Comments Add Comment

अमेरिकामा किन मनाइन्छ धन्यवाद दिवस ?

अमेरिकामा राष्ट्रिय पर्वका रूपमा थ्याङ्स गिभिङ अर्थात् सौहार्दपूर्ण धन्यवाद दिने परम्परा छ । अमेरिकाका पूर्वी तथा उत्तरी राज्यहरुमा यस वर्षको उत्तरार्द्घमा देखा परेको पहिलो हिउँको तुषारोलाई न्यानो बनाउन हरेक वर्ष यहाँ नोभेम्बर महिनाको चौथो बिहीबारका दिनलाई थ्याङ्स गिभिङ पर्वका रुपमा मनाउने प्रचलन छ ।

बिहीबारपछिको दिन अर्थात् कालो शुक्रबार (ब्ल्याक फ्राइडे) पनि यसै पर्वसँग गाँसिएको हुनाले व्यावसायिक र व्यापारिक क्षेत्रमा यसलाई ठूलो महत्वका रुपमा हेरिने गरिन्छ । यस दिन दशौं गुणाले व्यापार हुने भएकाले अमेरिकाका ठूल्ठूला व्यापारिक संस्थानहरु मेसी, अमेजन, वालमार्ट, गु्रपोन, टार्गेटलगायत एक सयभन्दा बढी स्टोर र अनलाइन सेवा प्रदायक व्यापारिक प्रतिष्ठानहरु यो हप्ता २४औं घण्टा व्यस्त रहनेछन् ।

अमेरिकामा दैनिक कार्य सेवामा व्यस्त ९८ प्रतिशत नागरिक घण्टा वा हप्ताको तलबमा निर्भर रहन्छन् । विकेण्ड अर्थात् शनिबार र आइतबारसँग जोडिएर आउने यो पर्व लगातार चार दिन सरकारी बिदा पाउने मनुवालाई त नेपालको दशैंसरह नै हुनेछ ।

हुन त निश्चित चार दिन लगातार बिदा पाउने र मनाउने व्यक्ति वा परिवारलाई वर्षमा एक पटक आफन्त, नातागोता तथा मूल घरपरिवार भेटघाट हुने तथा एकअर्कामा खुसी, प्रगति साट्ने राम्रो दिनका रुपमा लिन सकिन्छ । ३० प्रतिशतको हाराहारीमा रहेका करिब ६५ वर्ष उमेर नाघेका अर्थात् रिटायर्ड जिन्दगी बिताएकाहरु ५० वटा राज्यमध्ये कहीँ पनि रहेका आफ्ना सन्ततीहरुलाई वर्षौंपछि भेट हुन पाउने खुसीको क्षण हुने भएकाले दिन गन्ती गरेर बस्ने गर्दछन् ।

यसबाहेक होटल, रेष्टुरेन्ट, सार्वजनिक यातायात तथा दैनिक दिवा र रात्रि सेवा जस्ता अत्यावश्यक सेवामा रहेका कर्मचारीहरुलाई भने बिदा नहुने वा नपाउने कारणले ‘कागलाई बेल पाक्यो, हर्ष न बिस्मात’ साबित हुने गरेका छन् । यो समयमा व्यापार अत्यधिक हुने भएकाले मालिक मालामाल भए पनि काम गर्ने कर्मचारी भने खुसी हुन सक्दैनन्, यो उनीहरुको बाध्यता हो ।

भनिन्छ अमेरिका आप्रवासीको मुलुक हो । यहाँ विभिन्न भाषाभाषी, वर्ग, समुदायका मानिसहरु बसोवास गर्छन् । संयुक्त राज्य अमेरिकामा यहाँका स्थानीय जाति अर्थात् नेटिभ अमेरिकनहरुपछि कोलम्बसले पत्ता लगाउँदा रेड इन्डियन नामकरण गरेको विभिन्न दस्तावेजहरुमा उल्लेख भएका पाइन्छन् ।

लेखक

अमेरिका पत्ता लागेपछि यूरोप र आसपासका मानिसहरुको आगमन अमेरिकामा बढ्न थाल्यो । उनीहरुले नौलो परिवेशमा बाँच्नका लागि के खाने र कसरी बस्ने भन्ने कुरा नेटिभ अमेरिकनहरुसँग सिक्न र जान्न थाले । सभ्यताका धनी यरोपियनहरु यहाँका नेटिभ अमेरिकनहरुले पु¥याएको सहयोगलाई नयाँ सिजनको फसल (बाली) काट्न शुरु गर्ने दिनलाई तोकेर नेटिभ अमेरिकनहरुलाई दिइएको ‘धन्यवाद’स्वरुप हार्दिक सौहार्दता प्रदान गर्ने परिपाटीलाई नै थ्याङ्स गिभिङ पर्व मानिन्छ । एक सिजनबाट अर्को सिजनमा प्रवेश गर्ने समय र उक्त समयमा बाली पाकेर काट्न शुरु हुने दिन नै पारम्परिकरुपमा प्रचलन बढ्दै गयो र कालान्तरमा यसले निरन्तरता पायो ।

अमेरिकी इतिहासमा सन् १६२१ मा आप्रवासीका तर्फबाट प्लेमाउथ कोलोनिष्ट र नेटिभ अमेरिकनका तर्फबाट वाम्पानोएग जातिहरु करिब दुवै पक्षका १ सय ४३ जना प्लेमाउथ (हाल म्यासाचुसेट राज्य) भन्ने ठाउँमा भेला भई पहिलो बाली भित्र्याउने दिन पारी एकआपसमा सौहार्दपूर्ण वातावरणमा धन्यवाद ज्ञापन गरेको पहिलो यही पार्टीलाई सर्वप्रथम थ्याङ्स गिभिङको सेलिब्रेसन भएको मानिन्छ ।

तर, त्यसपछिका कति वर्ष यो पर्व मनाइए वा कतिपय ठाउँहरुमा मनाइएनन्, यसको कुनै वास्तविक लेखाजोखा छैनन् । सन् १७८९ मा जर्ज वासिङ्टनले आफ्नो जनप्रतिनिधि (कंग्रेस)मा प्रस्तुत गर्दै यो पारम्परिक पर्वलाई राष्ट्रिय पर्वका रुपमा लिइनुपर्ने भनी पेश गरेका थिए । त्यसबेला राष्ट्रपति थोमर जफर्सनले यो पर्व सामान्य परिपाटी मात्रै रहेको जिकिर गरेका थिए ।

अमेरिकाको जननी मानिने अब्राह्म लिंकनको पालामा मुलुक सिभिल वारमा भएको समयमा सन् १८६३ मा यसलाई राष्ट्रिय पर्वका रुपमा घोषणा गरिएको थियो । करिब २ सय ४२ वर्षपछि पनि अमेरिकामा यस राष्ट्रिय पर्वको महत्व अझ बढ्दै गएको छ ।

विशेषतः पोलेको (रोस्ट) टर्की, उसिनेको आलु र मकैबिनाको थ्याङ्स गिभिङको कुनै पनि रात्रिभोजको अर्थ हुँदैन । मांसाहारी सभ्यताको विकास भएर नै होला यो पर्वमा विशेष खाना र परिकारलाई महत्व दिइएको हुन्छ । त्यसैले पनि भोलिपल्ट भेटिएका अमेरिकनहरु हिजोको खाना र बिताएका पलहरु सम्झने गर्दछन् । म अमेरिका आएको पहिलो दुई वर्ष एउटा अमेरिकन कम्पनीले आफ्ना कर्मचारीहरुलाई एक–एक वटा टर्की उपहार दिएका थिए । करिब १४ केजीको टर्की बोकेर कर्मचारीहरु हिउँमा लड्दैपड्दै घर गएको घटना त्यसबेला मेरो लागि नौलो थियो ।

यो पनि पढ्नुहोस अमेरिकामा नेपालीहरूले मनाए धन्यवाद दिवस

नेपालमा असार १५ गते अर्थात् पहिलो बाली लगाउने दिन दही–चिउरा खाने परम्परा जस्तै अमेरिकामा पनि पहिलो बाली काट्ने परम्पराका रुपमा ‘थ्याङ्स गिभिङ’ मनाइँदै आएको छ । विश्वका अन्य देशमा पनि यस्तो प्रचलन रहेको पाइन्छ । क्यानडामा पनि अक्टोबरको दोस्रो सोमबारका दिन अर्थात् गत अक्टोबर १३ तारिख यस पर्व मनाइसकिएको छ ।

क्यानडामा चिसो मौसम केही अगाडि नै शुरु हुने र बाली भित्र्याउने समय पनि अघि सर्ने भएकाले यसो भएको हो । त्यस्तै, चीनमा पनि लुना क्यालेन्डरको दसौं महिनाको १५औं दिनलाई नयाँ बाली भित्र्याउने पर्वका रुपमा मनाउने प्रचलन छ । विशेषतः अमेरिका र क्यानडामा प्रचलनमा रहेको यस पर्व क्यारेबियन आइल्याण्ड, लाइबेरिया हुँदै जर्मन र जापानमा पनि मनाउने प्रचलन रहेको छ । देखासिखीका कारणले अन्य मुलुकहरुमा पनि यो पर्व मनाउने गर्छन् ।

हाल न्यूजर्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment