१६ बैशाख, काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता गोपाल किराँतीले संविधानलाई असफल बनाएर राजा फकाउने षडयन्त्रमा प्रमुख प्रतिपक्षी दल एमाले लागेको आरोप लगाएका छन् ।
मुलुकको निकासका लागि ल्याएको संविधान संशोधन विद्येयकको विरोध गरेर एमालेले नाटक मञ्चन गरिरहेको उनको आरोप छ ।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजा गरेको साक्षात्कारमा पूर्वमन्त्री किराँतीले भने, ‘निर्वाचन निर्वाचन भनेर बाहिर कराउने, तर भित्री रुपमा निर्वाचन एमालेले नचाहेको हो कि भन्ने प्रश्न उब्जिएको छ।’
उनले एमाले नेतृत्वको रवैया नै बेठीक रहेको टिप्पणी गरे । उनले भने, ‘एमालेले गणतन्त्रलाई नै समाप्त पार्न खोज्दैछ ।’
एमाले अध्यक्ष ओलीले विगतमा पनि संघीयता र गणतन्त्रलाई आफूहरुले बाध्यताले स्विकार गरेको बताइसकेको उल्लेख गर्दै भने,’अहिले एमाले नेतृत्वले गणतन्त्रलाई समाप्त पार्न खोजेको त होइन ?’
राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नी छोरीको विवाहमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई बोलाएको तर, दलका नेताहरुलाई बेवास्ता गरेको आरोप लगाउँदै माओवादी नेता किराँतीले भने, ‘यस्तो क्रियाकलाप र तारतम्य हेर्दा ज्ञानेन्द्र शाहलाई सिंहासनमा राख्ने खेल एमालेले गर्दैछ ।’
उनले अघि भने, ‘सके सिँधै सिंहासनमा ज्ञानेन्द्र शाहलाई राख्ने, नसके चुनाव भाँड्ने, चुनाव भाँड्नपनि सकिएन भने चुनावमा राष्ट्रपति ज्ञानेन्द्रलाई बनाउने र फेरि राजतन्त्र पूर्नस्थापित गर्ने यो क्रियाकलापमा एमाले लागेको छ ।’
उनले त्यही उद्देश्यको लागि एमालेले अहिले खोचे थाप्ने काम गरिरहेको समेत आरोप लगाए ।
प्रमुख दल नेपाली कांग्रेसका नेता र्फमुल्लाह मन्सुरले संशोधन प्रस्तावको विरोध गरेर एमाले निर्वाचनबाट भाग्न खोजिरहेका आरोप लगाए । उनले भने, ‘जबसम्म संविधान संशोधन हुँदैन, तबसम्म कुनैपनि निर्वाचन हुन सक्दैन, त्यसैले निर्वाचनको वातावरण बनाउनको लागि पनि संशोधन अनिवार्य छ ।’
नेता मन्सुरले संशोधन प्रस्तावको विरोध गर्नु भनेको एमाले निर्वाचन विरोधी हो भनेर जनताले बुझिसकेको दाबी गरे । उनले भने, ‘एमालेले जे नाटक अहिले मञ्चन गरिरहेको छ, यो जनताको अधिकार बञ्चित गर्ने कुरा हो, इतिहासले एमालेलाई श्राप्ने छ, एमाले अब पहाडको मात्रै पार्टी हुनेछ, मधेशमा पाईला टेक्ने ठाउँ हुँदैन ।’
कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता रघुबिर महासेठले विदेशीले तयार बनाएर संबिधान कार्यान्वयन हुन नदिने षड्यन्त्रका साथ अहिलेको संशोधन प्रस्ताव आएको आरोप लगाएका छन् ।
उनले बलियो प्रतिपक्षी दल हुँदाहुँदै एमालेसँग कुनै छलफल तथा सहमति नगरी प्रस्ताव आउनु दुर्भाग्य भएको टिप्पणी गरे ।