१४ असार, काठमाडौं । विनाशकारी भूकम्प र भारतीय नाकाबन्दीले सुस्ताएको नेपाली पर्यटन विस्तारै जुर्मुराउन थालेको छ । अध्यागमन विभागको पछिल्लो तथ्यांकले नेपालमा पर्यटक आगमन बढ्न थालेको देखाएको हो ।
अंग्रेजी वर्ष सन् २०१६ को पहिलो पाँच महिनामा २ लाख ३५ हजार ७२४ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । गत वर्षको सोही अवधिमा २ लाख ५९ हजार ६१२ पर्यटक नेपाल आएका थिए ।
गत अप्रिलको अन्तिमतिर भूकम्प गएपछि मे महिना पुरै प्रभावित भयो । भूकम्प लगत्तै सुरु भएको मधेश आन्दोलन र भारतीय नाकाबन्दीले सन् २०१५ पर्यटनका लागि निरासाजनक बन्यो । गएको वर्ष पर्यटक आगमन एक तिहाईले घटेको अध्यागमन विभागले जनाएको छ ।
नयाँ वर्षको सुरुवातसँग पर्यटनमा आशाको किरण देखिएको पर्यटन व्यवसायी बताउँछन् । सामान्य अवस्था रहेको २०१५ को जनवरीमा ३८ हजार ६१६ पर्यटक नेपाल भित्रिएका थिए । नाकाबन्दीबाट भर्खरै छुटकरा पाएको २०१६ को जनवरीमा ३३ हजार ३६२ पर्यटक नेपाल भ्रमणमा आएका छन् ।
नेपाल भित्रिएका पर्यटक
महिना | सन् २०१५ | सन् २०१६ |
---|---|---|
जनवरी | ३८६१६ | ३३३६२ |
फेबुअरी | ५८५२३ | ४४८१० |
मार्च | ७९१८७ | ५७८७४ |
अप्रिल | ६५७२९ | ५४३८० |
मे | १७५६९ | ४५२९८ |
जम्मा | २,५९,६१२ | २,३५,७२४ |
स्रोत : अध्यागमन विभाग
फेबुअरीमा ४४ हजार, मार्चमा ५७ हजार र अप्रिलमा ५४ हजार पर्यटक नेपाल भित्रिएका छन् । २०१५ को फेबुअरी, मार्च र अप्रिलमा यो संख्या क्रमशः ५८ हजार, ७९ हजार र ६५ हजार रहेको थियो । अध्यागमनको तथ्यांकले पर्यटक आगमन भूकम्प र नाकाबन्दीअघिकै अवस्थामा फर्किन थालेको इँगित गर्छ ।
गत वर्षको मे महिना भूकम्पको चरम चपेटामा पर्यो । त्यतिबेला १७ हजार ५६९ पर्यटकमात्र नेपाल प्रवेश गरेका थिए । एक वर्ष पछाडिको मे महिनामा पर्यटकको संख्या ४५ हजार २९८ पुगेको छ । जुन २०१४ मे महिनामा भित्रिएका पर्यटकको संख्या भन्दा केही कम हो ।
समिक्षा अवधिमा भारतीय पर्यटकको आगमन बढेको तथ्यांकले देखाउँछ । सन् २०१५ को पहिलो पाँच महिनामा ३४ हजार २०७ भारतीय पर्यटक भित्रिएकोमा यो वर्षको सोही अवधिमा ४८ हजार ५१२ पर्यटक भित्रिएका छन् । भूकम्पपछिको राहत वितरणमा धेरै भारतीयहरु नेपाल भित्रिएका थिए ।
गत वर्षको पहिलो पाँच महिनामा ४५ हजार ६४३ चिनियाँ पर्यटक नेपाल भ्रमणमा आएकोमा यस वर्ष यो संख्या घटेर २७ हजार २१२ मा खुम्चिन पुगेको छ । छिमेकी मुलुक चीन र भारतबाट नेपालमा सबैभन्दा बढी पर्यटक आउने गरेका छन् ।