+
+

कृषकको पीडा- कमाउन होइन, खेत खाली गर्न तरकारी बेच्छौं

रोयल आचार्य रोयल आचार्य
२०७५ माघ २० गते १८:४३

२० माघ, काठमाडौं । नेपाललाई अहिले पनि कृषिप्रधान मुलुक भन्ने गरिन्छ । तर, कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान निरन्तर खस्किरहेको छ भने कृषिजन्य उत्पादनहरु नै विदेशबाट आयात गर्नुपर्ने स्थिति छ ।

भारतीय बजारबाट भित्रिएको तरकारी हाम्रो भान्सामा पुगिरहेका छन् भने नेपाली कृषकले उत्पादन गरेको कृषि उपजले बजार पाएका छैनन् । हाम्रा कृषकले कहिले गोलभेडा सडकमा मिल्काएको त कहिले काउलीबारीमा डोजर लगाएको समाचारहरु सञ्चारमाध्ममा आउँछन् । तर, सरोकारवाला निकायले भने अझै पनि त्यति चासो देखाएको देखिदैन ।

गत शुक्रबार बिहान सुनसरीको सदरमुकाम इनरुवामा रहेका गुद्री बजार पुग्दा किसानका धेरै थरीका पीडा सुनियो । उनीहरुले कयौं विगाहामा रोपेको तरकारी नाफा कमाउनभन्दा पनि खेत खाली गर्न बेच्नु परेको सुनाए ।

सुनसरीकै भोक्राहामा तरकारी खेति गर्ने चन्द्रकिशोर राजबंशीले भने, ‘तरकारी बेचेर नाफा हुने देखिएन । तर, खेतमै कुहाउनुभन्दा ५ रुपैयाँ किलोमै काउली बेचिरहेको छु ।’

राजबंशीमात्रै होइन इनरुवाको गुद्री बजारमा भेटिएका सबै तरकारी व्यापारीको पीडा उस्तै छ । गुद्री बजारमा व्यापारीहरु ३ प्रकारका थिए । कोही आफै उत्पादन गरेर बजारसम्म ल्याएर बेच्ने त कोही किसानकोमा गएर किनेर ल्याएर बेच्ने । तेस्रोथरी चाहिँ आफू पनि उत्पादन गर्ने र आफूले उत्पादन गरेको तरकारीसँगै अरु तरकारीसमेत किनेर ल्याएर बेच्ने ।

गुद्री बजारमा पुग्दा काउली कतै ५ रुपैयाँ किलो त कतै ६ रुपैयाँ किलो थियो । इनरुवाको मूख्य चोकमा ७ रुपैयाँसम्म पर्ने काउली गुद्री बजारसम्म पुग्दा प्रतिकिलो ५ रुपैयाँमा नै पाइन्थ्यो ।

मर्नुभन्दा बहुलाउनु बेश !

काउली कसरी ? काउली र हातमा तराजु बोकिरहेकी एक वृद्धालाई ग्राहकले सोधे, ‘७ रुपैयाँ दिनोस न हजुर ।’ ती वृद्धले भनिन् । तर, उनले सात रुपैयाँ किलोमा अडान लिन सकिनन् ।

फेरी ग्राहकले भने, ‘म तीन किलो लान्छु, ५ रुपैयाँले दिने हो ?’ वृद्धाले मानिनन् । ग्राहक रित्तै हिँड्न लागे । अन्ततः वृद्धाले ५ रुपैयाँमै दिन राजी भइन् । त्यसपछि ति ग्राहकले १५ रुपैयाँ तिरेर ३ किलो काउली लगे ।

ग्राहकले काउली बोकेर गएपछि हामीले वृद्धालाई सोध्यौं, ‘५ रुपैयाँ किलो बेचेर फाइदा कति हुन्छ ?’ जवाफ फर्काउन उनले गाह्रो मानिन् । मुसुक्क हासिन् मात्रै ।
हामीले फेरि सोध्यौं, ‘आफैले फलाउनु भएको हो कि किनेर ल्याउनु भएको हो ?’

‘आफ्नै बारीमा छ, आफ्नै बारीमा छ,’ उनले भट्टै जवाफ फर्काइन् ।

हामीले थप प्रश्न गर्दै गएपछि उनी खुल्दै गइन् । उनले भनिन्, ‘फाइदाभन्दा पनि बेच्नकै लागि आएको हो । नुन तेल त किन्नुपर्‍यो नि ।’

उनले आफ्नो खेतमा धान नफल्ने र तरकारी बेचेर आफ्नो गुजारा टार्नुपर्ने सुनाइन् । करिब १५ दिन अगाडि नै खेतमा तरकारी बेच्ने तयारी भए पनि भाउ नपाएका कारण खेतमै तरकारी राखेको उनले बताइन् ।

‘केही समयपछि बढ्छ कि भनेर पर्खिएको, तर बढेन,’ उनले भनिन्, ‘बारीमै कुहाउनुभन्दा थोरै पैसा भए पनि आउँछ भनेर बेचिरहेकी छु । मर्नुभन्दा बहुलाउनु निको होइन त ?’

सुनसरीकै भोक्राहाका चन्द्रकिशोर राजबंशी ‘बारीमै कुहिनुभन्दा त थोरै भए पनि पैसा आउँछ भनेर ल्याएको ।’

व्यापार, विचौलियाको गुनासो उस्तै

तरकारीमा पछिल्ला केही वर्षहरुदेखि त्यति फाइदा नभए पनि पुख्र्यौली पेशा भएका कारण छाड्न नसकिएको तरकारी व्यापारीहरुले सुनाए । गुद्रीबजारमा गोलभेडा र भाण्टा फिँजाएर बसिरहेकी इनरुवाकै ललिताकुमारी मण्डलले परिवारको पुरानो पेशा नै तरकारी खेति भएका कारण यसलाई अपनाएको बताइन् ।

‘मेरो ससुराले पनि तरकारी बेच्नु हुन्थ्यो, त्योभन्दा पहिले पनि तरकारी नै बेच्न चलन रहेछ । माइतीमा पनि त्यस्तै हो,’ मण्डलले भनिन्, ‘पुर्ख्याैली पेशा भएका कारण पनि घाटा/नाफा नभनी व्यापार गरिरहेका छौं ।’ आफ्ना सन्तानहरुले भने तरकारी व्यापार नगरेको उनले बताइन् ।

मण्डलका ३ छोरा र २ छोरी गरी ५ सन्तान छन् । छोरीको बिहे भइसक्यो । छोराहरु पनि घरमा छैनन् ।

‘एउटा छोरो विदेश भएको छ भने अर्को छोरो विराटनगरमा बाइक बनाउने मिस्त्री बनेको छ,’ उनले सुनाइन् ।

केहीवर्ष अघिसम्म राम्रै नाफा हुने भए पनि पछिल्ला केही वर्षहरुदेखि भने सस्तोमा तरकारी बिक्री गर्नु परेको उनको गुनासो छ । छोरालाई ३ वर्षअघि विदेश पठाउँदा लागेको ऋण तरकारी बेचेरै तिरेको भए पनि अहिले तरकारी बेचेर खानै नपुग्ने स्थिति सिर्जना भएको मण्डलले बताइन् ।

किसानहरुको उत्पादनस्थलबाटै उठाएर बजारसम्म ल्याई बेच्ने विचौलियाहरुको गुनासो पनि कम्ति छैन । तरकारी व्यापारबाट पछिल्लो समय धेरै नाफा नहुने गरेको उनीहरु बताउँछन् ।

‘खेतमै गएर काउली किनेर ल्याउँदा अहिले सस्तो भएको छ, तर खेतमा सस्तो हुँदा बजारमा पनि सस्तोमा बेच्नु पर्छ,’ ट्रकबाट काउली ओरालिरहेका एक व्यापारीले भने, ‘मैले ४ रुपैयाँ किलो किनेर ल्याएको छु, अब यहाँ ५/६ रुपैयाँमै खोज्छन्, एक रुपैयाँ नाफा खाएर कसरी ट्रकको भाडा उठाउनु ?’

खेतमै महंगो भए बरु नाफा धेरै हुने उनको भनाइ छ । उनी भन्छन्, ‘पोहोर मैले १५ रुपैयाँमा किनेर २२ देखि २५ रुपैयाँसम्म बेचेँ, किलोमै १० रुपैयाँसम्म फाइदा भयो । तर अहिले ४ मा किनेर ५ मा बेच्दा एक रुपैयाँ फाइदाले लगानी नै उठाउन सकिदैन ।’ नेपालमै उत्पादन भएको तरकारीहरु बेच्नु भन्दा भारतबाट ल्याएर बेच्दा फाइदा हुने गरेकोसमेत उनले सुनाए ।

नेपालमा उत्पादन कम हुने सिजनमा महंगी बढ्ने र त्यसबेला भारतबाट ल्याएर बेच्दा फाइदा हुने उनको अनुभव छ ।

काठमाडौंमा उस्तै महंगो

तराईमा तरकारीको मूल्य यति धेरै सस्तो भइरहँदा पनि काठमाडौंमा भने सस्तिएको छैन । सुनसरीको इनरुवमा काउली प्रतिकिलो ६ रुपैयाँमा किनबेच भइरहदा काठमाडौंका तरकारी बजारमा उपभोक्ताले प्रतिकिलो ५० रुपैयाँसम्म मूल्य तिरिरहेका छन् ।

हामीले शुक्रबार इनरुवाको गुद्री बजार घुम्दा थाहा पाएको मूल्य र काठमाडौंको कालिमाटी फलफूल तथा तरकारी बजारले गत शुक्रबारका लागि तोकेको मूल्यको तुलनात्मक टेबल हेर्नुसः  

तरकारीको नाम इनरुवाको मूल्य कालिमाटीमा तोकिएको मूल्य मूल्य अन्तर
काउली ६ रुपैयाँ प्रति केजी ३५ रुपैयाँ प्रति केजी २९ रुपैयाँ  प्रतिकेजी
ठूलो गोलभेडा २० रुपैयाँ प्रति ६५ रुपैयाँ प्रतिकेजी ४५ रुपैयाँ प्रतिकेजी
मटर कोसा ३५ रुपैयाँ प्रतिकेजी ६५ रुपैयाँ प्रतिकेजी ३० रुपैयाँ प्रतिकेजी
ब्रोकाउली १५ रुपैयाँ प्रतिकेजी ५५ रुपैयाँ प्रतिकेजी ४० रुपैयाँ प्रतिकेजी
हरियो खुर्सानी ३५ रुपैयाा प्रतिकेजी ६५ रुपैयाँ प्रतिकेजी ३० रुपैयाँ प्रतिकेजी
सेतो मूला १० रुपैयाँ प्रतिकेजी ३५ रुपैयाँ प्रतिकेजी २५ रुपैयाँ प्रतिकेजी
लेखकको बारेमा
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?