अहिले धेरैलाई तनाव छ । चिन्ता छ । व्यस्त दैनिकी, बढ्दो महंगी, सुविधाभोगी जीवन, प्रतिस्पर्धाको भावना, महत्वकांक्षा जस्ता थुप्रै कारणले मानिसलाई स्थिर रहन दिएको छैन । त्यही अस्थिरताले मानसिक तनाव पैदा गरिरहेको छ ।
तनावको कारण के हो ? किन भइरहेको छ ? कसरी भइरहेको छ ? यसबारे हामी चनाखो रहनुपर्ने बेला भइसकेको छ । किनभने अहिले डिप्रेसनजस्ता जटिल समस्याले धेरैलाई गाँजसिकेको छ । यो चरणमा पुग्नु भनेको मानसिक हिसाबले नाजुक अवस्थामा पुग्नु हो । यसअघि नै हामीले उचित निदान खोज्नुपर्छ ।
खासमा हामी किन मानसिक रोगी हुँदैछौं भन्ने कुरा आज आएर वा हठात मात्र भएको छैन । हाम्रो हुर्काई, बढाई आदिसँगै तनावको ग्राफ उक्लिदै आएको पाइन्छ ।
अहिले हाम्रा बालबालिका मानसिक समस्यामा फस्दैछन् । उनीहरु अनेक किसिमको बोझ र तनावले थिचिदैछन् । यस्तो अवस्थामा बालबालिकालाई कसरी तनावमुक्त राख्ने भन्ने मात्र होइन, उनीहरुको समस्या कहाँबाट कसरी सुरु भइरहेको छ भन्ने कुरा पनि बुझ्न जरुरी छ ।
किनभने बालबालिका हुर्काउने, पढाउने क्रममा हामीले केही गल्ती दोहोर्याइरहेका छौं, जसले उनीहरुलाई मानसिक रोगी बनाइरहेको छ ।
१. बच्चाको हुर्काई
बालबालिकाको पहिलो पाठशाला भनेकै घर हो । परिवार हो । घर-परिवारबाट उनीहरु जीवनोपयोगी ज्ञान आर्जन गर्छन् ।
यसबाट के बुझ्नुपर्छ भने, घरको वातावरणले उनीहरुको मानसिक विकासमा खास प्रभाव पार्छ । घर कस्तो छ ? परिवार कस्ता छन् ? वातावरण कस्तो छ ? यावत कुरासँग बालबालिकाको मानसिकता जोडिन्छ ।
यदि घरमा राम्रो संस्कार छ, बालमैत्री छ भने बच्चाको विकास समुचित ढंगले हुन्छ । तर, घरमा कलह हुन्छ, झैझगडा हुन्छ, विभिन्न किसिमको अभावहरु हुन्छ भने बच्चाको मानसिकतालाई त्यसले विक्षिप्त बनाउँदै लान्छ । र, यस्तो अवस्था पनि आउँछ कि बच्चा घरकै कारण मानसिक रुपले कमजोर, असक्षम हुन्छ ।
उनीहरुमा ग्लानीभाव पैदा हुन्छ । हिनताबोध पैदा हुन्छ
घरमा बच्चालाई कसरी हुर्काइएको छ ? उनीहरुसँग अभिभावकले कति समय व्यतित गरेका छन् ? बालबालिकासँग घरमा कस्तो व्यवहार गरिन्छ ? इत्यादि कुराले पनि उनीहरुको मानसिक विकासमा ठोस भूमिका खेल्छ ।
पछिल्लो समय बालबालिकाको संरक्षणमा अभिभावकले बेेवास्ता गरिरहेको जस्तो देखिन्छ । बालबालिकालाई कम समय दिने, घरमा छाडेर वाहिर जाने, बालबालिकालाई एक्लै घर कुर्न लगाउने जस्ता गतिविधिले उनीहरु मानसिक बोझ बोक्न बाध्य भइरहेका छन् ।
२. विद्यालयको वातावरण
हामी विद्यालयमा छोराछोरीलाई पठाउँछौं, शिक्षा आर्जन होस् भनेर । केही नयाँ कुरा सिकोस् भनेर । जान्ने, बुझ्ने होस् भनेर । तर, विद्यालय पठाउँदैमा बच्चाले यावत् कुरा आर्जन गर्छन् त ?
हामी अभिभावक के ठान्छौं भने, विद्यालयमा भर्ना गराइदिएपछि, कक्षा कोठासम्म पुर्याइदिएपछि, शिक्षक/शिक्षिकाको जिम्मा लगाइदिएपछि बच्चाले ज्ञानज्ञुनका कुरा सिक्छन् । जान्ने हुन्छन् । परिपक्क हुन्छन् ।
तर, हेक्का राख्नुपर्ने कुरा त के भने विद्यालयको वातावरण कस्तो छ ? शिक्षक/शिक्षिकाको व्यवहार कस्तो छ ? सहपाठी कस्ता छन् ? भन्ने कुराले बच्चाको सिकाइमा प्रत्यक्ष प्रभाव पार्छ ।
अहिले धेरैजसो विद्यालय व्यवसायिक हिसाबले सञ्चालन गरिएको छ । विद्यालयलाई कमाउने माध्यम बनाइएको छ । यसरी शिक्षालाई कमाउ धन्दा बनाउँने क्रमसँगै कक्षा कोठाको वातावरण कठोर हुँदै गएको छ । विद्यार्थीलाई जसरी पनि पाठ घोकाउने, उत्तिर्ण गराउने चक्करमा उनीहरुलाई अनावश्यक यातना दिइन्छ ।
जब बालबच्चाले राम्ररी पढ्न जान्दैनन्, भनेको कुरा सहजै बुझ्दैनन्, तब उनीहरुलाई थर्काउने, कुट्ने गरिन्छ । यसरी बच्चालाई दिइने मानसिक यातना भयानक हुन्छ । यसले उनीहरुलाई डिप्रेसनको अवस्थामा पुर्याउन सक्छ ।
अर्कोतिर अहिले हाम्रो पाठ्यक्रम पनि बाल मनोविज्ञान अनुरुप छैन । यसरी जस्तोपनि पाठ, विषय पढाइरहँदा त्यसले बच्चाको मानसिकतामा कस्तो प्रभाव पार्छ भनेर पनि ख्याल राख्नुपर्ने हुन्छ ।
३. खानपान
यो कुरा चाहि आमाबुवाले ध्यानमा राख्नुपर्छ । किनभने अहिले सजिलोको लागि बच्चालाई बजारको खानेकुरा ख्वाइन्छ । फास्टफुडमा अभ्यस्त गराइन्छ । घरमा पोषणयुक्त खानेकुरा दिनुपर्छ भन्ने हेक्का राखिदैन ।
जबकी खानेकुरा पनि मानसिक समस्याको कारण बन्न सक्छ ।
खासगरी पाँच वर्षसम्म बच्चाको शारीरिक र मानसिक अवस्था निकै तीब्र गतिमा विकास हुने गर्छ ।
यो अवधीमा शरीरलाई आवश्यकताअनुसारको पोषण नपुग्दा मानसिक स्वास्थ्यमा निकै ठूलो असर पुर्याउने गर्छ । यस्तो अवस्थामा पोषण र खानामा विशेष ख्याल राख्नुपर्ने हुन्छ ।
त्यतिमात्र नभएर ओछ्यान पनि सुरक्षित हुन आवश्यक छ । यस्तो अवस्थाामा नपुगेको पोषणले मानिसलाई डरको भावना हुने, आत्मविश्वासमा कमी आउने, कुपोषणजस्ता समस्याले गाँज्ने गर्छ ।
४. यौन दुर्व्यवहार
यौन दुव्र्यवहारले मानसिकतामा निकै ठूलो आघात पुग्छ । यस्तो दुव्र्यवहारले मान्यदेखि एन्जाइटि, डिप्रेशनसम्मको अवस्था निम्त्याउने गर्छ । यौन दुव्र्यवहार गर्ने लिंगीप्रति विश्वास घट्ने, डर हुने, जहिले पनि असुरक्षा महसुष हुने समस्या हुन्छ । यसले पछिसम्म पनि असर पुर्याउँने गर्छ ।
५. मदिरा सेवन
मानसिक स्वास्थ्यमा असर पार्ने अर्को समस्या भनेको मदिरा हो । मदिराको अत्याधिक सेवनले मानसिक स्वास्थ्यमा नकरात्मक असर पारिरहेको हुन्छ ।
यसमा भएका कतिपय नशालु पदार्थले मस्तिष्कलाई पनि बोधो बनाउँछ । मदिरा सेवनका कारण पारिवारिक संरक्षण र वातावरणमा नराम्रा असर पुर्याईरहेको हुन्छ ।
जसले मदिरा सेवन गर्छ, उनीहरु त मानसिक रोगी बन्छ नै , त्यसको साइड इफेक्ट चाहि घरपरिवार, खासगरी बालबालिकामाथि पर्न जान्छ । बुवाआमा मदिरपान गर्छ भने त्यसले बच्चाको मानसिकतामा गंभीर आघात पुग्छ
के हुन्छ असर ?
यसरी मानसिकतामा पर्ने असरले सामान्य तथा गम्भीर अवस्था ल्याउने गर्छ । जस्तो कि, दूर्व्यसनमा फस्ने, असाजमाजिक हुने, आत्ममनोबल कमजोर हुने, हिनताबोध गर्ने जस्ता समस्या पैदा हुने गर्छ ।
यस्तो असर जीवनमा पाउने सफलतामा पनि चुक्ने समस्या हुन्छ । त्यति मात्र नभएर अत्याधिक डराउने, कडा खालको डिप्रेसन जस्ता समस्या पनि निम्तने गर्छ ।
प्रतिक्रिया 4