+
+

निर्वाचन आयोगलाई प्रधानमन्त्रीले भने- चुनाव एकै चरणमा हुन्छ, राजनीतिक वातावरण पनि बन्छ

अनलाइनखबर अनलाइनखबर
२०७३ चैत १७ गते २०:०५

१७ चैत, काठमाडौं । मधेस प्रदेशमा स्थानीय तहको चुनाव दोस्रो चरणमा हुने चर्चा चलिरहेकै बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकै चरणमा देशभरि चुनाव हुने स्पष्ट पारेका छन् ।

चीनबाट स्वदेश फर्केको भोलिपल्ट बिहीबार प्रधानमन्त्री प्रचण्डले निर्वाचन आयुक्तहरुलाई बालुवाटारमा बोलाएर छलफल गरेका छन् । छलफलमा प्रधानमन्त्रीले बैशाख ३१ गते एकै चरणमा निर्वाचन सम्पन्न गर्नुपर्ने बताएका हुन् । साथै निर्वाचनका लागि राजनीतिक वातावरणसमेत बन्नेे भन्दै आयुक्तहरुलाई विश्वस्त गराएका छन् ।

भेटमा निर्वाचन आयुक्तहरुले निर्वाचनका लागि अहिलेसम्म भएका तयारी र गर्न बाँकी कामहरुबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । आयुक्तहरुले अहिलेसम्म मतदाता नामावली तयार भएको, अधिकाशं मतदान केन्द्र तोकिसकेको, मतपत्र छाप्ने काम भइरहेको, मतपेटिका व्यवस्थापन र निर्वाचन सामाग्री लगायतका विषयमा जानकारी गराएका थिए ।

प्रधानमन्त्रीसँगको भेटपछि अनलाइनखबरसँग कुराकानी गर्दै आयुक्त नरेन्द्र दाहालले भने, ‘प्रधानमन्त्रीज्यूले अहिले देखिएका सबै राजनीतिक समस्या चाँडै समाधान हुन्छ, राजनीतिक अन्योलबारे विना चिन्ता निर्वाचनको तयारी गर्नुस् भनेर हामीलाई उत्साहित बनाएर पठाउनुभएको छ ।’

प्रमुख आयुक्त र आयु्क्तहरुलाई प्रधानमन्त्रीले यदि राजनीतिक सहमति नभएमा त्यसको पनि उपाय रहने बताएको आयुक्त दाहालले बताए । उनले अघि भने, ‘प्रधानमन्त्री ज्यूले कुनै हालतमा चुनाव नरोक्ने र त्यही अनुसार निर्वाचन तयारी बनाउन भन्नुभएको छ ।’

सरकारले बैशाख ३१ गते स्थानीय तहको चुनावका लागि मिति घोषणा गरे पनि विवादित दुई नम्बर प्रदेशमा बेग्लै मितिमा चुनाव हुने सक्ने अनुमान लगाइँदै आएका बेला प्रधानमन्त्रीले एकै दिन चुनाव गरिने स्पष्ट पारेका हुन् ।
यसैक्रममा चीनबाट फर्केकै दिन बुधबार प्रधानमन्त्री प्रचण्डले चुनाव हुँदैन कि भनेर प्रश्न नगर्न आग्रह गरेका थिए ।

भेटपछि प्रमुख आयुक्त अयोधिप्रसमाद यादवले कानुनको आधारमा चुनाव चिन्ह प्रदान गरिएकाले नपाउनेका सवालमा आयोगले केही गर्न नसक्ने स्पष्ट पारे । ५१ जिल्लाको मतपत्र छपाईको समेत काम सकिएको भन्दै उनले चुनाव चिन्ह नपाउनेको सवालमा केही नहुने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?