+
+
कथा :

फलानाकी विधवा

भूमिकाकुमारी विष्ट भूमिकाकुमारी विष्ट
२०७८ माघ ८ गते ८:३५

पुसको चिसो बिहान तराईमा बाक्लो कुहिरो लागेको छ । शीतलहरले मानिसहरू अबेर मात्र घरबाट बाहिर निस्किन रुचाउँछन् । बाक्लो कुहिरोलाई छिचोल्दै एउटा सेतो आकृति राजमार्ग जोड्ने सडकमा लामो लामो कदम चाल्दै हिंडिरहेको हुन्छ । हातमा दूधको डब्बा बोकेर निस्किएकी उनले सेतो पछ्यौरा ओढेकी छिन् । अग्लो कद, खँदिलो शरीर कुहिरोको बीचमा हिमाल झैं देखिन्छिन् इन्द्रेणी ।

चिसोले गर्दा गोरो वर्णकी उनका गाला रगत झर्ला झैं भएका छन् । शीतका थोपाहरूले उनको टाउको र शरीर चिस्याए झैं उनको मन पनि चिसिएको छ । आफ्नो भाग्य र समाजको नजर यी दुवैले उनको मनलाई छियाछिया पारेको छ ।

केही समय अघिसम्म घरकी लक्ष्मी अब अलच्छिनी र अशुभमा परिणत भएकी छिन् । तीन महीना अघि मात्र कोरोना संक्रमणबाट उनको पतिको मृत्यु भयो । त्यसअघि उनका लागि समाज सहज नै थियो । तर अब त्यही समाज उनको लागि प्रतिकूलताको पहाड बनेर उभिएको छ । बाधा र बाध्यताहरू उनलाई मर्यादाको नाममा जिस्क्याउन आउँछन्, चिथोर्न आउँछन् ।

दैनिक घर खर्च चलाउन राजमार्ग छेउको चोकको चियापसलमा दूध पुर्‍यायाउनु अहिले उनको दैनिकी भएको छ । पहिले पहिले उनी उज्यालो भएपछि दूध बेच्न घरबाट निस्कन्थिन् । तर बिहानै विधवाको अनुहार देखेर अशुभ भयो भनेर छिमेकीहरूले कुरा काटेको उनले थाहा पाइन् । त्यसपछि उनी झिसमिसे उज्यालो नहुँदै होटलमा दूध पुर्‍यायाउन निस्कन थालिन् । आफ्नो कारणले अरूको दिन ‘खराब’ नहोस् भनेर नै उनी बरु आफैं कष्ट बेसाउन थालिन् । छिमेकीलाई अशुभ लाग्ने मात्र होइन, गाउँका अल्लारे केटाहरूको खराब नजरबाट बच्न पनि उनी झिसमिसेमै घरबाट निस्किन्छिन् । श्रीमान् बितेको एक महीना पछि दूध बेच्नको लागि राजमार्ग छेउको पसलमा पुग्दा भएको घटना उनले अझै बिर्सेकी छैनन् ।

इन्द्रेणी त्यहाँ पुग्दा बिहानको १० बजेको थियो । चियापसलको छेउमा क्यारेमबोर्डमा केटाहरू झुम्मिसकेका थिए । हातमा चियाका गिलास र चुरोटको धुवाँ उडाइरहेका केटाहरूले इन्द्रेणीलाई हेर्दै के के बोले के के । अर्कोले विचराको भाव व्यक्त ग¥यो । एकअर्का बोल्दा सबै गलल्ल हाँस्थे । अर्कोले झन् हौसिएर थप्यो, ‘होइन यार यी आइमाईको ज्यान पनि गज्जबकै हुन्छ, एक्लो भएपछि झन् मज्जाले फुल्ने के !’

फेरि अर्कोले भन्यो, ‘आजकलको जमानामा, कोही न कोही त पक्कै होला नि !’ उनीहरू खित्का छाडेर हाँस्न थाले । उनीहरूको दुव्र्यवहारलाई बेवास्ता गर्दै इन्द्रेणीले होटलको साहूलाई सोधिन्, ‘दूध राख्नुहुन्छ ?’

साहूसँग पैसा बुझेर घर फर्कन लाग्दा तिनै केटाहरूले जिस्काए । राम्रो र शुद्ध दूध हामीलाई पनि चाहिएको छ भन्दै गिल्ला गरे । सुन्न नसकिने कुरासँगै उनीहरूको आँखाले अनेक इशारा गरेपछि उनी पछ्यौराले शरीर ढाकेर घर दौडिन् ।

घर नपुग्दासम्म उनलाई केटाहरूले जिस्काएको कुराले निकै पोल्यो । घर फर्केर ऐना अगाडि उभिएर उनले आफूलाई निकै बेर हेरिन् । केटाहरूको कुरा उनको दिमागमा गुञ्जिरहेको थियो ।

इन्द्रेणीको अनुहार पूर्ण चन्द्र जस्तै गोलो र उज्यालो छ । भरिएको पुष्ट छाती, छिनिएको कम्मर, अग्लो कद, लामो कपाल । विना कुनै श्रृंगार पनि उनी निकै सुन्दर देखिन्छिन् । केटाहरूको टिप्पणीले उनलाई आफ्नो सुन्दरता हेर्न ऐना अगाडि उभ्याएको थियो । केहीबेर मनले अनेक कल्पना गर्न थाले । एक्कासी उनको नजर आफ्नो सिउँदोमा पुग्छ । जुन मरुभूमि जस्तै उजाड देखिएको थियो । उनले लगाएको सेतो कपडा जस्तै जीवन सफेद भइसकेको थियो । रंगीन नाम इन्द्रेणी भए पनि जीवन उनको बेरङ्ग भइसकेको थियो । उनी झस्किइन् । ‘धत् के सोचेको म त एक विधवा हुँ, यस्तो सोच्नु पनि पाप हुन्छ’ यस्तै मनोवाद सहित उनले ऐनाबाट ध्यान हटाएर घरको काम गर्न थालिन् ।

श्रीमान् बितेपछि इन्द्रेणीको रूप मात्र होइन, पहिचान पनि फेरिएको छ । अब उनी इन्द्रेणी भन्दा पनि फलानाकी विधवा भनेर चिनिन थालेकी छिन् । आफ्नो पहिचान फेरिएको कुरा उनले अस्ति वडा कार्यालयमा श्रीमान्को मृत्यु दर्ता गर्न जाँदा थाहा पाएकी थिइन् । श्रीमान्को मृत्यु दर्ता गरेर एकल महिलाको सामाजिक सुरक्षाको लागि नाम दर्ता गरेर फर्किंदै थिइन् । पछाडि अरूले बोलेको इन्द्रेणीले सुनिन् ।

‘हेर त फलानाकी विधवा, विचरी भाग्य नै खोटो रहेछ ।’

आफूलाई विधवा भनेको सुनेर इन्द्रेणीको आँखाबाट आँशु झरे । यो शब्द सुन्न पनि उनलाई असजिलो लाग्छ । तर सबैले उसलाई फलानाकी विधवा नै भन्न थालेका छन् । सुन्न चाहेको कुरा मात्रै सुन्न कहाँ पाइन्छ र यो संसारमा !

‘यो त फलानाकी विधवाको घर !’ झिसमिसेमा कसैले घरको करेसाबाट निस्किएको बाटोबाट गफ गरिरहेको आवाजले उनी ब्युँझिइन् । उठ्न धेरै ढिला भइसकेछ । कति धेरै धन्दा गर्नुछ । मुख्य कुरा बजारमा दूध  पुर्‍याउन ढिला भइसकेको छ

श्रीमान्को मृत्युपछि एक सन्तान, सासू–ससुरा र एक दुहुनो भैंसीको जिम्मेवारी इन्द्रेणीको काँधमा छ । इन्दे्रणीका ससुरा बेला–बेला भन्छन्, ‘नानी अरूले के भन्छ, त्यो नसोच हाम्रो लागि छोरा, बुहारी र हाम्रो भविष्य सबै तिमी नै हौ ।’

श्रीमान्को मृत्युपछि सासूससुरा र छोरालाई कुनै पनि कुराको कमी हुन दिएकी छैनन् । परिवारको लागि उनी नै सहारा हुन् । तर घरबाहिर निस्कने बित्तिकै उनी बूढापाकाका नजरमा अलल्छिनी, अशुभ र तन्नेरीहरूको नजरमा मजाक वा हाँसोमा उडाउने पात्र बन्न थालेकी छिन् ।

एकदिन बिहानै इन्द्रेणी दूध पुर्‍यायाउन जाँदै थिइन् । गाउँमा त्यो दिन कसैको बिहे थियो । इन्द्रेणी त्यही बिहे घरकै बाटो जानुपथ्र्यो । बिहेको तयारी गरिरहेकाहरूले गेट बनाउन केराका बोट काटेर बाटोमै राखेका थिए । इन्द्रेणी त्यहींनिरबाटै जाँदै गर्दा उनको शरीरले एउटा बोट छोयो ।

नजिकै भएका एकजनाले प्याच्च भनिहाले, ‘ल अशुभ हुन्छ, विधवाले छोएको बोटले गेट बनाउन मिल्दैन । अर्को बोट केराको ल्याऊ ।’ इन्द्रेणी त्यहाँबाट अगाडि बढिन् । उनले दूध बेच्ने होटलको बाहिर ६/७ जना महिला पुरुषहरू बसेका थिए । उनीहरू कतै यात्रा गर्न निस्केर चोकमा गाडी कुर्दै थिए शायद । होटलमा चिया खाने उनीहरूको तयारी थियो ।

इन्द्रेणीले होटलमा दूध दिएको देखेपछि उनीहरूले कालो चिया मात्र पिउने भने । ‘विधवा महिलाले ल्याएको दूधको चिया खाए यात्रा अशुभ हुन्छ’ यस्तै आशयको भनाइ उनको कानमा ठोक्कियो ।

घर फर्किंदा बाटो भरी उनले यही कुरा मनमा खेलाइरहिन् । सिन्दुर पोते र रङ्गीन कपडा नलगाउँदैमा म कसरी अशुभ, अपवित्र भए ? सेतो कपडा लगाएकै कारण उनीहरूले इन्द्रेणीको श्रीमान् बितेको बुझेको हुनुपर्छ । समाजले बनाएको नियमलाई अक्षरशः पालना गर्दा म किन अपवित्र र अशुभ भए ? प्रश्नहरूको जुलूस निस्किए ।

श्रीमान्को अन्तिम संस्कार र क्रिया गर्दा धार्मिक मान्यताबारे धेरै कुरा गरिएको थियो । अनेक कष्ट सहेर धर्मको पक्षमा लाग्नुपर्ने कुरा सिकाएका थिए । के यो धर्म अपवित्र र अशुभ बन्नको लागि मान्दैछु ? समाजले बनाएको नियमलाई तोडेर रङ्गीन कपडा लगाए के म भोलिदेखि फेरि पवित्र र शुभ बन्छु ? यी र यस्तै कुरा मनमा आएको उनको सिङ्गो रात विथोल्यो । राम्रोसँग निदाउन सकिनन् ।

बिहानै उठेर सेतो कपडा खोलेर आफ्नै पुरानो रङ्गीन रूपमा बाँच्न मन लागेको छ इन्द्रेणीलाई । सासू, ससुरा र बच्चाको अनुहार हेरेपछि बिहान उनका अघिल्ला दिनका योजनाहरू सबै अलप भए । घाममा शीतको अस्तित्व सकिएसँगै । उनले आफ्नो पीडालाई लुकाइन् सधैंजसो ।

सधैं झैं फेरि आफ्नो दिनचर्यामा फर्किइन् । उही पुरानै टीकाटिप्पणी नयाँ–नयाँ मानिसबाट सुन्दासुन्दा अब त उनलाई बानी नै परिसक्यो ।

कसैलाई पनि उनले गरिरहेको संघर्षमा चासो छैन । चासो छ त केवल उसको शरीरसँग । मानिसपिच्छेका फरक स्वार्थ छन् । इन्द्रेणी कोसँग हाँसेर बोली ? कोसँग हिंडी ? समाजले चलाएको संस्कारलाई मानिरहेकी छ वा छैन ?

तर इन्द्रेणीको मनमा विस्तारै विद्रोह जन्मिरहेको थियो । यस्तो संस्कार जसले विभेद र पीडा बाहेक केही दिंदैन, मैले यसलाई किन मानूँ ? कहिलेसम्म मानूँ ? उनलाई सेतो पहिरनसँग गुनासो छैन, तर समाजको दूषित सोचाइ र व्यवहारसँग गुनासोका पहाड उभिन थालेका छन् मनभित्र । कति सहने ? सहनुको हद हुन्छ होला नि ? उनी आफैंलाई प्रश्न गर्न थालेकी छिन् ।

म अपवित्र कि मलाई दूषित नजरले हेर्ने मानिसहरू अपवित्र हुन् ? विधवा महिलालाई चोकमा बसेर जिस्क्याउने सन्तान जन्माउने र हुर्काउने घर, परिवार र संस्कार अपवित्र कि कालगतिले श्रीमान् गुमाएकी महिला अपवित्र ? इन्द्रेणी यो सबैलाई परिवर्तन गर्न चाहन्छिन् । यो सबै असमानता र विभेद विरुद्ध संघर्ष गर्न चाहन्छिन् । साँझ ओछ्यानमा पुगेपछि विद्रोह हुर्कन्छ । बिहान घरधन्दामा लागेसँगै विद्रोह विलाउँछ । कमजोर हुन्छ ।

संघर्ष र रूपान्तरण विस्तारै छेपाराको उखान भइरहेको छ । कतै आफ्नो मनको भावना सुनाउँदा उनले कतैबाट सहयोग पाइनन् । उनको सबै उत्साहको विरुद्ध पूरै समाज एकजुट भएर लाग्छ ।

एकदिन उनले विद्रोहलाई कार्यरूप दिने आँट बटुलिन् । रंगीन कपडा फेरिन् । आफ्नो साक्षात इन्द्रेणी अवतार ऐनाको अगाडि उभ्याइन् । मनमनै जीवनको दोस्रो इनिङ सम्हाल्ने नायकबारे कल्पना गर्न थालिन् । हो, समाजमा यस्ता धेरै नायक छन् । समाज रूपान्तरणमा भूमिका खेलिरहेका । नायिका छन् । संघर्ष गरिरहेका ।

‘यो त फलानाकी विधवाको घर !’ झिसमिसेमा कसैले घरको करेसाबाट निस्किएको बाटोबाट गफ गरिरहेको आवाजले उनी ब्युँझिइन् । उठ्न धेरै ढिला भइसकेछ । कति धेरै धन्दा गर्नुछ । मुख्य कुरा बजारमा दूध पुर्‍यायाउन ढिला भइसकेको छ ।

यति धेरै काम बिथोल्ने सपनासँग उनलाई कति पनि रिस उठेन । अहा, कति रमाइलो सपना !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?