संभवत, साउन महिनाका २ साता नेपाली चलचित्रका निर्माताहरु चलचित्र रिलिज गर्न नडराएको भए, भदौमा धेरै ठूलो भिड हुने थिएन होला । तर, साउनका २ साता बलिउडका दुई नायकका चलचित्रले नेपाली चलचित्रको प्रदर्शन मिति मात्र सारेनन्, हल नै कब्जा गरिदिए ।
साउन २७ गते बलिउड नायक साहरुख खान र नायिका अनुष्का शर्मा अभिनित चलचित्र ‘जब ह्यारी मेट सेजल’ रिलिज हुने पक्का थियो । तर, साहरुखले चलचित्रको रिलिज एक साता अगाडि अर्थात साउन २० मा सारिदिए । जसको प्रत्यक्ष असर नेपालका २ चलचित्रमाथि पर्यो ।
यो मितिमा रिलिज हुने भनेर ठिक्क परेका २ चलचित्र ‘रुद्र र भूइमान्छे’ले प्रदर्शन मिति परिवर्तन गरे । साउन २७ मा पनि कुनै निर्माताले चलचित्र चलाउने आट गरेनन् । कारण, यो मितिमा सानो बजेटमा बनेको अक्षय कुमार अभिनित चलचित्र ‘ट्वाइटेल एक प्रेम कथा’ रिलिज हुँदैछ ।
साउन ६ गते अहिलेसम्म चलचित्र ‘डाक्टर खाते’ले मात्र रोकिराखेको छ । यसरी हेर्दा, साउन महिनामा १३ मा रिलिज हुने चलचित्र ‘प्रेमगीत २ र रुद्र’ बाहेक अन्य ठूला नेपाली चलचित्र रिलिज नहुने पक्का छ ।
साउनमा २ साता हिन्दी चलचित्रकै कारण तर्सिएका निर्माता भदौमा भने ठूलै भीडभाड गर्न तयार छन् । हिन्दी चलचित्र लाग्दा हल नै नपाइने भन्दै भागाभाग गर्ने निर्माता आफ्नै देश भित्र भने भिडन्तका लागि तयार छन् ।