Comments Add Comment

बाइसधारा मेला, भक्तजनको भेला (फोटो फिचर)

६ वैशाख, काठमाडौं । बालाजुस्थित प्राचीन धार्मिक तीर्थस्थल बाइसधारामा आज मेला लागेको छ । प्रत्येक वर्ष चैत शुक्ल पूर्णिमाका दिन मला लाग्ने परम्पराअनुसार यस वर्ष पनि यहाँ मेला लागेको हो ।

मेलामा काठमाडौँ उपत्यकासँगै त्यस वरपरका क्षेत्रबाट स्नान गर्न आइपुगेका भक्तजनहरुको शुक्रबार बिहानैदेखि भीड लागेको छ ।

काठमाडौं उपत्यकाको पश्चिम उत्तरतिर नागार्जुन पर्वतमुनि पर्ने बालाजुमा आजको दिन स्नान गरी नारायण मन्दिरमा दर्शन गरेमा मुक्तिनाथ र गोसाइकुण्ड बराबर पुण्य मिल्ने धार्मिक विश्वास छ । लुतोलगायत चर्म रोग पनि यहाँ स्थान गर्दा निको हुने भक्तजनहरुको विश्वास छ ।

हिन्दू तथा बौद्ध धर्मावलम्बी दुवैको आस्था केन्द्रका रूपमा रहेको बालाजु क्षेत्र धार्मिक सहिष्णुताको दृष्टिले पनि उदाहरणीय छ । उक्त स्नानमा आज नुहाउनाले जो कोहीको पनि शरीरका सम्पूर्ण रोगव्याधी हटेर सुख प्राप्त हुने, पारिवारिक समृद्धि कायम हुने र परलोकमा समेत पुण्य प्राप्त हुने जनविश्वास रहिआएको छ ।

नेपाल संवत् ८७५ (विसं १८१२) मा कान्तिपुरका राजा जयप्रकाश मल्लले २१ ढुंगेधारा स्थापना गराएकामा पछि विसं १८५५ मा राजा रणबहादुर शाहले थप एउटा ठूलो ढुंगेधारा स्थापना गरेपछि सो स्थान बाइसधाराको नामले चिनिन पुगेको बताइन्छ ।

‘स्वयम्भू पुराण’मा उल्लेख भएअनुसार कुनै समयमा चीनबाट महामञ्जुश्री बोधिसत्व केशिनी र उपकेशिनी देवीसहित पञ्चशील पर्वत पार गरेर नेपाल आएका थिए । त्यतिबेला उनले नगरकोटमा बसी उपत्यकाको पानी कसरी निकास गरी पठाउने भनेर सोचेका थिए । पछि यहाँको पानी सुकेपछि विपस्सी बुद्धले कमलका फूल रोपेर ‘ॐ नमोरत्नत्रयाय’ भनी मन्त्रोच्चारण गर्दा यहाँ स्वयम्भू ज्योतिरूपको उत्पत्ति हुन गएको जानकारहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment