+
+

सहकारी लुटेरा पावरफूल पर्‍यो हजुर !

सेयर सदस्य प्रशासनको शरणमा

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १२ गते ०:०१

११ चैत, पोखरा । २०६९ वैशाख २६ गते राति साविक पुरुञ्चौरको सहकारीमा लुटपाट भयो । जनसेवा बचत तथा ऋण सहकारीमा भएको चोरी भोलिपल्ट कार्यालय समयमा मात्र थाहा भयो ।

बचत गर्न र ऋण लिन साविक पुरञ्चौर गाविसवासीलाई समेट्ने लक्ष्यसहित खुलेको जनसेवा सहकारी लुटिएको खबरले गाउँवासीलाई झस्कायो ।

सहकारी फोरेर ६ लाख १९ हजार ४ सय ५० रुपैयाँ लुटिएको जानकारी तत्कालीन प्रवन्धकले गराए । ठूलो रकम सहकारी जम्मा नभएकाले धन्न ठूलो राशी चोरिएन । स्थानीयले दुखजिलो गरेर ५० देखि १० हजार रुपैयाँसम्म जम्मा गरेका थिए ।

चोरी भएको थाहा पाउनासाथ स्थानीय सहकारीमा भीड जम्मा भयो । लुटेरा पत्ता लगाउन स्थानीयले दबाब दिए । लुटिएको जानकारी पाएको केही समयपछि प्रहरी पुग्यो ।

सञ्चालक समितिको रोहबरमा प्रहरी अनुसन्धानले छिट्टै लुटेरा पत्ता लगाउने आश्वासन दियो ।

तर, ६ वर्षसम्म पनि लुटेरा प्रक्राउ नगरेपछि सोमबार जिल्ला प्रशासन कार्यालय पुगेका सेयर सदस्यहरुले भनेका छन्, ‘लुटेरा पावरफूल परेछ । न पक्राउ पर्छ, न उसलाई पक्राउ गर्न सञ्चालक समितिले एक्सन नै लिन्छ । प्रशासनले एक्सन लिइदिनुप¥यो हजुर ।’

आश्चर्यजनक हिसाबले चोरी हुनु र लुटेरा पक्राउ नपर्नुले शंका उब्जिएको स्थानीय जयराम गौतमले बताए । ‘प्रहरी घटनास्थल पुग्नुअघि नै केही व्यक्तिबाट प्रमाण नष्ट गर्ने काम भएको थियो । त्यसयता लुटेरा पत्ता लगाउन न सञ्चालक समितिले एक्सन लियो, न प्रहरीले गहिरो अनुसन्धान नै थाल्यो । आजसम्म पनि लुटेरा किन पत्ता लागेन ? यसले शंका उब्जाएको छ,’ अर्का सेयर सदस्य पुष्पराज पौडेलले बताए ।

स्थानीयले लुटेरा पत्ता लगाएर कारबाही दायरामा ल्याउन पटकपटक दबाब दिएको सेयर सदस्य टेकनाथ गौतमले बताए ।

‘प्रहरीले घटनास्थलको मुचुल्का नउठाउँदै भीडबाट केही व्यक्ति सहकारीभित्र छिरेका थिए । लुटेरा समात्न एक्सन लिन सञ्चालक समितिलाई दबाद दिँदा उल्टै पत्र पठाएर जवाफ माग्ने काम भयो,’ गौतमले भने, ‘हेर्दा रकम सानो होला तर स्थानीयको श्रममात्रै जोडिएको छैन, अनुसन्धान पनि फेतलो देखिँदा थप शंका नित्याएको छ ।’

घटनाको छानबिन गर्न निर्मल गौतमको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरिएको थियो । तर, समितिले पनि असहयोगका कारण गहिरो अनुसन्धान गर्न नपाएको र अहिले त्यो समितिको म्याद सकिएको भन्ने गरेको गौतमले गुनासो गरे ।

सोमबार सञ्चालक समिति र सेयर सदस्यहरुले कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढालाई भेटेर घटनाबारे जानकारी गराएका छन् । किटानी जाहेरी नभएका कारण प्रहरीले कसैलाई पक्राउ गरेर अनुसन्धान गर्न नसकेको प्रहरी बताउँछ ।

प्रजिअ बुढाले भने कसैमाथि शंका भए किटानी जाहेरी दिन आग्रह गरे । तर, सहकारीका सेयर सदस्यहरुले भने अब लुटेरा नै नसमातिने र घटना नै बिर्सने आशंका गरेका छन् । सहकारी लुटिएको हो कि सुनियोजित रुपमा लुटाइएको हो भन्ने उनीहरुको शंका छ ।

सञ्चालक समितिले भने सहकारी चोरी भएकोप्रति शंका नगरी पक्राउ गर्न सहयोग गर्न आग्रह गरेको छ । अहिले पोखरा–१७ मा पर्ने यो सहकारीमा झन्डै १ हजार ८ सय सेयर सदस्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?