+
+

किन रिसाहा र धेरै चकचके बन्दैछन् बालबालिका ?

डा. विजय ज्ञवाली डा. विजय ज्ञवाली
२०७८ माघ ७ गते १६:०६

७ माघ, काठमाडौं । कोरोना भाइरसको तेस्रो लहरका कारण अनिश्चितकालका लागि विद्यालय बन्द गरिएको छ । शुरुमा माघ १५ गतेसम्मका लागि बन्द गरिएको विद्यालय कहिले खुल्ने हो यकिन छैन । विद्यालय बन्द र सधैंभरि कोरोनाको त्रासका कारण मानिसमा अनेकखाले मानसिक समस्या बढ्दै गएका छन् ।

वयष्क व्यक्तिमा जस्तै कोरोना महामारीका कारण बालबालिकामा पनि विभिन्न मानसिक समस्या देखिएका छन् । जुन अहिलेसम्म सामान्य अवस्थामा भएपनि यसले निकट भविष्यमा गम्भीर समस्या निम्त्याउने जोखिम देखिन्छ ।

अहिले कोभिडले समस्यामा पारेका बच्चाहरुको मानसिक समस्याभन्दा पनि धेरैजसो अभिभावकले उनीहरुको आचरणमा देखिएको समस्या बोकेर आउने गरेका छन् । यसरी उपचारको लागि आउने अभिभावकहरुमध्ये धेरैले मोबाइल वा स्क्रिनको लत बढ्यो भन्ने समस्या लिएर आउने गरेका छन् ।

यसरी हाम्रोमा आउने बच्चाहरुको अवस्थालाई विश्लेषण गर्ने हो भने पछिल्लो समयका बालबालिकामा बढी रिसाउने, धेरै एग्रेसिभ हुने र बढी चकचके हुने समस्या देखिएको छ । यो अहिले हेर्दा सामान्य देखिन्छ, तर विपद्को बेलामा डिप्रेसन भएको तत्कालै थाहा नहुन सक्छ । ती समस्याको प्रारम्भिक संकेत यस्तै रिसाउने र एग्रेसिभ हुने देखिएकाले बच्चामा मानसिक समस्या देखिनुपूर्व नै उनीहरुलाई मनोसामाजिक उपचार गर्नुपर्ने आवश्यकता देखिन्छ ।

चिकित्सा मनोविद् डा. विजय ज्ञवाली

मनोविज्ञानको भाषामा एउटा अवधारणा छ, इन्स्ट्यान्ट ग्र्याटिफिकेसन अर्थात् क्षणिक रुपमा तृप्त हुने समस्या । यसको अर्थ भनेको कुनैपनि चिज बच्चालाई चाहियो भनेपछि जसरी पनि त्यो चाहियो भन्ने प्रवृत्ति हो । आफूले भनेको कुरा पूरा भएन भने रोएर, रिसाएर होस् वा जस्तोसुकै हतकण्डा अपनाएर भएपनि पाउन चाहन्छन् । जुन डिप्रेसनको प्रारम्भिक समस्याको संकेत हो ।

क्षणिक रुपमा तृप्त हुने समस्याले केटाकेटीमा छुट्टै किसिमको छटपटाहट हुने गर्छ । धेरै चकचके हुने र भनेको भएन भने तुरुन्तै प्रतिक्रिया देखाउने खालको स्वभाव उनीहरुमा हुने गर्छ ।

नेपाल प्रहरीको तथ्यांकले पछिल्लो समय कोरोनाको दुईवटा लहरपछि बच्चाहरुमा आत्महत्याको दर बढेको देखाएको छ । त्यो पनि यही क्षणिक तृप्तिको कारण हुन सक्छ । क्षणिक तृप्तिमा पनि भिन्न चरण हुन्छन् । जस्तो, छिटो रिसाउने बच्चा कोही घर छाडेर जाने, कोही नयाँ एडिक्सनमा लाग्ने र कतिपय त एकैपटक मृत्युको प्रयाससम्म गर्ने गर्छन् । त्यसैले समयमा नै यसको उपचार गर्नु उचित हुन्छ ।

औषधि-उपचार कसरी गर्ने ?

यस्ता समस्याको समाधान औषधिबाट हुँदैन । पहिलो चरणमा यस्तो समस्या भोगिरहेका बालबालिकालाई औषधिकै आवश्यकता त पर्दैन, तर अभिभावकहरुले गर्ने व्यवहारमा भने परिवर्तन गर्नुपर्ने हुन्छ । जस्तो, अहिलेको व्यस्त समयमा अभिभावकले बच्चालाई धेरै समय दिन त गाह्रो छ । तर समय दिँदा चाहिं बच्चाको लागि प्रभावकारी हुने समय दिनु जरुरी छ । दिनभरि बच्चासँग बसेको बेलामा उनीहरुसँग धेरै कुराकानी नगर्ने हो भने यसले बच्चामा जति समय दिएपनि समस्या निम्त्याउन सक्छ । हामीले जुन समय दिइरहेका छौं । गुणस्तर कसरी बढाउने भन्ने तिर ध्यान दिनुपर्छ । उनीहरु टिभी हेरिरहेका छन् भने त्यही अनुसार आफू पनि खेलिदिने, उनीहरुले कुनै गेम खेलिरहेका छन् भने उनीहरुसँगै गएर खेलिदिन सकिन्छ ।

केटाकेटीलाई कुनै कुरामा जानकारी नहुँदा र उनीहरुले गरेको कुरामा प्रशंसा नहुँदा पनि उनीहरुमा मानसिक समस्या देखिन सक्छन् । त्यसैले सामान्य अवस्थामा घरमा अभिभावकहरुले गुणस्तरीय समय दिएर उपचार खोज्न सकिन्छ । त्यसपछिको अवस्थामा चाहिं परामर्श आवश्यक पर्नसक्छ ।

मानसिक समस्या सिर्जना हुनुका कारण

सामान्यतया मनोसामाजिक सन्तुलन नमिल्दा यस्ता समस्याहरु देखिने गर्छन् । स्कुल, अभिभावक र केटाकेटीको बीचमा हुने सोचाइमै फरकपन छ । जस्तो, समाजले प्रतिस्पर्धा खोज्छ, तर बच्चाको मनले खुशी खोज्छ । विद्यार्थीलाई विद्यालय पठाइन्छ, त्यहाँ उसलाई पढ्ने मात्रै होइन, अर्काेलाई जित्नुपर्छ भन्ने दबाब दिइन्छ । जित्नेहरुको फोटो होर्डिङ बोर्डमा राखेर स्कुलले पनि उनीहरुलाई नै दबाब दिन्छ । समाजले पनि त्यस्तै गर्छ ।

विद्यार्थी एउटा खेलाडी बन्न खोज्छ, तर समाजले प्रतिस्पर्धी बनाउन खोज्छ । त्यसैले यो समाज र बच्चाको बीचको बेमेलका कारण नै अहिलेको समस्या निम्तिएको हो । यो बेमेल अन्त्य गर्नु नै अहिलेको मानसिक समस्याको कारण हो ।

(चिकित्सा मनोविद् डा. ज्ञवालीसँग गरिएको कुराकानीमा आधारित )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?