
३० पुस, काठमाडौं । प्रकाश सपूत अहिलेका व्यस्त कलाकारमध्ये एक हुन् । ‘बोल माया, गलबन्दी, दोहोरी ब्याटल, फुटेका चुरा, बरि लै, कुरा बुझ्नपर्छ’ उनका बहुचर्चित गीत हुन् । गायक, रचनाकार, संगीतकार, अभिनेता तथा निर्देशकको भूमिका निभाएर उनले आफ्नो बहुमुखी प्रतिभा देखाइसकेका छन् ।
केही चलचित्रमा अभिनय समेत गरिरहेका प्रकाश अहिले देश–विदेशमा आयोजना भइरहेका विभिन्न सांगीतिक कार्यक्रममा व्यस्त छन् । कार्यक्रमको सेड्युल लामो भएपनि कोरोना भाइरस संक्रमण फेरि तीव्र रुपमा फैलिएपछि यसमा केही ‘ब्रेक’ लगाउनुपर्ने देखिएको उनी बताउँछन् ।
उनै कलाकार प्रकाश सपूतको दिनचर्या कसरी बित्छ ? उनका रुचिहरु के के छन् ? परिवारलाई कसरी समय दिन्छन् ? लगायतका विषय उनकै शब्दमा–
उठेर तातोपानी पिउँछु
मेरो उठ्ने तालिका नियमित छैन । काठमाडौंमा भएको बेलामा बिहान ६ देखि ७ बजेभित्र उठिसक्छु भने बाहिर गएको बेला भन्न सकिँदैन । घरमा हुँदा छोरीले मलाई उठाउँछिन् । बिहान उठेर फ्रेस भएपछि तातोपानी तताएर खान्छु, कहिले हटलेमन बनाएर खान्छु । चिया–कफी खाने बानीलाई विस्तारै कम गर्दै लगेको छु ।
कहिले मर्निङ वाकमा निस्किन्छु भने कहिले घरमै भर्याङमा तलमाथि गर्छु । केही समयअघिसम्म जिम पनि जान्थें तर, अहिले गएको छैन । उठ्ने बित्तिकै फोन चलाएर ओछ्यानमा बस्ने बानी पनि थियो पहिला, अहिले भने यसलाई छाडेको छु ।
राति सुत्ने समय सामान्यतया १० बजेतिर हुन्छ । काठमाडौं बाहिर हुँदा यो नियमित नहुन सक्छ ।
मेरो खाना
घरमा हुँदा बिहानको खाना १० बजेसम्ममा खाइसक्छु । बाहिर रेकर्डिङ वा सूटिङमा हुँदा निश्चित हुँदैन । काठमाडौंमै छु भने बेलुका ८ बजेभित्र घर फर्किसकेको हुन्छु । बेलुकाको खाना पनि ९ बजेभित्र त आइसकेको हुन्छु ।
म घरकै खानाको पारखी हुँ । मलाई सबै हरियो तरकारीको स्वाद एउटै जस्तो लाग्छ छुट्याउनै सक्दिनँ । मलाई माछा–मासुमा लोकल कुखुराको झोल ज्यादै मन पर्छ । लोकल कुखुराको झोलसँग कोदोको ढिँडो अनि त्यसमा भाङको चट्नी मेरो अति नै मनपर्ने खाना हो । घरमा हुँदा एक–दुई दिनको फरकमा मासु र ढिँडो खाइन्छ । मलाई खानामा यो बिहान र बेलुका भन्ने नै हुँदैन ।
फुर्सद भयो र मुड चल्यो भने खाना पकाएर परिवारका सदस्यहरुलाई खुवाउँछु । मुड चल्दा दुई–तीनवटा आइटम खाना बनाएर खुवाउँछु । यस्तै खानाको प्लेट सजाउन पनि मलाई खुबै मन पर्छ ।

घरको काम मुडमा भर पर्छ
म अलि मुडी खालको मान्छे भएकाले घरको काम गर्न पनि मुड नै चल्नुपर्छ । जाँगर चल्यो भने मज्जाले सबै काम गर्छु भने चलेन भने केही पनि गर्दिन । छोरीलाई खाना खुवाउन, जुत्तामा ब्रस गर्न, कपाल कोरिदिन, लुगा लगाइदिन, स्कुल पुर्याउन मलाई धेरै मन पर्छ । बच्चाको सवालमा कुनै पनि कुरामा नो भन्न सक्दिन । तर यसका लागि समय भने त्यति मिल्दैन ।
सिर्जनाको समय
आज म गीत लेख्छु, यो दिनसम्म यतिवटा गीत बनाइसक्छु भन्ने हुँदैन । खाना खाँदा, यात्रा गर्दा, सुटिङ गर्दा वा जुनसुकै काम गर्दा किन नहोस्, दिमागले सिर्जनाको विषयमा सोचिरहेको हुन्छ । यस्तो बेला मेरो सिर्जना हुन्छ । त्यसैले संगीत सिर्जनाका लागि समय छुट्याएर बस्दिन । म एकदमै शान्त भएर काम गर्न रुचाउँछु ।
मेरो रुचि
संगीत कर्म बाहे मलाई चलचित्र हेर्न र पुस्तक पढ्नमा रुचि छ । चलचित्र छान्दा सामाजिक विषयमा आधारित भएर निर्माण गरिएका चलचित्रलाई प्राथमिकता दिन्छु । यो वर्षमा मेरा गीतका जतिवटा भाका थिए, त्यसलाई पूरा गरेर नयाँ वर्षमा आफैंले चलचित्र बनाउने योजना थियो । अब कोरोनाले पछि सर्ला जस्तो छ ।
स्टेज कार्यक्रममा धेरै जाने अवसर मिलिरहेकाले दर्शकसँग नजिकिने समय पनि मिलिरहेको छ । दर्शकसँग भलाकुसारी गर्न पाउँदा आनन्दित हुन्छु । स्टेजमा उहाँहरुलाई नचाउँदा मलाई छुट्टै ऊर्जा मिल्छ ।
प्रतिक्रिया 4