+
+

भोलिदेखि हुने हस्तकला मेलाको तयारी पूरा

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक ३० गते १०:४८

३० कात्तिक, काठमाडौं ।  नेपाल हस्तकला महासंघको आयोजनामा यही मंसिर १ गतेदेखि ५ गतेसम्म हुने १५ औँ हस्तकला व्यापार मेलाको सम्पूर्ण तयारी पूरा भएको छ ।

महासंघले बुधबार साँझ पत्रकार सम्मेलन गरी १५ औँ हस्तकला मेला तथा १३ औँ प्रतियोगितात्मक हस्तकला प्रदर्शनीको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।

सम्मेलनमा महासंघका अध्यक्ष धर्मराज शाक्यले वाणिज्य मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोगमा हरेक वर्षझैँ यो वर्ष पनि हस्तकला मेला आयोजना गर्न लागेको र सो मेलाको तयारी पूरा भएको जानकारी दिए ।

“नेपालमा उत्पादित हस्तकलाका सामग्रीलाई अन्तरराष्ट्रियस्तरसम्म चिनाउनु नै मेलाको प्रमुख उद्देश्य हो,”– अध्यक्ष शाक्यले भने।

हाल नेपाली हस्तकलाको निर्यात संयुक्त राज्य अमेरिका, युरोपेली मुलुकहरु फ्रान्स, बेलायत, नेदरल्याण्ड, जापान, चीन, भारतलगायत ८० वटा मुलुकमा ५० भन्दा बढी थरीका हस्तकला निर्यात हुँदै आएको छ ।

स्वदेश तथा विदेशमा नेपाली हस्तकला झण्डै १० अर्ब बराबरको कारोबार हुने र प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा ११ लाख व्यक्तिले रोजगारी पाएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

मेलामा काष्ठकला, धातुकला, सुनचाँदी, फेल्ट, उनी, सुती, ढाका, जडीबुटी, अर्थोडक्स चिया, पश्मिना, हाते कागज, प्राकृतिक रेशा, बाँसजन्य सामानका नौ प्याभिलियनसहित २०० कक्ष रहनेछन् । तीमध्ये बंगलादेश, भुटान, चीनलगायतका ३० कक्ष रहने आयोजकले जनाएका छन् ।

मेलामा १३ औँ हस्तकला प्रतियोगितासमेत सञ्चालन गरिने भएको छ । हस्तकला प्रतियोगितामा प्रथम हुनेलाई रु ५० हजार, दोस्रोलाई रु ३० हजार र तेस्रोलाई रु २० हजार पुरस्कार दिने आयोजकले जनाएका छन् ।

यसका अलावा मेलामा उत्कृष्ट स्टल तथा प्याभिलियन प्रतियोगिता, परम्परागत तथा नवोदित हस्तकलाको जीवन्त सीप प्रदर्शन, मेलामा प्रर्दशित हुने हस्तकला वस्तुमध्येबाट उत्कृष्ट वस्तु प्रतियोगिता, अमूर्त सांस्कृतिक सम्पदा प्रदर्शन र ‘बि टु बि’ (व्यापारस्तरीय) बैठक हुने अध्यक्ष शाक्यले बताए ।

बैठकको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुहुने आयोजकले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?