Comments Add Comment

लिःल ल्होसार मनाउँदै प्रचण्डले भने : घलेमाथि अन्याय भएको रहेछ

१ माघ, धादिङ । सत्तारुढ नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आदिवासी जनजाति घले समुदायमाथि अन्याय भएको भन्दै आदिवासी जनजातिमा सूचिकृत गर्न आफूले पहल गर्ने बताएका छन् ।

घले समुदायको लिःल ल्होसार कार्यक्रमलाई मंगलबार धादिङबेसीमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आदिवासी जनजातिको सूचीकरण गर्दा घले समुदायमाथि अन्याय भएको बताए । उनले घलेहरुको माग पूरा गराउन आफूले पहल गर्ने समेत आश्वासन दिए ।

देशभरीका घलेहरु सहभागी कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने ‘तपाईहरुको कुरा सुन्दा घले समुदायमाथि साँच्चिकै अन्याय भएको रहेछ । घलेको पहिचान मेटाउने प्रयास भएकोमा दुःख लागेको छ । कुरालाई म पार्टी, सरकार र संसदमा लगेर सूचीकरण गराउछु । जनजाति महासंघले पनि घलेमाथि अन्याय गरेको देखियो ।’

आदिवासी घले समुदायलाई महासंघले मान्यता दिएको छैन । स्थानीय तहको चुनावमा भने ऐन बनाएरै घलेलाई अल्पसंख्यकको मान्यता दिइएको थियो । घले समुदायले आफ्नो पर्व लिःल ल्होसारलाई राष्ट्रिय पर्वको मान्यता दिनुपर्ने सो अवसरमा बताए ।

कार्यक्रममा लिःल फङका अध्यक्ष दिनेश घलेले घलेहरुमाथि भएको अन्याय र पहिचान मेटाउने प्रक्रियाको बारेमा जानकारी गराएका थिए । घलेहरुको पर्वलाई मान्यता दिनुपर्ने माग उनले गरेका थिए ।

देशभरका घलेहरु लिःल ल्होसार मनाउन धादिङ बेसीमा जम्मा भएका छन् । घले समुदायमाथिको अन्यायको आवास सुनाउन सत्तारुढ दलका अध्यक्ष प्रचण्डलाई प्रमुख अतिथी बनाएर बोलाइएको लिःल फङ्की सदस्य शारदा घलेले बताइन् ।

०७५ सालको लिःल ल्होस खिल्हो (कुकुर वर्ग)लाई विदाइ गर्दै फाल्हो (मृग वर्ग)लाई स्वागत गरेर मनाइएको छ । सो अवसरमा घले समुदायले आफ्नो सांस्कृति परिहन सहित झाँकीहरु प्रदर्शन गरेका थिए । धादिङ घले समुदायका ठूलो बसोबास रहेको जिल्ला हो ।

पुराना शासक घले हुन्

घलेहरुका पूर्खाले शाह राजाविरुद्ध १ सय ८५ वर्ष युद्ध लडे । लिगलिगको दौडमा पराजित भएपछि घलेहरुलाई नरभूपाल शाहले नै ताम्रपत्र गरेर दिएका अभिलेख अहिलेपनि लिःल फङमा सुरक्षित छन् । अन्तिम घले राजालाई षड्यन्त्रपूर्वक मारिएको गोरखाको निमेल खोलाको पानी अझै पनि घलेहरुले पिउदैनन् ।

नेपालमा आदिवासी जनजाति उत्थान प्रतिष्ठान गठन भएपछि विभिन्न आदिवासी जनजातिहरु सूचिकृत हुने क्रममा घलेहरुलाई छुटाइएको अध्यक्ष दिनेश घलेको दावी छ ।

‘हामीलाई कतै तामाङकरण गरियो, कतै मगरकरण गरियो, कतै गुरुङकरण गरियो’ लिःल फङका अध्यक्ष घलेले भने ‘हाम्रो पहिचान मेटाउन पहिचानवादी भनिएकाहरुनै एकजुट भए ।’

घलेलाई गुरुङनै भनेर धेरैले बुझे पनि आफूहरु गुरुङ नभएको शारदा घलेले बताइन् । घलेहरुको बसोबास पूर्वको संखुवासभादेखि पश्चिम बाग्लुङसम्म २५ जिल्लामा रहेको छ ।

नेपालको इतिहासमा शाह र मल्ल वंशअघिनै घलेहरुले रसुवा, नुवाकोट, धादिङ, गोरखा, लम्जुङ क्षेत्रमा राज्य गरेको पाइन्छ । पृथ्वीनारायण शाहका अग्रज द्रव्य शाहले लिगलिगे दौडमा षड्यन्त्रपूर्वक जितेर घले राज्य खोसिएको इतिहास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment