१३ साउन, पोखरा । पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १५ रामबजारमा रहेको वन विज्ञान अध्ययन संस्थानको डीन कार्यालय नसार्न भन्दै उच्च अदालत पोखरामा रिट परेको छ ।
डीन कार्यालय काठमाडौंको कीर्तिपुर सार्ने निर्णय भएपछि त्यसलाई रोक्न माग गर्दै महानगरपालिका वडा नम्बर १५ का वडाअध्यक्ष प्रकाश पौडेल र स्थानीय शिवबहादुर बानियाले रिट दायर गरेका हुन् ।
वन विज्ञान अध्ययन संस्थानका डीन कृष्णराज तिवारीको एकल निर्णयमा ६ महिना अघिदेखि कीर्तिपुरमा डीन कार्यालय राख्ने प्रयास भएपछि डीन सुवेदी, शिक्षा विभाग र त्रिभूवन विश्वविद्यालयलाई विपक्षी बनाई रिट दायर गरिएको हो ।
२०४३ सालमा स्थापना भएको डीन कार्यालय करिब ६ महिना अघिदेखि काठमाडौंमा सार्ने प्रयास गरिएको भन्दै रिट निवेदनमा कार्यालय सार्ने निर्णय हुँदा ब्यबस्थापन समिति वा कुनैपनि निकायको राय, सुझाव र निर्णय समेत नगरेको उल्लेख छ ।
पोखरामा रहेको डीन कार्यालय खाली राखेर कीर्तिपुरमा कोठामा भाडा लिएर सार्नु पर्ने कुनै कारण नभएको र लेखासहितका अन्य कर्मचारी यहीँ बसेर काम गरिरहेकाले कीर्तिपुरमा सारिएको कार्यालय तत्काल खारेज गर्न माग गरिएको छ ।