Comments Add Comment

वामदेवलाई अर्को झड्का, प्राधिकरण गठन गरेर नेतृत्व दिन प्रधानमन्त्रीले मानेनन्

२८ कात्तिक, काठमाडौं । राजधानी काठमाडौंबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री दीर्घ सोडारी बर्खास्त भएकोदेखि फेसबुकमा स्ट्याटस लेख्दा सरकारले ११ निकायलाई स्पष्टीकरण बुझाउन लगाएकोसम्मका खबर लेखेका छन् ।

त्यसैगरी, नेकपा नेता वामदेव गौतमले राष्ट्रिय विकास प्राधिकरण गठन गरेर नेतृत्व दिन गरेको प्रस्ताव प्रधानमन्त्रीले अस्वीकार गरेको, पूर्वराष्ट्रसेवकले दोहोरो सुविधा लिएको, मुख्यमन्त्रीकै निवास शंकास्पद रहेकोलगायत खबर पनि आजका पत्रपत्रिकाको हेडलाइन बनेका छन् ।

नयाँ पत्रिका दैनिकले आज सांसद् बन्ने आवेगबाट फिर्ता भएका वामदेव गौतमले राष्ट्रिय विकास प्राधिकरण गठन गर्न र नेतृत्व आफूलाई दिन गरेको प्रस्ताव प्रधानमन्त्री केपी शर्मा ओलीले इन्कार गरेकोलाई  मुख्य समाचार बनाएको छ ।

नयाँ पत्रिका लेख्छ– गत संसदीय निर्वाचनमा बर्दियाबाट पराजित गौतम सक्रिय भूमिकामा फर्कन आतुर छन् । संसदमा जान उनले डोल्पा, बैतडी, दैलेख, बाँके, प्यूठान, नवलपरासीका सांसदलाई राजीनामा दिन आग्रह गरेका थिए । संसदको मार्ग लभगभ बन्द भएपछि गौतमले राष्ट्रिय पुनर्निर्माण गठनको नायँ पहल शुरु गरेका थिए । गौतमकै नेतृत्वमा लेखिएको चुनावी घोषणापत्रमा पनि त्यस्तो संयन्त्र गठन गर्ने उल्लेख छ । तर प्रधानमन्त्रीले उनको प्रस्ताव इन्कार गरेका छन् ।

रुष्ट गौतमले गैरनाफामूलक निजी कम्पनी खोलेर विकास अभियानको नेतृत्व गर्ने र सबैलाई चकित बनाउने दाबी गरेका छन् ।

गौतमले नयाँ पत्रिकासँग कम्पनीको तयारी भइरहेको जानकारी दिँदै डेढ दुई महिनामा सबै खुलस्त हुने बताएका छन् ।

यसैबीच, नयाँ पत्रिकाको यही समाचारभित्र २५ अर्बभन्दा माथिका आयोजनाको व्यवस्थापक निजामतीभन्दा बाहिरका र विदेशी पनि ल्याउन सकिने ऐन बन्न लागेको उल्लेख छ ।

सरकारले संविधान दिवसका दिन घोषणा गरेको मानपदवी, विभूषणलगायतका तक्माका लागि आवश्यक पर्ने हीरा, सुन र चाँदी किन्न मात्रै राज्यकोषबाट ९ करोड रुपैयाँ खर्च हुने भएको राजधानीमा खबर छ ।

गृह मन्त्रालयले यसका लागि राष्ट्र बैंक र निजी कम्पनीसँग हीरा, सुन र चाँदी किन्न प्रक्रिया अघि बढाएको समाचारमा उल्लेख छ । समाचार अनुसार हीरा, सुन र मीना जडित नेपाल रत्न तक्मा बनाउन मात्रै १३ लाख रुपैयाँ पर्छ । यो आठकोणको मणिबाट बनेको हुन्छ ।

देशका थप २५ स्थानमा केवलकार प्रस्ताव गरिएकोलाई राजधानीले एंकर बनाएको छ । समाचार अनुसार कार्यविधि नबन्दा यसको निर्माण अन्योलमा परेको छ ।

अन्नपूर्णले आज ‘मुख्यमन्त्रीको शंकास्पद निवास’ शीर्षक दिएर मुख्य समाचार छापेको छ । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल बस्दै आएको सरकारी निवासबारे अन्नपूर्णले समाचार लेखेको हो ।

अन्नपूर्ण लेख्छ– मुख्यमन्त्री डोरमणि पौडेल प्रदेश ३ को राजधानी हेटौंडामा सरकारी निवासमा बस्छन् । संघीय राजधानी काठमाडौंमा उनकै लागि अर्को निवास छ । त्यो पनि सरकारी । त्यसको रंगरोगन र सजावत भने एउटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले गरिदिएको छ ।

समाचार अनुसार त्यही आईएनजीओ एसिया फाउन्डेसनको सहयोगमा उनी प्रदेशको १५ वर्षे आवधिक योजना उक्त घरबाट बनाउन लगाइरहेका छन् । ३ तले घरको बीचको तल्लामा प्रदेशको नीति तथा योजना आयोगका प्राविधिक त्यो काम गर्छन् ।

अन्नपूर्णकै पहिलो पृष्ठमा महाकविका नाममा १७ सय रुपैयाँ बिजुली बक्यौता रहेको समाचारसँर्गै इ पासपोर्ट जारी गर्ने प्रक्रिया अघि बढेको समाचार छ ।

कान्तिपुरले फेसबुकमा स्ट्याटस लेख्दा ११ निकायलाई स्पष्टीकरण सोधिएकोसम्बन्धी समाचार छ ।

कर्मचारी सरुवालगायत विषयमा स्ट्याटस लेखेपछि शिक्षा मन्त्रालयका सचिव खगराज बरालले उपसचिव ईश्वरी पोखरेललाई स्पष्टीकरण सोधेका हुन् । उनले स्पष्टीकरणको जवाफ प्रधानमन्त्री, शिक्षामन्त्रीलगायत सरकारका विभिन्न ११ निकायलाई पठाएका छन् ।

टीका लगाएर विवाद मिलाइने गोरखा चुमनुव्री गाउँपालिका ६ चुम्चेतको चलनबारे कान्तिपुरले एंकर समाचार छापेको छ ।

नागरिकले संघीयतासँगै भीआईपी थपिएपछि सुरक्षाकर्मी तेब्बर बढी खटाउनुपर्ने भएको लेखेको छ भने गोरखापत्रमा राप्रपा एकता प्रक्रिया भाँडिनुको विश्लेषण छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment