Comments Add Comment

११६ स्थानीय तह अझै बैंकविहीन

६ भदौ, काठमाडौं । सबै स्थानीय तहमा बैंक वाणिज्य बैंकको शाखा पुर्‍याउने लक्ष्य भेट्टाउन सरकार असफल भएको छ ।

सरकारले बजेटमा नै ७ सय ५३ वटै स्थानीय तहमा वाणिज्य बैंक पुर्‍याउने लक्ष्य लिएको थियो । त्यसअनुसार नेपाल राष्ट्र बैंकले देशमा सञ्चालित वाणिज्य बैंकहरुलाई आर्थिक वर्ष २०७४/७५ भित्रै स्थानीय तहमा शाखा खोल्न निर्देशन पनि दिएको थियो ।

यो समयसीमा कटेको एक महिना नाघिसक्यो । अझै ११६ वटा स्थानीय तहमा बैंक पुगेका छैनन् ।

मंगलबार अर्थ समितिमा गभर्नर चिरञ्जीवी नेपालले सबै स्थानीय तहमा बैंक पुर्‍य¥याउने लक्ष्य पुरा नभएको स्वीकार गरे । साथै चाडैं बैंकहरुलाई अर्को निर्देशन दिने बताए ।

कति पुग्यो बैंकका शाखा ?

राष्ट्र बैंकको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरुको शाखा सञ्जाल ६ हजार ६ सय ५१ वटा पुगेको छ । आर्थिक वर्ष २०७४/७५ को अन्त्यसम्म क, ख, ग र घ वर्गका बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या ६ हजार ६ सय ५१ वटा पुगेको हो ।

गत आर्थिक वर्षमा मात्र १ हजार ५८३ शाखा थपिएको छ । अघिल्लो आर्थिक वर्षसम्म जम्मा ५ हजार ६८ वटा मात्रै रहेको बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या एक वर्षको अवधिमा बढेर ६ हजार ६ सय ५१ पुगेको गभर्नर नेपालले जानकारी गराए ।

उनकाअनुसार ६ सय ३७ स्थानीय तहमा वाणिज्य बैंकको शाखा सञ्जाल पुगेको बताए । उनले १ सय १६ स्थानीय तहहरुमा वाणिज्य बैंकको शाखा विस्तार हुन बाँकी छ ।

कुन प्रदेशमा कति वाणिज्य बैंकका शाखा ?

सबैभन्दा धेरै स्थानीय तह प्रदेश १ मा रहेको भए पनि हालसम्म प्रदेश २ मा सबैभन्दा धेरै बैंकका शाखा विस्तार भएको छ । गभर्नर नेपालका अनुसार प्रदेश नम्बर २ मा रहेका १ सय ३६ स्थानीय तहहरु मध्ये १ सय २३ स्थानीय तहमा बैंकका शाखा पुगिसकेका छन् । यो प्रदेशका १२ स्थानीय तहमा भने हालसम्म वाणिज्य बैंकका शाखा पुग्न सकेका छैनन् ।

राष्ट्र बैंकको तथ्यांक अनुसार बैंकिङ शाखाका आधारमा प्रदेश नम्बर दोस्रो स्थानमा देखिएको छ । यस प्रदेशमा रहेका १ सय ३७ स्थानीय तहहरु मध्ये १ सय १५ स्थानीय तहमा बैंकले उपस्थिति जनाइसकेका छन् भने २२ स्थानीय तहहरुमा अझै बैंक पुग्न सकेका छैनन् ।

प्रदेश नम्बर ३ बैंकिङ शाखाका आधारमा पनि तेस्रो नम्बरमा नै देखिएको छ । यस प्रदेशमा रहेका १ सय १९ स्थानीय तहमध्ये १ सय ७ स्थानीय तहमा बैंकले उपस्थिति जनाएका छन् । प्रदेश नम्बर ३ का १२ स्थानीय तहहरुमा भने अझै वाणिज्य बैंकहरुले उपस्थिति जनाउन सकेका छैनन् ।

यसैगरी शाखा संख्याकै आधारमा प्रदेश नम्बर ५ चौथो नम्बरमा देखिएको छ । यस प्रदेशका १ सय ९ स्थानीय तहहरुमध्ये ९९ स्थानीय तहहरुमा वाणिज्य बैंकका शाखा स्थापना भइसकेका छन् भने १० स्थानीय तहहरुमा वाणिज्य बैंकले अझैं शाखा खोल्न सकेका छैनन् ।

गण्डकी प्रदेशमा रहेका ८५ स्थानीय तहमध्ये ७४ स्थानीय तहहरुमा वाणिज्य बैंकहरुले आफ्नो उपस्थिति देखाइसकेको छ । यस प्रदेशका ११ स्थानीय तहहरुमा भने अझै वाणिज्य बैंकका शाखा पुग्न सकेका छैनन् । बैंक शाखाका आधारमा गण्डकी प्रदेश पाँचाैं नम्बरमा छ ।

प्रदेश नम्बर ७ का ८८ स्थानीय तहहरुमध्ये ६३ तहहरुमा वाणिज्य बैंक पुगेका छन् । तर, यस प्रदेशका अझैं २५ स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुग्न सकेका छैनन् ।

कर्णाली प्रदेश भने बैंकका शाखा संख्याका आधारमा कमजोर देखिएको छ । यस प्रदेशका ७९ वटा स्थानीय तहहरुमध्ये ५६ वटा स्थानीय तहहरुमा मात्रै वाणिज्य बैंक पुगेका छन् । अझै यस प्रदेशका २३ स्थानीय तहहरुमा वाणिज्य बैंकहरुले आफ्नो उपस्थिति देखाउन सकेका छैनन् ।

कहिले पुग्ला बाँकी स्थानीय तहमा वाणिज्य बैंक ?

राष्ट्र बैंकले गत आर्थिक वर्षको अन्त्यमा नै सबै स्थानीय तहमा शाखा खोल्न वाणिज्य बैंकहरुलाई निर्देशन दिएको थियो । तर, राष्ट्र बैंकको निर्देशन कार्यान्वयन भने भएको छैन् ।

आफ्नो निर्णय कार्यान्वयन गराउन गम्भीर बन्नु पर्ने राष्ट्र बैंक यतिबेला चुपचाप बसेको छ । आफैंले तोकेको समयसीमा नाघिसक्दा समेत केही बोल्न नसकेको राष्ट्र बैंकसँग बाँकी तहहरुमा कहिले बैंक शाखा पुग्छन् भन्ने प्रश्नको उत्तर नै छैन ।

भौगोलिक विकटता र कतिपय स्थानीय तहहरुमा अत्यावश्यक भौतिक पूर्वाधार समेत नभएका कारण वाणिज्य बैंकहरुले तोकिएको समयमा शाखा खोल्न नसकेको राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेल बताउँछन् । भौतिक पूर्वाधार भए बैंकहरुले शाखा तत्कालै खोल्ने भन्दै उनले कहिलेसम्म सबै तहमा बैंक पुग्छन् भनेर यकिन गर्न नसकिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment