Comments Add Comment

आधा नचल्ने शरीर लिएर साउदीबाट फर्किए रामकुमार

१७ पुस, रियाद । पैसा कमाउन साउदी अरब आएका रामकुमार बोहोरा चार महिना नपुग्दै गाडी दुर्घटनामा परेर नेपाल फर्काइएको छ । गत ८ अगष्टमा बेलुकाको खाना खाएर कोठामा फर्किँदै गर्दा उनलाई बंगाली नागरिकले चलाएको गाडीले सडक छेउमा टक्कर दिएको थियो ।

दुर्घटनामा सख्त घाइते भएका उनलाई तत्कालै महाद हस्पिटल लगेर प्रारम्भिक उपचार गरियो भने त्यसपछि मदिनाको किङ फहाद हस्पिटलमा २० दिन आइसीयूमा राखेर उपचार गरियो ।

टाउकोमा गम्भीर चोटका कारण अचेत भई स्मरणशक्ति नै गुमाएका बोहोराको सघन उपचारपछि होस खुल्यो र सामान्य बोल्न सक्ने भए । तर, उनको शरीरको दाहिने पाटो भने अझै चल्दैन ।

नेपालको माउन्ट कन्चन इन्टरनेसनल म्यानपावरबाट २८ अप्रिल २०१७ मा साउदी अरबको अबाहस्थित इस्ट जाफर फर शेहरी कन्ट्रयाक्टिङ कम्पनीमा काम गर्न आएका थिए रामकुमार ।

ढिलो गरी सूचना पाएको जेद्धास्थित महावाणिज्य दूतावासले तदारूकताका साथ काम गर्‍यो । बोहोरा काम सकेर रेस्ट आवरमा दुर्घटनामा परेको हुँदा GOSI (General Organization for Social Insurance) बाट प्राप्त हुने सुबिधावाट भने बन्चित भए ।

उपचारको क्रममा हस्पिटलको बिल ९४ हजार रियाल पुगेको थियो । ४ सय किलोमिटर टाढा रहेको मदिनाको हस्पिटलमा पुगेर वाणिज्यदूत मनहरी दंगाल बोहोरालाई नेपाल पठाउन सकिने सम्भाव्यताको बारेमा हस्पिटलसँग बुझेर बोहोरा कार्यरत कम्पनीसँग सम्पर्क बढाए ।

हस्पिटलको बिल तिर्ने सवालमा थर्ड पार्टी इन्स्योरेन्सबाट भुक्तान हुने गरी बोहोराको तर्फबाट कन्सुलेट र उनी कार्यरत कम्पनीको रोहबरमा वकिललाई वारिसनामा दिई अदालतमा वंगाली नागरिक कार्यरत कम्पनीबिरूद्ध मुद्दा दर्ता गराउने सहमति भएको छ ।

अदालतले हस्पिटलको ९४ हजार रियाल बिलभन्दा बढी क्षतिपूर्ति फैसला भएमा बोहोराले पाउने कागजमा उल्लेख छ । २७ डिसेम्बरमा बोहोरालाई यी प्रक्रिया पुरा गर्न दूतावासमै ल्याइएको थियो ।

त्यसपछि २८ डिसेम्वरमा नेपाल पठाउन कम्पनीले फ्लाई दुबइको टिकट काटेर एयरपोर्ट लगे पनि रामकुमारको स्वास्थ्य अवस्था हेरी एयरलाइन्सले यात्रा अनुमति नै दिएन र एयरपोर्टबाटै फर्काइयो ।

पुनः म्यानपावर कम्पनीले उपलब्ध गराएको टिकटमा ३० तारिखमा यात्रा गराउन हिमालय एयरलाइन्सलाई अनुरोध गरी कम्पनीको सहयोगीको साथमा दमाम पठाउन सफल भएको बताउँछन् बाणिज्यदूत दंगाल । परिवारको हेरचाहमा थप उपचारका लागि ३१ डिसेम्बरमा उनी दमामबाट नेपाल उडे ।

कम्पनीले दिनुपर्ने तलब ३९ सय रियाल परिवारलाई उपलब्ध गराउने र अन्य सेवा सुबिधाहरूको समेत प्रक्रिया पुरा भएलगत्तै जानकारी परिवारलाई गराइने महाबाणिज्य दूतावासले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment