१ कात्तिक, यूएई । यूएईमा कार्यरत मोरङ बिराटचोकका फणिन्द्र रोशन ढकालले दशैँमा टिका नलगाएको दश वर्ष भयो । सन् २००६ मा युएई आएदेखि एकपटक घर गएका उनले दशैंको बेला कहिल्यै छुट्टि पाएनन् ।
उनी यूएई आएको पाँच वर्षपछि पहिलो पटक नेपाल फर्किएका थिए । दुई महिनाको छुट्टि लिएर नेपाल गए पनि त्यो दशैँको बेला थिएन ।
पारिवारिक जिम्मेवारी र देशको अवस्थाले गर्दा विदेशिनु परेको बताउँदै उनी भन्छन्, ‘एकातिर घरको तनाव अर्कोतिर कम्पनीको । समयमा घर जान सकिदैँनथ्यो । कहिलेकाहीँ कम्पनीले तलव समयमा दिदैँनथ्यो । कहिल्यै दशैँमा घर नआउँदा परिवार खिन्न हुन्छन् ।’
आजभोलि उनलाई यो पीडा आफ्नो मात्र लाग्दैन । फणिन्द्र भन्छन्, ‘दशैँमा खाली निधार बस्नु सबै परदेशी नेपालीहरुको पीडा हो ।परदेशीलाई दशैँ–तिहार नआएकै बेश ।’
युएईमा आफ्नै व्यवसाय र एनआरएनए लगायतका सामाजिक संस्थामा आवद्ध भएपछि फणिन्द्रको व्यस्तता बढेको छ । गत वर्षको दशैँमा टिकाको दिन आमासँग कुरा हुँदा अर्को वर्ष सँगै दशैँ मनाउने बताएका थिए। तर, कामको चापका कारण आमासँग गरेको बाचा अधुरै रहँदा उनको मन खिन्न भएको छ ।
यसैगरी, युएईमा सुरक्षागार्डमा कार्यरत झापा हल्दिबारीका गुरुप्रसाद रेग्मीले पनि दशैँमा आफन्तको हातको टिका नलगाएको दश वर्ष भयो । वाध्यात्मकरुपमा वैदेशिक रोजगारलाई अंगालेपछि चाडवाड सबै बिर्सनु परेको अनुभव उनीसँग छ ।
०४६ सालपछिका परिवर्तनका हरेक श्रृखंलामा उनी सहभागी बने । माओवादी जनयुद्धमा समेत होमिए । ६२–६३ सालको जनआन्दोलनमा सहभागी भए । देशमा राजनीतिक परिवर्तन आयो । तर जीवन चलाउन कुनै इलम भएन । त्यसपछि मलेशीयाबाट उनको वैदेशिक रोजगारको यात्रा सुरु भयो ।
रेग्मी भन्छन्, ‘ऋण तिर्दै, घरको अवश्यकता पुरा गर्दै जाँदा पाँच वर्ष लगातार मलेसियामा बित्यो । बिवाहपश्चात अझै अभाव र आवश्यकताले पुनः रोजगारीका लागि विदेशीन बाध्य भइयो । युएई आएपछि हरेक वर्ष विदामा घर जान्छु, तर, दशैँको संयोग पर्दैन ।’
परदेशमै इष्टमित्र र साथीभाईसँग चाडपर्व मनाउने उनको रहर छ । तर, अनुकुलता नपरेपछि आफ्ना इच्छा चाहना मनैमा दवाएर राख्नु पर्ने बाध्यताभित्र कैद छन् ।
यस्तै व्यथा छ केराबारी गाउँपालिका मोरङका प्रेम गौतमको पनि । आठ वर्षदेखि युएईमा रहँदै आएका उनी अहिले एक मार्केटमा स्टोर किपरको काम गर्दै आएका छन् । गौतमले पाँचवर्ष भयो दशैँ मनाउन नपाएको । चाडबाडमा बुबाआमा, श्रीमती र छोरीहरुकोे उनलाई याद धेरै आउँछ ।
उनले भने, ‘बुबाले कमाएर टार्ने समयमा दशैं रमाइलो लाग्थ्यो । तर, अहिले चाडवाड सुन्दै दिक्क लाग्छ ।’
सारा खर्च आफैले व्यवस्थापन गर्नुपर्ने जिम्मेवारी थपिएपछि आजभोली चाडपर्व नआए हुन्थ्यो भन्ने लाग्छ उनलाई । दशैँमा आफन्त र साथीभाईसँग भेटेर दुःखसुख साट्ने पल खुब सम्झन्छन् उनी ।
भन्छन्, ‘दशैँमा घर जान मन छ । तर, त्यही समयमा हवाइजहाजको टिकट महङ्गो हुन्छ । अनि घर खर्चको बोझ पनि हुन्छ । हामी जस्तो सानो कमाइ भएको मान्छेले सबै एकसाथ व्यवस्थापन गर्न गाह्रो हुँदो रहेछ ।’
प्रतिक्रिया 4