+
+
कभर स्टोरी :

कर्णालीमा सुत्केरी आमामाथि ज्यानमारा व्यवहार

कर्णाली प्रदेशमा अहिले पनि सुत्केरी आमाले गोठमै सुत्नुपर्छ । पोषिलो खानेकुरा हुन्न । छोरी जन्माउने आमाले यो विभेद झन् धेरै खेप्नुपर्छ । पोषण र स्वास्थ्य उपचारको अभावमा पछिल्ला चार वर्षमा ९० जना सुत्केरी तथा गर्भवती र ७०० हाराहारी नवजात शिशुको मृत्यु भएको सरकारी तथ्याङ्क छ ।

यज्ञ खत्री यज्ञ खत्री
२०७८ माघ ७ गते २०:४२
रजस्वला भएपछि दूधेबालकसहित परालको टहरोमा बसिरहेकी दैलेखको ठाटीकाँध गाउँपालिका–३ की एक महिला। तस्वीर : भक्तबहादुर शाही ।

७ माघ, सुर्खेत । दैलेखको ठाँटीकाँध गाउँपालिका–६ गुयालसिमकी २६ वर्षीया हस्तना रोकायाले लगातार तीन सन्तान छोरी जन्माइन् । छोराको पखाइमा तेस्रो पटक गर्भवती हुन बाध्य उनलाई १८ असार २०७८ मा सुत्केरी व्यथाले च्याप्यो । स्थानीय लकान्द्र स्वास्थ्य केन्द्रमा सुत्केरी भइन् । तेस्रो सन्तान पनि छोरी जन्मिइन् ।

छोरी जन्मिएको भोलिपल्ट डिस्चार्ज भएकी उनलाई परिवारले घर नजिकैको भैंसी गोठमा लगेर राख्यो । ‘सुत्केरीलाई गोठमा राख्ने यहाँको चलन नै हो’ उनको चेकजाँच गर्दै आएकी एक स्वास्थ्यकर्मीले भनिन्, ‘यहाँको चलन अनुसार हस्तनाले आवश्यक स्याहारसुसार पाउनु त परको कुरा राम्रो एकछाक खाना पाउन समेत मुश्किल पर्छ ।’

यस्तो असुरक्षित अवस्थामा गोठमा बसेका बेला सुत्केरी भएको ६ दिनमा उनको गोठमै ज्यान गयो । गोठको चिसो, परिवार र श्रीमान्को तिरस्कार सहँदै आएकी उनी वास्तवमा रोगले मरिन् कि भोकले कसैले भन्न सक्दैन । ‘परिवारले खान नदिएपछि भोकले मरेको गाउँले सुनाउँछन्’ ती स्वास्थ्यकर्मी भन्छिन्, ‘सुरक्षित सुत्केरी गराउँदा पनि परिवारको लापरवाहीले थुप्रै सुत्केरी आमाको ज्यान जान्छ भन्ने हामीलाई थाहा छ । तर हामी केही गर्न सक्दैनौं ।’

त्यसैगरी, ठाँटीकाँध गाउँपालिकाकै वडा नम्बर १ सिराडीकी २२ वर्षीया शीतला शाहीलाई १६ साउन २०७८ मा सुत्केरी व्यथाले चाप्यो । उनलाई स्ट्रेचरमा राखेर स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा लगियो । तेस्रो सन्तानको रूपमा छोरा जन्माइन् । दुई दिनपछि डिस्चार्ज भएकी उनलाई पनि परिवारले घर छेउको गोठमा राख्यो । असुरक्षित बसाइ र आवश्यक स्याहार–सुसारको कमीले दुई दिनपछि गोठमै शिशुको मृत्यु भयो ।

*****

असुरक्षित सुत्केरी भएका वा कतिपय स्वास्थ्य संस्थामा सुत्केरी भएका समेत घर फर्केपछि मर्नु न बाँच्नु हुन्छन् । यस्ता उदाहरण गाउँ–गाउँमा प्रशस्त छन् । २०७८ कात्तिकमा पश्चिम सुर्खेतको पञ्चपुरी–६ की १८ वर्षीया संगीता विकलाई सुत्केरी व्यथा लाग्यो । स्वास्थ्य संस्था टाढा भएकाले गाउँकै सुँडेनी (बच्चा जन्माउन सघाउने महिला) बोलाइयो । सुँडेनीको सहयोगमा उनले घरमै बच्चा जन्माइन् । गाउँको चलन अनुसार परिवारले घरकै भुङ्ग (गाईभैसी बाँध्ने ठाउँ) मा लगेर राखे ।

‘सुत्केरी भएको १३ दिनसम्म बच्चा र मलाई कसैले छुनुभएन । मैले पनि अरूलाई छोइन । मन लागेको खान नपाइने, आपत् पर्दा सहारा लिन नपाइने’ सुत्केरी छाउको पहिलो अनुभव सुनाउँदै संगीताले भनिन्, ‘मेरो मात्रै होइन, पश्चिम सुर्खेतमा सुत्केरीको अन्तिम अवस्था नहुँदासम्म स्वास्थ्य संस्था लैजाने चलन छैन । गाउँमै सुँडेनीको सहयोग लिइन्छ ।’

भूमिसरा केसी

२६ कात्तिक २०७८ मा दैलेखको गुराँस गाउँपालिका–४, लालीकाँडाकी २२ वर्षीया भूमिसरा केसी सुत्केरी भइन् । नजिकैको स्वास्थ्य संस्थामा सुत्केरी भएकी उनलाई परिवारले घरको एउटा अँध्यारो कोठामा राखे । १३ दिनसम्म पानी–पँधेरो प्रयोग गर्न, फलफूलका बोटविरुवा छुन र दूध–दही खानबाट वञ्चित गरियो । ‘सुत्केरी भएका बेला छोइछाइ गरे देउता रिसाउने डर छ । के गर्नु र हाम्रो पहिल्यैदेखिको चलन यस्तै छ’, भूमिसराले भनिन् ।

जाजरकोट नलगाड नगरपालिका–८ काभ्राकी विपना चदारा अहिले १६ वर्षकी भइन् । १५ वर्षमा विवाह गरिन्, केही समयपछि उनको गर्भ रह्यो । पेटमा हुर्कंदै गरेको बच्चासँगै मेलापात र चुलोचौका गर्दा उनको शरीर गलिसकेको थियो । प्रसूति हुने दिन कुरिरहेकी विपनाको शरीरमा कम्पन बढ्यो, बेहोश हुन थालिन्  । सासू–ससुराले धामीझाँक्रीकहाँ लगे । त्यहीबीच उनलाई सुत्केरी व्यथा लाग्यो । २० मंसीरमा घरमै शिशुलाई जन्म दिइन् ।

परिवारले विपनालाई घरकै एउटा छुट्टै कुनामा लगेर राखे । सुत्केरी पीडाले थलिएकी उनलाई केही भाँडाकुँडा र दाल–चामल दिइयो । ‘बाबुलाई डोकोमा सुताएँ, पीडाले थलिएका बेला परिवारले छुन नमिल्ने भएकोले हात लगाएनन्’ पीडा सुनाउँदै भनिन्, ‘देउता लाग्छ, अशुभ हुन्छ भन्दै कसैले छुन मानेनन् । आफैं पकाएर खाएँ ।’

हुम्ला अदानचुली गाउँपालिका–३ कल्खेकी ४५ वर्षीया सरिता बोहोरा आफैंमा स्वास्थ्यकर्मी हुन् । १४ वर्षकै उमेरमा परिवारले विवाह गरिदिए । १५ वर्षको हुँदा पहिलो सन्तान घरमै जन्माइन् । उनको गाउँमा त सुत्केरी महिलालाई राख्ने एउटा छुट्टै गोठ छ । उनी त्यही गोठमा २० दिन बसिन् । परिवारले बाक्लो पराल बिछ्याइदिए । एकजोर ओढ्ने, ओछ्याउने कपडा, भाँडाकुँडा र केही दाल–चामल दिए । बेलुका गोठको ढोकानेर सुरक्षाका लागि एउटा कुकुर पनि बाँधिदिए ।

‘उमेर सानै थियो । चिसो गोठमा रातभरि डराई–डराई एक्लै बसें । बत्ती हुन्थेन, दियालो बाल्नुपर्थ्यो’ सरिताले सुत्केरीलाई घरमा राखे देउता रिसाउँछन् भन्ने अन्धविश्वासले गर्दा आफूले खेपेकोे दुःख सुनाउँदै भनिन्, ‘अहिले थोरै परिवर्तन त भएको छ तर गाउँमा ती गोठहरू भत्किएका छैनन् । त्यसैले सुत्केरी आमाका दुःख पुरानै हुन् ।’ हाल जिल्ला अस्पताल हुम्लामा नर्सिङ इन्चार्जको रूपमा कार्यरत उनी चाहेर पनि सामाजिक कुरीति हटाउन नसकिएको बताउँछिन् ।

घटनाको निन्दा हुन्छ, कुसंस्कार हट्दैन

माथि उल्लिखित घटना केही प्रतिनिधि दृष्टान्त मात्रै हुन् । हिजोआज पनि कर्णालीका थुप्रै सुत्केरी आमा र नवजात शिशुले छाउ गोठमा ज्यान गुमाउँदै आएका छन् । अन्धविश्वास र रुढिवादी सोचका कारण सुत्केरी महिलाले आवश्यक स्याहार–सुसार, परिवार र श्रीमान्बाट माया पाउँदैनन् । यसको परिणाम आमा र बच्चाको गोठमै मृत्यु हुने गरेको छ ।

सुत्केरी हुँदाका बेला होस् या रजस्वलाको समयमा, महिलाहरूलाई छाउ गोठमा राखेकै कारण भएको मृत्युको विषय समाचार बन्छन् । राष्ट्रिय मानवअधिकार आयोग लगायत अधिकारवादीहरू र सरकारी क्षेत्रले पनि केही समय घटनाको चर्कै निन्दा गर्छन्, तत्काल केही होला कि जस्तो पनि हुन्छ । तथापि त्यसको नीतिगत निकास भने केही निस्किंदैन । जसले गर्दा कर्णालीमा आजपर्यन्त अकालमै महिलाको ज्यान जाने यस्तो कुसंस्कारको अन्त्य हुनसकेको छैन ।

११ भदौ २०७७ मा कालीकोट रास्कोट नगरपालिका–२ की २८ वर्षीय सीता सार्कीलाई सुत्केरी व्यथा लाग्यो । व्यथाले च्यापेपछि परिवारले नजिकैको स्वास्थ्य चौकीमा लगे । त्यहाँ उपचार सम्भव नभएपछि सामुुदायिक अस्पताल रास्कोटमा ‘रेफर’ गरियो ।

‘भदौको महीना पहिरोको कारण सडक अवरुद्ध थियो । स्ट्रेचरमा अस्पताल लैजाँदै गर्दा बाटोमै सुत्केरी भइन्’ सीताका श्रीमान् धने सार्कीले भने, ‘सुत्केरीपछि धेरै रगत बगेका कारण सीताको मृत्यु भयो । त्यसको केही समय भन्दा उता बच्चा पनि बाँचेन ।’

अर्को उदाहरण छ २०७७ असोजमा भएको कालीकोटकै, तिलागुफा– ११ ठिन्केकी १९ वर्षीया सम्झना शाहीको । शाहीलाई सुत्केरी व्यथाले च्याप्यो । आफन्तले स्थानीय चिल्खाया स्वास्थ्यचौकी पुर्‍याए । त्यहाँ तीन घण्टासम्म सुत्केरी हुन नसकेपछि अनमी तुलसी थापालाई खबर गरियो । उनले अवस्था जटिल भएको भनेर जुम्ला लैजान आग्रह गरिन् । तर आर्थिक अवस्था कमजोर भएकाले परिवारले तत्काल बाहिर लैजान सकेन । भोलिपल्ट बिहान जुम्ला लैजाने भनेर हिंडाउँदा प्रसूति व्यथाले शाही छट्पटाइन् । अनमी थापा त्यहाँ पुग्दा नवजात शिशुको ज्यान गइसकेको थियो ।

दैलेख, ठाँटीकाँध गाउँपालिका–१ की २५ वर्षीया पार्वती शाहीले समयमै उपचार नपाउँदा २०७७ भदौमा बाटोमै ज्यान गुमाइन् । उनलाई सुत्केरी व्यथा लागेपछि प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रमा लगियो । त्यहीं बच्चा जन्मियो । तर सुत्केरी भएको केही समयमै पार्वतीलाई रक्तस्राव भयो । रक्तस्राव नरोकिएपछि सुर्खेतस्थित प्रदेश अस्पतालमा रेफर गरियो । अस्पताल पुर्‍याउन समयमा एम्बुुलेन्स पाइएन । अन्य सवारी साधनमा सुुर्खेत ल्याउँदै गर्दा बीच बाटोमै उनको मृत्यु भयो । यसको केही समयपछि बच्चाको पनि मृत्यु भयो ।

अस्पताल लैजाँदालैजाँदै सुत्केरी व्यथाले च्यापेपछि बाटोमै बच्चा जन्माउँदै कालिकोटकी एक महिला । तस्वीर : तुलाराम पाण्डे

भौतिक पूर्वाधारको विकास, दक्ष जनशक्ति र उपकरण नहुँदा गाउँमा प्रसूति सेवा दिन समस्या हुने गरेको खाँडाचक्र नगरपालिका कालीकोटकी अनमी यमुना शाहीले बताइन् । ‘गाउँमा न सडक छ, न त स्वास्थ्य चौकीमा पर्याप्त पूर्वाधार । सामान्य गर्भवतीलाई पनि अस्पतालमा रेफर गर्नुको विकल्प छैन । समयमै अस्पताल पुर्‍याउन नसक्दा थुप्रै महिलाले बाटोमै ज्यान गुमाउँछन्’, उनले भनिन् ।

समयमै स्वास्थ्य संस्थामा नजाने, प्रसूति पूर्वको तयारी नगर्ने, आवश्यक दक्ष जनशक्ति र उपकरण अभाव हुने जस्ता समस्याले कर्णालीमा अकालमै ज्यान गुमाउने गर्भवती र सुत्केरी महिलाहरूको संख्या ठूलो छ ।

प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार पछिल्ला चार वर्षमा ८० जना सुत्केरी तथा गर्भवती महिलाको मृत्यु भएको छ । आर्थिक वर्ष २०७४/७५ मा २६, आव २०७५/७६ मा १३, आव २०७६/७७ मा २१ र आव २०७७/७८ मा २० सुत्केरीको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

यस्तै चालु आर्थिक वर्षको हालसम्म ९ जना महिलाले ज्यान गुमाएको निर्देशनालयकी वरिष्ठ सामुदायिक नर्सिङ अधिकृत मानकुमारी गुरुङले जानकारी दिइन् । उनका अनुसार कठिन भूगोलकै कारण कर्णालीमा धेरैजसो गर्भवती र सुत्केरी महिलाको मृत्यु बाटोमै हुने गरेको छ ।

त्यस्तै कर्णालीमा पछिल्लो तीन आर्थिक वर्षमा मात्रै ६५० नवजात शिशुको मृत्यु भएको निर्देशनालयले जनाएको छ । आर्थिक वर्ष २०७५/७६ मा १५२, आव २०७६/७७ मा २०८ र आव २०७७/७८ मा २१८ नवजात शिशुको मृत्यु भएको छ भने चालु आर्थिक वर्षको हालसम्म ६० जनाको मृत्यु भइसकेको छ ।

तथ्याङ्कलाई केलाउँदा गर्भवती तथा सुत्केरी आमाको मृत्युको अवस्था स्थिर देखिन्छ भने नवजात शिशु मृत्युदर बढ्दो अवस्थामा पुगेको पाइन्छ । कर्णाली प्रदेश नीति तथा योजना आयोगको तथ्याङ्क अनुसार, प्रदेशभर जम्मा ४४ वटा सुरक्षित गर्भपतन केन्द्र छन् भने २७४ वटा ‘बर्थिङ सेन्टर’ छन् ।

लैङ्गिक विभेदको चेपुवामा ‘सुत्केरी आमा’

कानूनले लिंगको आधारमा गरिने भेदभावलाई वर्जित गरेको छ । कर्णालीमा छोरा र छोरीबीचको विभेदको चपेटामा थुप्रै आमाले अनेकौं समस्या झेल्दै आएका छन् । यतिसम्म कि पहिलो सन्तानको रूपमा छोरो जन्मिए दोस्रो सन्तान छोरो वा छोरी जे जन्मिए पनि त्यति महत्व दिइँदैन ।

यहाँको समाजमा के मानसिकता छ भने ‘एउटा छोरो त अनिवार्य चाहिन्छ ।’ यदि पहिलो सन्तान छोरी जन्मिएको खण्डमा अर्को बच्चा नपाउञ्जेल आमाहरूले सुखै पाउँदैनन् । यो सोचले परिवारका सदस्य, छिमेकी, आफन्त र स्वयं महिला आफैं पनि छोरो जन्माउनुपर्ने चर्को दबावमा हुन्छन् ।

नलगाड नगरपालिका–८, जाजरकोटका गुरु सिंहका ८ सन्तान छन् । ‘छोरो नभए वंश नाश हुन्छ’ भन्ने सोचाइका कारण सिंह दम्पतीले ७ छोरी पछि ८औं सन्तान छोरो जन्माए । ‘धेरै सन्तान जन्माउने रहर त थिएन, तर एउटा छोराको आश गर्दागर्दै सात छोरी जन्मिए’ श्रीमती गोमा सिंहले भनिन् ।

राकम कर्णालीकी एक महिला । तस्वीर : भक्तबहादुर शाही ।

छोरो पाउने आशमै दैलेख ठाँटीकाँधकी हस्तना रोकायले शिशु जन्मान्तर छोटो बनाइन् । तेस्रो सन्तानको रूपमा पनि छोरी जन्माउँदा परिवारबाट पाउनुपर्ने आवश्यक हेरचाह त परको कुरा आफ्नै श्रीमान्बाट पनि तिरस्कृत भइन् । त्यही तिरस्कार उनको मृत्युको कारण बन्न पुग्यो ।

यतिसम्म कि कर्णालीका ग्रामीण भेकमा छोरो जन्मिए दमाहा बजाउने, पगरी बाँध्ने र न्वारान गर्ने प्रचलन छ । छोरी जन्मिए खुसुक्क गोठमा लगेर राखिन्छ । न्वारान समेत गरिंदैन । ठाँटीकाँध गाउँपालिकको प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत अनमी भूमिसरा शाही भन्छिन्, ‘रुढिवादी परम्पराले कतिसम्मको लैङ्गिक विभेद छ भन्ने यसले देखाउँछ ।’ यही कुसंस्कार नै कर्णालीमा लैङ्गिक विभेदको पराकाष्ठा बन्दै गएको र यसले आमा र बच्चाको ज्यान लिइरहेको छ ।

शाहीका भनाइमा, समाज जति शिक्षित बन्दै गयो त्यत्ति नै परिवर्तन हुँदै जाने अपेक्षा राखिन्छ । तर, पढेलेखेका महिला समेत यस्ता खालका रुढिवादी प्रचलनबाट टाढा भाग्न सकिरहेका छैनन् । त्यसैले यो प्रवृत्ति बदल्न समाज नै बदलिनुपर्ने शाहीको तर्क छ ।

कर्णाली प्रदेशको अधिकांश भूभाग पहाडी क्षेत्र छ । यहाँ आमा र बच्चाको जीवन असुरक्षित बनाउने अनेक कारण छन् । भौगोलिक विकटता, परिवारको लापरवाही, यातायातको असुविधा र स्वास्थ्य सेवाको पहुँच नहुँदा सुत्केरी तथा गर्भवतीले समयमा उपचार नपाएर ज्यान गुमाउन बाध्य छन् ।

जाजरकोटकी एक महिलालाई सुत्केरी गराउन अस्पताल पुर्याइँदै ।

अर्कोतिर विशेषज्ञ चिकित्सक र दक्ष तथा अनुभवी स्वास्थ्यकर्मी नहुनु, स्वास्थ्य संस्था तथा बर्थिङ सेन्टरमा आवश्यक सामग्रीको अभाव हुँदा सुत्केरी आमा र बच्चाहरूले ज्यान गुमाइरहेका छन् ।

‘पहिलो कारण त गर्भवती महिलालाई व्यथा लागेपछि घरबाट नै अस्पताल पुर्‍याउन ढिलो हुन्छ’ कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा.रविन खड्का भन्छन्, ‘स्ट्रेचरमा बोकेर ल्याउनु पर्दा सबैजसो गर्भवती महिलाको शारीरिक अवस्था कमजोर हुँदै गएको हुन्छ । अर्को अझै पनि मान्छेमा चेतनाको कमी, चेकजाँचमा बेवास्ता र स्वास्थ्य संस्थामा सुत्केरी गराउन नआउने समस्या पनि छ । यातायात सुविधाको पहुँच नहुनु, चिकित्सक तथा स्वास्थ्य सामग्रीको अभावले पनि आमा तथा शिशुको ज्यान जाने गरेको छ ।’

कर्णाली प्रदेश अस्पतालका बालरोग विशेषज्ञ डा.नवराज केसी कर्णाली स्वास्थ्य पूर्वाधारमा निकै कमजोर रहेको बताउँछन् । ‘गुणस्तरीय स्वास्थ्य सेवाबाट नै टाढा हुनु यहाँका गर्भवती आमाहरूका लागि ठूलो अभिशाप हो । स्वास्थ्य संस्थासम्म सुत्केरी तथा गर्भवती महिलाको सहज पहुँच पुग्न सकेको छैन । त्यसैले उनीहरू समयमा उपचार नपाएर ज्यान गुमाउन बाध्य छन्’ उनी भन्छन्, ‘भौगोलिक रूपमा दुर्गम भएकाले पनि यहाँका महिलाको स्वास्थ्य संस्थासम्म सहज पहुँच छैन । समयमा स्वास्थ्य सेवा नपाउँदा बीच बाटोमा उनीहरूको ज्यान जाने गरेको छ ।’

छाउ भन्दा क्रूर सुत्केरी आमा माथिको व्यवहार

कर्णालीमा छाउ प्रथाले जरा गाडेको कुरा भनिरहनु पर्दैन । तर महिला सुत्केरी हुँदा भैंसी, बाख्रा गोठमा राख्छन् भन्दा जो–कोहीलाई अचम्म लाग्न सक्छ । तर छाउ प्रथाको बारेमा जति बहस–अभियानहरू चलाइन्छन्, सुत्केरी अवस्थाको छाउबारे सामान्य छलफल पनि गरिंदैन । तर कर्णालीमा छाउ भन्दा ज्यानमारा प्रथा छ सुत्केरी छाउ । तथापि यो विषयमा सडकदेखि सदनसम्म आवाज उठेको सुनिंदैन ।

‘कर्णालीमा छाउ हुँदा ५–७ दिन गोठमा राखिन्छ तर सुत्केरी हुँदा त ११–१४ दिनसम्म सुत्केरी छाउ बार्नुपर्छ’, दैलेख ठाँटीकाँध गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्रकी अनमी भूमिसरा शाही भन्छिन्, ‘यहाँ छाउ भन्दा त कठोर सुत्केरीलाई छ । १४ दिनसम्म सुत्केरीलाई छुन दिइँदैन । दूध, दही जस्ता खानेकुरा दिए भैंसीले दूध दिंदैन भन्ने मान्यता छ ।’

सुत्केरी पछि गोठमा राखिएकी दैलेखकी एक महिला । तस्वीर : भक्तबहादुर शाही ।

यतिसम्म कि सुत्केरी हुँदा महिलालाई तेलसँग भात मात्रै खान दिइन्छ । देउता रिसाउने डरले एक त स्वयं महिलाहरू नै आफैं कहिले कतै केही भइहाल्ने हो कि भन्ने सोचले आतंकित हुन्छन्, अर्कोतिर पहिलेदेखि नै चलिआएको कुरा क्षणभरमै उनीहरू पनि तोड्न सक्दैनन् ।

अनमी शाही भन्छिन्, ‘१२ दिनको बीचमा एक पटक सुत्केरीको घरसम्म पुग्छु, अधिकांश महिला गोठमै सुतेका हुन्छन् । त्यो अवस्था देख्दा आफैं बेचैन हुन्छु । के गर्नु सामाजिक परम्पराले महिलालाई दास बनाएको देख्दा मन खिन्न हुन्छ ।’

छाउ प्रथा उन्मूलन भनेर राष्ट्रिय अभियानहरू समेत चलाइएका छन् । तर विडम्बना ‘सुत्केरी छाउ’ जस्तो कामले सयौंको ज्यान लिइरहेको छ तर त्यो सामान्य छलफलको विषय समेत बन्न सकेको छैन ।

पहुँचमा छैन हवाई उद्धार

दुर्गम बस्तीका सुत्केरी महिलाको ज्यान बचाउन प्रदेश सरकारले ल्याएको हवाई उद्धार कार्यक्रमको लाभ पनि सबैजसो महिलाले लिन सकिरहेका छैनन् । संघीय सरकारले पनि राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत निःशुल्क हवाई उद्धार गर्दै आएको छ । तर, उक्त सेवा पनि सबै सुत्केरी महिलाको पहुँचमा छैन ।

जोखिममा रहेका सुत्केरी महिलाको ज्यान जोगाउन संघीय सरकार र प्रदेश सरकारले हवाई उद्धार कार्यक्रमलाई निरन्तरता दिए तापनि समयमै खबर नपाउँदा सुत्केरीको ज्यान गइरहेको प्रदेशसभा सदस्य तथा सामाजिक विकास समितिका अध्यक्ष देवी ओली बताउँछिन् ।

उनी भन्छिन्, ‘हवाई उद्धार वैकल्पिक उपाय भए पनि दीर्घकालीन समस्या समाधान होइन । अर्कोतिर यो कार्यक्रमबाट लाभान्वित हुने भनेको पहुँचवालाहरू मात्रै हुन् । आम नागरिकलाई अझै पनि यो सेवा बारे थाहै छैन, थाहा पाएकाहरू सबैको यो सेवामा पहुँच छैन ।’

प्रसूति व्यथा लागेपछि जाजरकोटकी महिलालाई हवाई उद्धार गरिंदै ।

स्वास्थ्य संस्था, बर्थिङ सेन्टर र जिल्लाका अस्पताललाई सुविधा सम्पन्न बनाउनु नै स्वास्थ्य सेवामा सबैको पहुँच पुर्‍याउनु हो । यसतर्फ प्रदेश सरकार लागिरहेको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी सुनिल लिम्बू बताउँछन् ।

कर्णालीका १० जिल्लाका ७९ वटा स्थानीय तहमा स्वास्थ्य संस्था भए पनि उपयुक्त प्रविधि र गुणस्तरीय सेवा उपलब्ध छैन । सामाजिक विकास मन्त्रालयका अनुसार २०७५ पुस महीनादेखि हालसम्म ५१ जना सुत्केरी महिलाको उद्धार गरिएको छ । जहाँ कि हवाई उद्धार नपाएकै कारण त्यस यता कर्णालीका ८९ सुत्केरी महिलाले ज्यान गुमाएका छन् ।

आमा र बच्चाको उपचार : कर्णालीमा हुने तीन ढिलाइ

सुत्केरी अवस्थामा आमाको राम्रोसँग ख्याल नगर्दा आमा, बच्चा र परिवारले नै ठूलो समस्या झेल्नुपर्ने कर्णाली प्रदेश अस्पतालका बालरोग विशेषज्ञ डा.नवराज केसी बताउँछन् । केसी भन्छन्, ‘आमाहरूले शारीरिक, मानसिक र सामाजिक तीन प्रकारका समस्या झेल्ने गरेको पाइन्छ । पाठेघर खस्ने, शरीर कमजोर हुने र मुटु सम्बन्धी रोग देखापर्ने गरेको उनी बताउँछन् ।

दैलेखको एक गाउँ । तस्वीर : भक्तबहादुर शाही

अझ पछिल्लो समय कर्णालीका अधिकांश महिलामा डेलिभरीपछि ‘पोस्टपार्टम साइकोसिस’ नामक मानसिक रोग समेत देखापर्ने गरेको छ । जसले गर्दा सुत्केरी आमालाई मात्र नभई परिवारलाई समेत ठूलो क्षति हुने गरेको डा.केसीले बताए । ‘सुत्केरी अवस्थामा आमाको राम्रोसँग ख्याल नगर्दा विभिन्न रोग देखा पर्छन् । ती रोगको उपचारका लागि पनि परिवारले ठूलो नोक्सानी खेप्नुपर्छ । लाखौं रुपैयाँ उपचारमा खर्चिनुपर्छ ।’

उनले थपे, सुत्केरी महिलालाई अधिक स्याहारसुसार चाहिन्छ । कुनै प्रकारको हिंसा हुनुहुँदैन, चोटपटक लाग्नु भएन । गह्रुँगो काम गर्नुहुँदैन । चिसो/गर्मी दुवै ठाउँमा बसाल्नु पनि हुँदैन । विशेष हेरचाह जरूरी हुन्छ ।’

सुत्केरी भएपछि महिलाको प्रजनन प्रणालीहरू परिवर्तन हुने र ती प्रणाली सामान्य अवस्थामा फर्किन कम्तीमा ६ हप्ता लाग्ने प्रदेश स्वास्थ्य निर्देशनालयकी वरिष्ठ नर्सिङ अधिकृत मानकुमारी गुरुङ बताउँछिन् । उनका अनुसार ६ हप्तालाई ‘सुत्केरी समय’ भनिन्छ । ‘यो अवधिमा आमाको सबैभन्दा बढी हेरचाह गरिनुपर्छ । तर कर्णालीमा देउता रिसाउने भन्दै सुत्केरी भएकै बेला सबैभन्दा बढी बेवास्ता गरिन्छ । यो नै महिलाको संभावित मृत्युको मुख्य जड हो’, उनले भनिन् ।

गर्भवती र सुत्केरीको विशेष स्याहार गर्न सके मातृ मृत्युदर हटाउन सकिने गुरुङ बताउँछिन् । ‘विकसित राष्ट्रहरूले त्यो प्रमाणित नै गरेका छन्’ उनले भनिन्, ‘कर्णालीमा मुख्यतः तीन वटा ढिलाइ गरिन्छ । पहिलो सुत्केरी कहाँ गराउने भनेर घरमा ढिलो हुन्छ । दोस्रो कहाँ र कुन साधनमा लैजाने भनेर साधन खोज्दाखोज्दै ढिलो हुन्छ । तेस्रो दक्ष स्वास्थ्यकर्मीबाट सेवा पाउन ढिलाइ हुन्छ । कर्णालीमा जनशक्ति अभाव छ । स्वास्थ्य संस्थामा पुगे पनि दक्ष स्वास्थ्यकर्मी भेट्टाउन सकिंदैन’, उनले भनिन् ।

कभर स्टोरी
लेखकको बारेमा
यज्ञ खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?