काठमाडौं । ६ वर्षको लागि फिफाको कुनै पनि कार्यक्रममा भाग लिन नपाउने गरी प्रतिबन्ध लगाएका पूर्व अध्यक्ष सेप ब्लाटरले विश्वकप फुटबलमा हेर्न रुस जाने बताएका छन् ।
उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणामा विश्वकपमा हेर्न जाने बताएका हुन् । सन् २०१० मा ब्लाटर अध्यक्ष हुँदा नै रुसलाई २०१८ को विश्वकप आयोजना गर्ने अवसर दिइएको थियो ।
८२ वर्षीय स्विस नागरिक ब्लाटर २०१५ सम्म फुटबलको नियमनकारी निकायको अध्यक्ष थिए । उनलाई त्यही वर्षको डिसेम्बरमा भ्रष्टाचार आरोपमा ८ वर्षको लागि निलम्बन गरिएको थियो । त्यसपछि फिफाको इथिक्स कमिटीले गरेको छानबिनपछि निलम्बनलाई घटाएर ६ वर्षमा झारिएको थियो ।
यसले विश्व फुटबलमा ब्लाटरको १७ वर्ष लामो एकछत्र राजको अन्त्य गर्यो । तर, ब्लाटरले आफूमाथि लागेको भ्रष्टाचारको आरोपको अस्विकार गर्दै आएका छन् ।
उनले न्युयोर्क टाइम्ससँग भनेका छन्, ‘म पहिले मस्को जाने छु र यो राम्रो अवसर हुनेछ ।’
उनले रुसमा रहँदा पुटिनसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको बताए । ब्लाटरले भने, ‘म उनको पाहुना हो र हामीले पक्कै भेट्नेछौं तर भेट कहाँ हुन्छ भन्ने मलाई थाहा छैन किनभने उनीहरुले कुनै निश्चित ठाउँ खुलाएका छैनन् ।’
उनले यो अवसर आफ्नो लागि खेलकुद र कूटनीतिक अभियान दुवै भएको बताएका छन् ।
सन् २०१५ मा पुटिनले ब्लाटरलाई विश्व फुटबलको विकासमा गरेको योगदानको लागि नोबेल शान्ति पुरस्कार दिन पर्ने बताएका थिए । साथै ब्लाटरले भ्रष्टाचार नगरेकोमा आफू निश्चिन्त भएको पनि उनले बताएका थिए ।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले गत अक्टोबरमै ब्लाटर र युइएफएका पूर्व प्रमुख मिसेल प्लाटिनीलाई विश्वकपमा राष्ट्रपति पुटिनका पुराना साथीको रुपमा बोलाइने बताएका थिए ।