+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

बलात्कारका पछाडि के छ कारण ? छोटो लुगा ?

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक ९ गते १:३०

मुलुकी अपराध (संहिता) ऐन, ०७४ अनुसार कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि अठार बर्षभन्दा कम उमेरको कनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालबालिकालाई जबर्जस्ती करणी गरेको मानिनेछ भनी उल्लेख गरेको छ । यही जबर्जस्ती करणीलाई अहिलेको चल्तीको भाषामा बलात्कार भनिन्छ । जुन जघन्य महिला हिंसा हो ।

प्रथमतः महिला मानिस हो । मानिसले मानिस भएर बाँच्न पाउने अधिकार मानव अधिकार हो । जुन अन्यले पाएसरह महिलाले पनि पाउनु उनीहरुको अधिकार हो । महिला भएका कारण पाउने अधिकार, जुन महिलाको प्राकृतिक, सांस्कृतिक, राजनीतिक आदि अधिकारसँग जोडिएका हुन्छन्, ती पाउनु उसको अर्को अधिकार हो । यसका विरुद्धमा हुने सम्पूर्ण कृयाकलाप नै महिलाविरुद्धको हिंसा हो ।

नेपालमा हाल देखिएका श्रृखलावद्ध बलात्कार तथा अन्य महिला हिंसाका घटनालाई सतही रुममा मात्र हेरेर समस्याको चुरोमा पुग्न सकिँदैन । भनिन्छ, महिलाले छोटा लुगा लगाएर पुरुषमा यौन उत्तेजना बढेर यस्ता घटना बढेको ।

तर, यसो भन्नेले यो कुरा बुझ्नुपर्छ कि विज्ञानले प्रमाणित गरेको कुरा यौन उत्तेजना पुरुषमाभन्दा महिलामा बढी हुन्छ । अनि बलात्कारीचाहिँ पुरुष बढी कसरी ? आज छोटा लुगा लगाउनेभन्दा गोलीगाँठासम्म छोपेर लुगा लगाउने हजुरआमादेखि नातिनीसम्म बलात्कृत भएका छन् ।

त्यस्तै अर्को कुरा उठ्ने गर्छ, बलात्कारीलाई नपुंसक बनाएर बलात्कार घटाउने । तर, समस्या लिंगमा हैन, सोचमा छ । त्यस्तो सोचको बन्ध्याकरण गर्नुपर्छ ।

अब हामी यसरी जघन्य अपराधले हाम्रो देश आक्रान्त पारिरहेका बेला सतहीरुपमा नभई गम्भीररुपमा यस्ता घटनाको कारकतत्वका बारेमा चर्चा गरौं ।

बलात्कारका कारक तत्व

हाम्रो समाज सामान्यतया हिन्दु धर्म संस्कार संस्कृतिसँग गाँसिएर पूर्वीय दर्शनमा आधारित छ, जहाँ महिलालाई उच्च सम्मान दिएको पाइएता पनि सम्पूर्ण इज्जतको जिम्मा महिलाको मात्र हो भन्ने तवरले व्याख्या गरेको पाइन्छ । जहाँ सीताले मात्र पटक-पटक आफ्नो चरित्र शुद्ध प्रमाणित गर्न अग्निकुण्डमा हामफाल्नु पर्छ, तर राम र कृष्णले पर्दैन ।

यस्तै बौद्ध धर्ममा पनि बहुपति प्रथा तथा झुमा प्रथा परम्रागत रुममा कतै न कतै अझै पनि रहिरहेको छ । अरु धर्महरुमा पनि यौनलाई व्यभिचार भनी व्याख्या गर्ने तर छद्म रुपले यौन प्यास मेटाउन विभिन्न ताण्डव गर्ने प्रवृत्तिहरु प्ाटक-पटक बाहिर आइरहेका छन् । अनि कति पीडाहरुभित्र भित्रै गुम्सिरहेका छन् ।

महिलालाई मात्र नैतिकताको पाठ सिकाउने धर्मशास्त्र पुरुषलाई जन्मसिद्ध चरित्रवान बनाउन चुकेको त छैन ? यसले कतै न कतै मनोवैज्ञानिक रुपमा महिला हिंसा गर्न भूमिका खेलेको मान्न सकिन्छ । पुरुष चरित्रवान हुने हाम्रो सामाजिक सोचकै कारण बलात्कृत हुने भन्दा बलात्कार गर्ने बढी चोखो बनेको छ । समाजले बलात्कारीलाई जति छिटो समाजमा समायोजन हुन दिन्छ, बलात्कृतलाई समायोजन हैन तिरस्कार गर्छ ।

एउटी छोरीलाई पटक पटक नैतिकताको पाठ पढाउने घरले एउटा छोरालाई नैतिकता सिकाउँछ कि सिकाउँदैन ?

अनि आफ्नी छोरी यौन हिंसामा पर्छे कि भनेर चिन्ता लिने आमाबाबुले आफ्ना छोराले यौन हिंसा या बलात्कार गर्छ कि भनेर कति चिन्ता गर्ला रु यो कुनै अविभावकको चिन्ताको विषयभित्र पर्दैन । चरित्रवान छोरी खोज्ने आमाबाबुले किन चरित्रवान छोरो खोज्दैनन् रु समाजले जति छोरीको निगरानी गर्छ, त्यही दरले छोराको निगरानी गर्ने हो भने यौन हिंसाका घटनामा यसबाट धेरै हदसम्म कमी आउँछ ।

यसरी हेर्दा सामाजिक संरचनामा हामी कुन सभ्यतामा छौं, यसैले प्रस्ट पार्छ । समाजमा महिलाप्रति हेर्ने दृष्टिकोण नै खराब छ । महिलाका बारेमा सोच्नु या मूल्याङकन गर्नुपर्‍यो भने आम मानिसले म महिलाबाट जन्मिएको व्यक्ति हुँ भन्ने कुरा कहिल्यै सोच्दैन । महिला हाम्री आमा, हजुरआमा, दिदी, बहिनी, श्रीमती हुन् या सासू हुन् । अनि यस्तै-यस्तै अरु सबै साइनो सम्वन्धभित्रका यावत सम्वन्धहरु नै किन नहुन् ।

महिलाको मूल्यांंकन गर्दा परचक्रीका रुपमा हेरेर गरिन्छ । जसलाई आफू वा आफ्ना सन्तानले दुव्र्यवहारबाट जोगाउन सकियोस् । यो घातक मनोविज्ञानले पनि यस्ता घटना बढ्न मलजल गरिरहेको छ ।

गाडीको भिडभाडमा ठोक्किएको, चोक बजारमा आँखा झिम्क्याएकोदेखि लिएर लिभिङ टुगेदरमा बर्षौंदेखि रहेर अन्त्यमा बलात्कृत भएको, बैवाहिक बलात्कार, अनि बलात्कारपछि हत्या आदि सबै घटनालाई एकै टोकरीमा राखेर विषयको उठानमा तहल्का मच्चाइन्छ र बैठान सामान्य फितलो तरिकाले गरिन्छ । यसले गर्दा गम्भीर घटनाहरु पनि कालान्तरमा समान्यीकरण हुन्छन् । यसले समग्र महिला हिंसाका घटनालाई फितलो बनाइरहेको छ ।

निश्चित उमेर पुगेपछि पृथ्वीका अन्य जीवजन्तुजस्तै मानिसमा पनि यौन चाहाना बढ्ने अवस्थामा पुग्छ । यो स्वाभाविक प्राकृतिक कुरा हो । तर, यो विषयमा आवश्यक छलफल गर्ने स्थानमा घरपरिवार र समाज पुगेको छैन । र, विद्यालयमा पनि यस विषयमा खुल्लारुपले छलफल तथा अध्ययन अध्यापन हुँदैन । जसले गर्दा यौन मनोकांक्षाको सही रुपले व्यवस्थापन हुन पाउँदैन, यसले विष्फोटन ल्याउँछ र बलात्कार जस्ता घटना घटाउन प्रेरित गर्छ ।

हामीले विश्वका अपवादलाई छोडेर हेर्ने हो भने पितृसत्तालाई प्राकृतिकरुपमा स्वीकारिएको अवस्थाले प्रायशः धर्म, संस्कृति, संविधान, नियम कानुन, गीत-संगीत, साहित्य, सञ्चारक्षेत्र आदिमा यसको प्रभाव परेको देखिन्छ । कहीँ न कहीँ पितृसत्ताको वरिपरि विश्व घुमिरहेको भान हुन्छ । विश्वमा हरेक कुनामा स्त्री लिङ्गका चिन्हहरु जन्मन नपाई मर्ने गर्दछन् । विकसित भनिएका मुलुकमा यस्ता कृयाकलापले झनै प्रश्रय पाएको तथ्याङ्कले बताउँछ । यसको प्रभाव छिमेकी मुलुक भारत र क्रमशः नेपालमा पनि परिरहेको छ ।

यस्तै, विश्वमा प्रचलित केही धर्महरुमा महिला र पुरुषका मृत्युसंस्कारहरुमा पनि फरक पाइन्छन् । यी कुरालाई अर्को शब्दमा भन्नु पर्दा गर्भबाट शुरु हुने महिला हिंसाको श्रृंखला चिहानमा पुगेर पनि अन्त्य हँुदैन । यसले पनि महिला हिंसा र बलात्कारका घटना घटाउन नेपथ्यवाट कारक तत्वको रुममा भुमिका खेलेको मान्न सकिन्छ ।

आज विश्वभरिनै महिला हिंसा विभिन्न कारणले बढ्ने गरेको पाइन्छ । धेरैजसो महिलाहरु आर्थिक रुपमा परनिर्भर हुनु, महिलालाई समाजमा मनोरञ्जनको साधनका रुपमा लिइनु, अशोभनीय रुपमा विज्ञापनमा महिला प्रस्तुत हुनु, महिलामै हुने पुरुषवादी सोच, समान काममा पनि समान पारिश्रमिक नहुनु, महिलाहरु बिना ज्यालाका कामदारका रुपमा हुनु, महिलाहरुकै कतिपय चरित्रका कारण महिलाका मुद्दा कमजोर हुनु र केही महिलाले पाएका स्वतन्त्रताहरु दुरुपयोग गरी पुरुषलाई सास्ती दिएका प्रतिनिधि घटनाले अरु महिलाहरुको स्वतन्त्रता संकुचित भएर महिला हिंसा बढाउन प्रश्रय मिलेको पाइन्छ ।

यसैगरी, कतिपय अवस्थामा महिलामाथि भएका जघन्य घटनाहरु समेत गुपचुप पार्नु, अन्धविश्वास, कुसंस्कार, कुरीति, कानुनको अनभिज्ञता, कानुनका जटिल प्रकृया आदि कुराहरु बलात्कार तथा महिला हिंसा बढ्नुका कारक तत्वका रुपमा रहेको पाइन्छ ।

अनेकन समस्याका कारण शिक्षित, अर्ध शिक्षित, अशिक्षित सबै प्रकारका चेलीबेटीहरु दिनानुदिन बेचिएका छन् । बेचिएका धेरैजसो यौनजन्य भुवरीमा फस्न पुग्दछन् ।

अपराधलाई राजनीतीकरण गर्ने प्रवृत्तिका कारण पनि बलात्कारका घटनाका समस्या हट्न नसकेको तथ्यहरुले देखाउँछ । कुनै पनि राजनीतिक दलले हालसम्म यसका विरुद्धमा स्पस्ट राजनीतिक एजेण्डा प्रस्तुत गर्न सकेका छैनन् ।

हाम्रा समुदायमा देउकी, बादी, कम्लरी आदि प्रथा रहेको र जसले बलात्कारले प्रश्रय दिइरहेको कुरालाई नकार्न सकिदैन । नेपाली समाजमा महिला प्रतिको धारणा अझै पनि सकारात्मक हुन सकेको छैन, आदि पूर्वकालदेखि नै महिलालाई भोगविलास र मनोरञ्जनको साधनका रुपमा हेरिने दृष्टिकोण हाल झन् बढेको पाइन्छ ।

नेपालमा राज्यका महत्वपूर्ण स्थानमा महिला पुग्नु, राज्यका हरेक निकायमा ३३ प्रतिशत हिस्सा कायम हुनु नेपाली महिला आन्दोलनको महत्वपूर्ण उपलब्धी मान्नुपर्छ । तर, पनि समग्र महिलाहरुको अवस्था र दैनिकीमा भने तात्विक भिन्नता भएको अझै पनि पाइँदैन ।

नेपालमा दिनानुदिन महिला हिंसा बढेको देखिन्छ । चेलीबेटी बेचबिखन, बलात्कार, हत्याका घटनाहरु भइरहेका छन् । ‘विधवा’ र ‘बोक्सी’ का नाममा निमुखा महिलाहरुले अपहेलित हुनुपरेको छ, यहाँ दाइजो नल्याएको नाममा जिउँदै जलाइन्छन् महिलाहरु । पुरुषमात्र दर्शक, पाठक र स्रोता हुन जसरी सञ्चार सामाग्री बनाइन्छ, विज्ञापन बनाइन्छन् । यो महिलामाथि सकारात्मक रुपले गरिने नकारात्मक विभेद हो ।

कतिपय अवस्थामा महिला आफैले आफूहरुले पाएको अधिकारलाई दुरुपयोग गरेको कारणले गर्दा समाजमा जघन्य घटनाहरु पनि ओझेलमा परेका छन् । बलात्कारको घटनाका विषयमा छापा तथा श्रब्य दृश्य सामग्री प्रस्तुत गर्दा पीडितलाई अति लाचार र पीडकलाई कथित ‘शक्तिमान’का रुपमा दलवलका साथ प्रस्तुत गरिन्छ ।

जसले पिडित पक्षलाई झन पीडित बनाउने र पीडकको मनोवल बढेको पाइन्छ । विश्वमा नै आक्रामक रुममा बढिरहेको विभिन्न प्रकृति र स्वरुपका सामाजिक सञ्जालको बजार नेपालका कुना-कुनासम्म पुगेको छ जसको उपयोग सँगै दुरुपयोग पनि बढेको छ ।

जसले पनि नेपालमा बलात्कार तथा अन्य हिंसात्मक घटनाहरु बढ्नुमा कारक तत्वका रुपमा काम गरेको मान्न सकिन्छ । माथि उठाइएका विषयहरुका तत् पक्षको मिहीन तरिकाले अध्ययन गरेर सोहीबमोजिम सोही ठाउँवाट सुधार गरे मात्र दीर्घकालीन रुपमा बलात्कार तथा अन्य हिंसाका घटनाहरु न्यूनीकरण गर्न तथा रोक्न सकिन्छ ।

नेपालमा ऐन कानुनको खाँचो नभए पनि यसको कार्यान्वयन पक्ष सधैं फितलो रहने गरेको पाइन्छ । अत, समयसापेक्ष, एकीकृत र कठोर कानुन बनाई सशक्त रुपमा कार्यान्वयन गरी पीडित पक्षलाई न्याय र पीडक पक्षलाई सजाय दिएमा मानव सभ्यताप्रति नै हित हुन्छ । यसैमा छ- तपाईं मेरा आमा दिदीबहिनीको हित, जहाँ हाम्रो हित पनि सँगै जोडिएको छ ।

(इलाम निवासी अधिकारी अधिवक्ता हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?