१ साउन, काठमाडौं । १० लाख रुपैयाँभन्दा बढीको आर्थिक कारोबार अब नगदमा गर्न नपाइने भएको छ । १० लाखभन्दा बढी कारोबार बैंकिङ प्रणालीबाटै गर्नुपर्ने व्यवस्था सम्पत्ति शुद्धीकरण व्यवस्था विभागले गरेको आजका पत्रपत्रिकाहरुले लेखेका छन् ।
पत्रपत्रिकाको आजको प्राथमिकतामा राजधानीको ढलको दूरावस्था, मन्त्रिपरिषद् विस्तारमा भइरहेको ढिलाइ, ११ डिआइजी र १५ एसपीको बढुवालगायत विषय परेका छन् ।
कर्मचारी समायोजन विधेयकबारेको खबरलाई मुख्य खबर बनाएर छापेको गोरखापत्र दैनिकले प्रहरी बढुवादेखि ललितपुर महानगरपालिकाको करमा दश प्रतिशत छुटसम्मको खबरलाई पहिलो पृष्ठमा स्थान दिएको छ ।
नयाँ पत्रिका दैनिकले २३ मन्त्रालय डेढ महिनादेखि मन्त्रीविहीन हुन पुगेको लेखेको छ । नयाँ पत्रिकामै कार्यविधिविपरीत स्थानीय संसद् नेताबाट उदघाटन भएको, शान्ति स्थापक सेनाको बजेटमा कटौती भएकोलगायतका खबर छन् ।
अन्नपूर्ण पोस्ट दैनिकले राजधानीको सडक र ढल व्यवस्थापनको दयनीय स्थितिसँगै प्रहरी बढुवाको विषयलाई प्राथमिकतामा राखेर लेखेको छ ।
कान्तिपुर दैनिकले १० लाखभन्दा बढी नगद कारोबार गरे जफत हुने लेखेको छ ।