Comments Add Comment

कसरी यहाँ पुग्यो बेल्जियम फुटबल ?

२६ असार, काठमाडौं । विश्वकप सेमिफाइनलमा मंगलबार राति पौने १२ बजे सेन्ट पिटर्सवर्ग रंगशालामा फ्रान्सविरुद्ध बेल्जियमले आफ्नो धेरै लामो समय लगाएर बनाएको रणनीति अपनाउँदै छ ।

यसअघि एकपटक मात्र सन् १९८६ को विश्वकपमा सेमिफाइनल पुगेको बेल्जियम अर्जेन्टिनासँग २-० ले हारेको थियो ।

त्यो हारपछि सन् २००० को युरो कपसम्म अपनाएको रणनीतिमा बेल्जियम असफल भएको थियो । २००० को युरो कपमा स्वीडेनलाई हराएको बेल्जियम इटाली र टर्कीसँग हारेर समूह चरणबाटै बाहिरिएको थियो ।

त्यसपछि नै बेल्जियन फुटबल एसोसिएसनले फुटबल सुधारमा काम गर्न थाल्यो । ६ वर्ष लगाएर फुटबल सुधारको योजना बन्यो ।
सन् २००६ मा निकालिएको ५२ पेज लामो योजनामा कसरी बेल्जियम फुटबलमा सुधार गर्ने र खेल जित्दै जाने भन्ने उल्लेख थियो ।

त्यस्तो योजना बनाउने प्रमुख व्यक्ति मिचेल साबलोन थिए । जसले बेल्जियम राष्ट्रिय टिममा टेक्निकल डाइरेक्टरको रुपमा काम गरे । उनले ब्राजिलियन र फ्रेन्च फुटबलमा भएका विशेषता ल्याएर जोसुकैसँग प्रतिस्पर्धा गर्न सकिने गरी योजना बनाएका थिए ।

‘बेल्जियन टिमले जसरी खेलेको थियो त्यो स्वीकार योग्य नै थिएन । धेरै कुरामा कमजोरी देखिएको थियो’ २००० को युरो कपमा भएको हारपछि उनले भनेका थिए ।

त्यसपछि सन् २००१ मा फुटबल सुधारका लागि भनेर ३० जना प्रशिक्षक मिलेर योजना बनाउन थाले । जसले घरेलु फुटबलमा १५ सय भन्दा धेरै खेल हेरेर फरक फरक योजना बनाएर खेलाउँदै काम गरे ।

ती खेल हेर्दा फुटबल सुधारका लागि भन्दा पनि खेल जित्नकै लागि खेलाडीहरु खेलिरहेको उनीहरुले पाए । ‘कसैको अघि गएर वर्षौंदेखि गरिरहेका कुरा छाडेर अर्को कुरा गर भन्न निकै नै अप्ठ्यारो थियो । हामीले जे देख्यौं त्यसले बेल्जियम फुटबल विकासमा कुनै मद्दत पुगेको थिएन’ उनले भने ।

खेलाडीहरुले गर्ने सट पास, लङ पास, ट्याकटिस, बल छुने तरिका हरेक कुरामा उनीहरुले काम गरेका थिए । त्यसबेला क्लब, स्कूल टिम, समूह चरणका राष्ट्रिय टिमलगायत सबै टिमलाई उनीहरुले पर्खेका थिए ।

साबलोनले हरेक प्रशिक्षकलाई भेटेर साना खेलाडीदेखि नै एउटै तरिकाले फुटबल खेलाउन आग्रह गरेका थिए । त्यसबेला देखि नै सानो उमेरका खेलाडीदेखि नै खेलको विकास गराउँदै लाने र उनीहरुको क्षमता विकास हरेक खेलदेखि गर्नुपर्ने बताउँदै उनीहरुले काम थाले ।

‘हामीले धेरै नै योजनाहरु बनाएर हेर्‍यौं । फरक फरक तरिकाले खेलायौं । भविष्यका लागि खेलाडी तयार गर्नु छ भने ४-३-३ मा नै खेलाउन उत्कृष्ट देख्यौं’ साबलोनका सहायक बब ब्रोएजले भने ।

अहिले बेल्जियमले ४-४-२, ३-५-२, ४-३-३ हरेक फर्मेसनमा उत्कृष्ट फुटबल खेल्न सक्छ । रसिया विश्वकपमा पनि हरेक कुराले बेल्जियम टिम बलियो देखिएको छ ।

साबलोन टिमले लामो सयम गरेको मेहनत अहिले रसियामा देखिएको छ । पहिलो विश्वकप उपाधिबाट बेल्जियम टिम दुई खेल पर छ ।

बेल्जियमले समूह चरणमा पानामालाई ३-०, ट्युनिसियालाई ५-२ र इंग्ल्याण्डलाई १-० ले हराएको थियो । बेल्जियमले अन्तिम १६ को खेलमा जापानलाई ३-२ र क्वाटरफाइनलमा ब्राजिललाई २-१ ले हराएको हो ।

बेल्जियम आफ्नो पछिल्लो २४ खेलमा अपराजित रहेको छ । १९ खेल जितेको छ भने ५ खेल बराबरी गरेको छ । जसमा पछिल्लो पटक लगातार ७ खेलमा भने बेल्जियम विजयी भएको छ ।

बेल्जियमलाई ‘हेर्नलायक टिम’ बाट ‘खेल जित्ने टिम’ सम्म लैजान उनीहरुको लामो मेहनत देखिन्छ । त्यसैले अहिलेको विश्वकपमा रहेका बेल्जियम टोलीलाई बेल्जियम फुटबलको गोल्डेन जेनेरेसन भनिन्छ ।

साबलोन १९७० ताकाका उत्कृष्ट खेलाडी साथै १९८६ को विश्वकपमा बेल्जियम टिमको सहायक प्रशिक्षक थिए । त्यसपछि १९९० र १९९४ को विश्वकपमा पनि उनी सहायक प्रशिक्षकका रुपमा नै थिए । उनी अहिले सिंगापुर फुटबल एसोसिएसनमा टेक्निकल डाइरेक्टरका रुपमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment