Comments Add Comment

कालीकोटमा बन्ने ४२६ मेगावाटको फुकोट कर्णाली आयोजनालाई उत्पादन अनुमति


६ असार, काठमाडौं । सरकारले कालीकोटमा आयोजनास्थल रहेको फुकोट कर्णाली जलविद्युत् आयोजना अध्ययन तथा निर्माणको ढाँचासमेत तय गर्ने गरी विद्युत् उत्पादन कम्पनीलाई अनुमतिपत्र दिएको छ ।

ऊर्जा मन्त्रालयमा आयोजित कार्यक्रममा ऊर्जा सचिव अनुपकुमार उपाध्यायले कंका प्रमुख कार्यकारी अधिकृत मोहनराज पन्तलाई सो आयोजना अध्ययनको अनुमतिपत्र प्रदान गरे । कंले अध्ययन तथा निर्माण प्रक्रियासमेत अगाडि बढाउने गरी अनुमतिपत्र दिइएको ऊर्जा सचिव उपाध्यायले जानकारी दिए ।

आयोजनाको क्षमता ४२६ मेगावाट छ । आयोजनाको लागत करिब  ६१ अर्ब ८६ करोड अनुमान गरिएको छ । आन्तरिक लगानीमा नै आयोजना अगाडि बढाइने लक्ष्यका साथ अनुमतिपत्र प्रदान गरिएको मन्त्रालयका प्रवक्ता दिनेश घिमिरेले जानकारी दिए ।

सो आयोजनामा नागरिक लगानी कोष, जलविद्युत् उत्पादन तथा लगानी कं, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, शिक्षक र निजामती कर्मचारी, नेपाली नागरिक र स्थानीयवासीको समेत लगानी रहने गरी तयारी गरिएको छ ।

आगामी आवका लागि व्यवस्थापिका–संसद्मा प्रस्तुत बजेट वक्तव्यमा कुल ५०० मेगावाट क्षमताको एक जलविद्युत् आयोजना सरकारी कर्मचारीको लगानीमा अगाडि बढाइने कार्यक्रम समावेश गरिएको छ ।

कर्मचारीको लगानीमा आयोजना अगाडि बढाउने बारेमा गत जेठ ८ गते नै मन्त्रालयले आवश्यक निर्णय गरिसकेको छ । यस्तै नेपाली सेनाको सैनिक कल्याणकारी कोष तथा अन्य कोषमा जम्मा भएको रकमसमेत सो आयोजनामा लगानी गरिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment