३२ असार, काठमाडौं । रुसमा आयोजित विश्वकप फुटबलको समापन समारोहमा झम्झम् पानी पर्यो । सबैले पानीमा रुझेरै समारोहमा सहभागी भइरहँदा रंगशालाभित्र एउटा ठूलो छाता देखियो ।
यो एक मात्र छाता ओढेका थिए आयोजक राष्ट्रका राष्ट्रपति भ्लादमिर पुटिनले । आफ्नो दायाँबायाँ रहेका फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोन र क्रोयसियाकी राष्ट्रपति कोलिन्डा ग्राबर कितारोभिक पानीमा रुझेरै समारोहमा सहभागी भइरहँदा पुटिनले भने आफूलाई छात्राभित्र सुरक्षित राखे ।
पुटिनलाई छाता ओढाउने व्यक्ति भने निथ्रुक्क भिजेका थिए । विशिष्ट अतिथिहरुलाई भिजाएर आफूले मात्रै यसरी छाता ओढ्दा सामाजिक सञ्जालमा उनको चर्को उपहास भइरहेको छ ।
रुसले सफलतापूर्वक विश्वकप आयोजना गरेर प्रशंसा कमाइरहेको बेला राष्ट्रपतिको यो व्यवाहार दाँतमा ढुंगा लागेझैं भएको छ । रसियालाई क्वाटरफाइनलमा क्रोयसियाले पराजित गरेको थियो । कतै त्यसैको साटो फेर्न क्रोयसियाली राष्ट्रपतिलाई भिजाइएको त होइन भनेर धेरैले जोक गरेका छन् ।
अर्कोतर्फ क्रोयसियाकी राष्ट्रपतिको भने चौतर्फी प्रशंसा भइरहेको छ । उनी आफ्ना खेलाडीहरुसँग अंगालो मारेर रोएका तस्वीरहरु भाइरल भइरहेका छन् । फुटबल हेर्न उनी आफ्नो टिमको जर्सी लगाएर पुगेकी थिइन् । यसअघि पनि उनले सुटुक्क दर्शकदीर्घामा बसेर आफ्नो टिमको खेल हेरेकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया 4