश्चिमाञ्चल पोखरा, नाट्टा पश्चिमाञ्चल पोखरा, नगर महिला समन्वय समिति पोखरा लगायतका संघसंस्थाले हिमागृह भाडामा दिने निर्णय खारेज गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?