Comments Add Comment

डीपीएलमा अहिलेसम्मकै कम स्कोर, रुपन्देही ३३ मै अलआउट

५ फागुन, काठमाडौं । रुपन्देही च्यालेन्जर्स तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा ३३ रनमै अलआउट भएको छ ।

आइतबार फाप्ला क्रिकेट मैदानमा १३४ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको रुपन्देहीले १५.१ ओभरमा सबै विकेटको क्षतिमा ३३ रन मात्रै बनाउन सकेपछि काठमाडौंले १०० रनले जित हात पारेको हो ।

काठमाडौंविरुद्ध रुपन्देहीका कुनै पनि खेलाडी खुलेर खेल्न सकेनन् । त्यसो त रुपन्देहीका कुनै पनि खेलाडीले दोहोरो अंकको रन जोड्न नसकेको मात्र होइन चौका र छक्कासमेत हान्न सकेनन् ।

रुपन्देहीका सुमित महर्जनले बनाएको पाँच रन नै सर्वाधिक रन हो । २.३ ओभरमा पाँच रन हुँदा पहिलो विकेटको रुपमा सन्दीप सुनारलाई गुमाएको रुपन्देहीले दोस्रो विकेट ९ रन हुँदा प्रदीप ऐरिलाई गुमाएपछि विकेट पतनको सुरु भएको थिया ।

रुपन्देहीका भरपर्दा ब्याट्सम्यान प्रदीप चार, बाबर हायत तीन, विनोद भण्डारी एक, पुनित मेहरा तीन रन बनाउँदै आउट भए भने भीम सार्कीले रन जोड्न सकेनन् ।

काठमाडौंका लागि नन्दनकुमार यादवले तीन, ललितनारायण राजवंशी र सूर्य तामाङले समान २–२ विकेट लिए ।

पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १३३ रन बनाएको थियो । अंकित दबासले ४३ र अनिलकुमार शाहले २३ रन बनाउँदा रसिद खानले अविजित १४ रन बनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment