+
+

गर्भावस्थामा योग : कुन घातक कुन फाइदाजनक ?

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ८ गते १२:४३

शारीरिक स्वास्थ्य एवं निरोगी जीवनको लागि योग सर्वाेत्तम उपाय हो । रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिन योगले सहयोग गर्छ । दीर्घजीवन स्वास्थ्य र तन्दुरुस्तीको लागि निर्विकल्प विधि पनि हो, योग । तर, सवै अवस्थामा सबै किसिमका योग गर्न प्रभावकारी नहुने मात्रै होइन, हानिकारक पनि हुन सक्छ । जस्तै, गर्भावस्था ।

गर्भावस्थामा सबैकिसिमका योग गर्न उचित मानिँदैन । जबकि, कतिपय यस्ता योगासन हुन्छन्, जो गर्भावस्थामा अत्यन्त लाभदायक मानिन्छ । के-के हुन् ती योगासन् ? पतञ्जलि योगपीठका योग गुरु लोकनाथ खनाल गर्भावस्था र महिनावारीको बेलामा गर्न हुने र नहुने योगको बारेमा यसरी बताउँछन् ।

योग सामान्यतया सबै मान्छेको लागि अत्यावश्यक शारीरिक व्यायाम हो । तर, गर्भावस्थामा रहेकी महिला र महिनावारी भएकी महिलालाई केही योगासन नगर्न सुझाव दिइन्छ । जस्तो, मान्छेको उमेर, लिंग र शारीरिक अवस्था अनुसार फरक फरक योगासन उपयुक्त हुन्छ । गर्भवती महिलाको लागि पनि केही योगासनहरु तोकिएको हुन्छ, जसले गर्भावस्थामा आमा र बच्चाको लागि फाइदा गर्छ ।

गर्भावस्थामा केही सूक्ष्म व्यायामहरु गर्न सकिन्छ । सूक्ष्म व्यायामसँगै भस्त्रिका र अनुलोम विलोम गर्न मिल्छ । यसबाहेक जटिल खालका योगासनहरु गर्न मिल्दैन । त्यसो त अरू अभ्यासहरु पनि गर्नै नमिल्ने भने होइन । तर यसको लागि कुशल प्रशिक्षकको सुझाव लिनुपर्ने हुन्छ । यसमा सानो गल्तीले पनि ठूलो नोक्सानी हुन सक्ने भएकोले प्रशिक्षक विना गर्भवतीले धेरै जटिल योगासनहरु गर्न हुँदैन ।

सामान्यतया, गर्भावस्थाको ३ महिनासम्म अरू बेलामा जस्तै योग गर्न सकिन्छ । तर तेस्रो महिनापछि भने यसमा ध्यान दिनुपर्छ । त्यसपछि धेरै उफ्रिने खालका योग अभ्यासहरु गर्नुहुँदैन । चक्रासन लगायतका आसन त गर्नै हुँदैन ।

गर्भावस्थामा मर्निङवाक गर्ने कि नगर्ने ?

गर्भावस्थामा मर्निङ वाक गर्नु आमा र बच्चाको लागि उपयुक्त हुन्छ । गर्भावस्थामा नियमित गर्ने प्राणायमले नर्भल डेलिभरीलाई फाइदा गर्छ । तर यसलाई अनियमित गर्दा उचित फाइदा हुँदैन । यसको लागि फुर्सद भएसम्म बिहान र साँझ आधा–आधा घण्टा अनुलोम-विलोम गर्न सकिन्छ । दैनिक मर्निङवाक कति घण्टा गर्ने भन्ने कुरा आफ्नो शारीरिक क्षमता अनुसार निर्धारण हुन्छ । गर्भावस्थामा गरिने प्राणायामले आमा र बच्चा दुवैको स्वास्थ्यमा पनि फाइदा गर्छ ।

सुत्केरी भएपछि के गर्ने ?

सुत्केरी भएपछि केही महिना जटिल खालका योगासन गर्नै मिल्दैन । यदि सामान्य अवस्थामा सुत्केरी भएको हो भने पनि ३÷४ महिनासम्म अनुलोम बिलोम र प्राणायामबाहेक कुनै पनि योगासन गर्नु हुँदैन । अप्रेसन गरेको हकमा भने कम्तीमा ६ महिनासम्म योग गर्न मिल्दैन ।

महिनावारीको समस्या समाधान गर्न योग

कतिपय महिनावारीको समस्या योगबाट पनि समाधान भएको भेटिएको छ । जस्तो महिनावारीको बेलामा धेरै पेट दुख्ने, महिनावारी नियमित नहुने जस्ता समस्याको लागि केही आसन तोकिएको छ । तर महिनावारी भएको ४÷५ दिनसम्म भने कपालभाती र अन्य उफ्रिएर गर्ने योग गर्नु हुँदैन । यस्तो योग सकेसम्म आमा भइसकेका कसैले पनि गर्नु हुँदैन । नियमित रक्तस्राव भइरहेको छ भने रक्तस्राब नरोकिँदासम्म उफ्रिएर गर्ने योग गर्न हुँदैन ।

त्यस्तै, नियमित महिनावारी नहुने समस्या पनि योगको माध्यम रोकिएको केही उदाहरण भेटिएको छ । नियमित महिनावारी नभएका महिलाहरुले कपालभाँती, अनुलोम–बिलोम र सूर्य नमस्कार नियमित गर्दा यसले पनि अनियमित महिनावारीको समस्या समाधान गर्छ । महिलाहरुले गर्नुपर्ने अर्काे योग मुद्रा भनेको अश्विनी मुद्रा पनि हो । मलद्वारलाई खुम्च्याउने छोड्ने यो प्रक्रियाले पनि स्वास्थ्यमा फाइदा गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?