Comments Add Comment

उत्कृष्ट प्रदर्शनका बाबजुद युवा क्रिकेट टिमको दुर्भाग्य !

५ चैत, काठमाडौं । क्रिकेट आफैंमा अनिश्चितताको खेल हो । यसमा राम्रो खेलेर मात्रै पुग्दैन, भाग्यले पनि साथ दिनुपर्छ । भाग्यले साथ नदिँदा नेपाली टिम सन् २०२० मा हुने अन्डर १९ विश्वकप खेल्नबाट वञ्चित भएको छ ।

उत्कृष्ट प्रदर्शनका बाबजुद नेपालको युवा क्रिकेट टिम विश्वकपमा छनोट हुनबाट चुक्यो । वर्षाले प्रभावित यूएईविरुद्धको खेलमा डिएलएस मेथडअनुसार व्यहोरेको १ रनको हारले नेपाललाई एउटा ठूलो अवसरबाट वञ्चित ग¥यो । प्रतियोगिताबाट एउटा मात्रै टिम विश्वकपका लागि छनोट हुने प्रावधान थियो ।

मलेसियामा सम्पन्न छनोट प्रतियोगितामा नेपालको प्रदर्शन उत्कृष्ट रहेको आँकडाले देखाउँछ । नेपालले खेलेका पाँचमध्ये ४ खेलमा विपक्षी टिमलाई कुनै मौका नदिई भारी अन्तरको जित हासिल गरेको थियो । सिंगापुरविरुद्ध नेपालले हासिल गरेको २१७ रनको जित प्रतियोगितामै सबैभन्दा फराकिलो जित हो ।

दोस्रो ठूलो जित पनि नेपालकै नाममा रह्यो । ओमानविरुद्ध १५० रनको जित । नेपालले मलेसिया र कुवेतलाई समान ८–८ विकेटको हार चखाएको थियो । मलेसियाले दिएको ९३ रनको लक्ष्य नेपालले १३ ओभरमा पूरा गरेको थियो भने कुवेतले दिएको १५८ रनको लक्ष्य नेपालले २८ ओभरमा हासिल गरेको थियो ।

प्रतियोगिताको पहिलो, दोस्रो र चौथो उच्च स्कोर नेपालको नाममा छ । सिंगापुरविरुद्ध नेपालले बनाएको २८५ रन प्रतियोगिताकै उच्च स्कोर हो । यसैगरी यूएईविरुद्ध नेपालले बनाएको २४७ रन दोस्रो र ओमानविरुद्ध बनाएको २२९ रन चौथो उच्च स्कोर हो ।

पहिले ब्याटिङ गरेको बखत तीनैपटक खेलमा नेपाल २२० भन्दा कम स्कोरमा समेटिएन ।

नेट रन रेटमा पनि नेपाल सबैभन्दा अगाडि छ । अंकतालिकाको पहिलो स्थानमा रहेको यूएईको नेट रनरेट २.४२२ रह्यो भने नेपालको नेट रनरेट २.९४८ । प्राय प्रतियोगितामा नेट रनरेट कमजोर हुने नेपालका लागि यो एउटा सुखद समाचार हो ।

तर, नेपालले यूएईविरुद्ध भोगेको १ रनको हारमा कमजोर प्रदर्शनभन्दा पनि वर्षालाई दोष दिन सकिन्छ । किनकी खेलमा फर्किन नेपालसँग पर्याप्त समय बाँकी थियो ।

नेपालले पहिले ब्याटिङ गर्दै १४७ रनको स्कोर खडा गरेको थियो । नेपाली क्रिकेटको ईतिहास हेर्ने हो भने २४० रनभन्दा माथिको लक्ष्य दिँदा पराजित भएको घटना कमै भेटिएला । सो म्याचमा यूएईले सम्हालिएर खेलिरहेको थियो तर, कुनै पनि बेला विकेट झारेर नेपालले खेल आफ्नो नियन्त्रणमा लिन सक्थ्यो ।

१२२ रनमा ३ विकेट गुमाउँदा यूएईले ३० ओभरको खेल खेलिसकेको थियो । २० ओभर बाँकी हुँदा उसलाई आधाभन्दा बढि रन बनाउनुपर्ने खेल नेपालकै पक्षमा थियो । तर वर्षाले खेल विथोल्यो । डीएसएल मेथड अनुसार यूएर्ई विजेता घोषित भयो । यही हारसँगै नेपालको विश्वकपमा छनोटको सम्भावना लगभग ट¥यो ।

प्रतियोगिताका प्रमुख दावेदार नै नेपाल र यूएई थिए । दुई टीमको भिडन्त फाइनल बराबर नै थियो । यदि पूरा ओभर खेल्न पाएको भए पक्कै पनि नेपालको सम्भावना बढि थियो । तर, डीएलएस मेथडमा नेपाल एक रनले पछि पर्‍यो ।

२००० मा पहिलो पटक १९ वर्ष मुनीको विश्वकप खेलेको नेपालको गर्विलो इतिहास छ ।

७ वटा विश्वकप खेलेको नेपालले महाशक्ति राष्ट्रहरुलाई स्तब्ध बनाएको छ । २००२ मा न्यूजिल्यान्डलाई पराजित गर्दै प्लेट च्याम्पियन बनेको थियो भने भारत, साउथ अफ्रिका, पाकिस्तान जस्ता शक्ति राष्ट्रहरुलाई पराजित गरेको छ । यस पटक राष्ट्रिय टिमबाट खेलिसकेका खेलाडीहरु समेत रहेकाले नेपालले विश्वकपमा स्थान बनाउने अपेक्षा थियो तर, वर्षा बाधक भएको छ ।

कप्तान रोहितको प्रेरणा

नेपालका लागि कप्तान रोहितले यस प्रतियोगितामा प्रेरणादायी प्रदर्शन गरे । दुई म्याचमा धर्मराएको ब्याटिङलाई उनले सम्हालेर नेपाललाई बलियो स्कोरसम्म पु¥याए ।

उनी प्रतियोगिताकै सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा पहिलो नम्बरमा छन् । ५ मध्ये चार खेलमा ब्याटिङ गरेका रोहितले कुल १९४ रन जोड्न सफल भएका थिए । कुवेतविरुद्धको अन्तिम म्याचमा उनी ब्याटिङमा आएनन् ।

रोहितको औसत रन ६४ माथि छ, जुन कुनै पनि लेभलको एकदिवसीय क्रिकेटमा उत्कृष्ट मानिन्छ । उनको स्ट्राइक रेट पनि ९२ भन्दा माथि रह्यो । यस हिसाबले रोहितले यस प्रतियोगितामा सबै दृष्टिकोणबाट आफ्नो उत्कृष्टता प्रस्तुत गरेका छन् ।

कुवेतका मित भास्भरले मलेसियाविरुद्ध हानेको १०२ रन नै प्रतियोगिताको सर्वाधिक व्यक्तिगत स्कोर हो । त्यसपछि दोस्रो नम्बरमा रोहितको ९५ रनको पारी रहेको छ, जुन उनले सिंगापुरविरुद्ध बनाएका थिए । चौथो सर्वाधिक स्कोर पनि रोहितको नाममा छ, जुन हो ओमानविरुद्ध उनले हानेको ७५ रन हो ।

सिंगापुरविरुद्धको म्याचमा रोहित ब्याटिङमा आउँदा नेपालले १८ रनमै २ विकेट गुमाएको थियो । तर, उनले संयमित ब्याटिङ गर्दै पवन सर्राफ, भिम सार्की, रसिद खान र कमलसिंह ऐरीसित महत्वपूर्ण साझेदारी गरे । यद्यपि, आफ्नो करिअरको पहिलो अन्तर्राष्ट्रिय शतकबाट भने चुके । रोहितले अन्तिम म्याचमा आफूलाई बलिङमा पनि सफल परीक्षण गरे । कुवेतविरुद्ध आठौं बलरका रुपमा आफूलाई उतारेका उनले ३ ओभरमै सर्वाधिक तीन विकेट लिए ।

अन्य उल्लेख्य प्रदर्शन

यो प्रतियोगितामा नेपालको सम्झनलायक पक्ष ब्याटिङ हो । परम्परागत रुपमा कमजोर रहँदै आएको ब्याटिङ विश्वकप छनौटमा भने सबै टिमको भन्दा बलियो देखियो । ओपनरदेखि तल्लो क्रमका ब्याट्सम्यानले चाहिएको बेलामा योगदान दिए ।

ओपनरद्वय रित गौतम र पवन सर्राफले पनि सन्तोषजनक प्रदर्शन गरे । अन्तिम खेलमा दुबैले सर्वाधिक ९३ रनको ओपनिङ पार्टनरसिप गरेका थिए । प्रतियोगितामा सर्वाधिक रन बनाउनेहरुको सूचीमा रित पाचौं र पवन छैटौं नम्बरमा छन् । रितले ३९ को औसतमा १५६ र पवनले २७ को औसतमा १३६ रन जोडेका छन् । अलराउन्डर भूमिकामा रहेका पवनले पाँच म्याचमा नौ विकेट लिन सफल भए । उनी सर्वाधिक विकेट लिनेको सूचीमा पाचौं नम्बरमा छन् ।

नेपालको ब्याटिङमा तल्लो मध्यक्रमका भीम सार्की उपयोगी देखिए । उनले चाहिएको बेलामा महत्वपूर्ण साझेदारी गरे । तीन म्याचमा मात्रै ब्याटिङको मौका पाएका उनले एक अद्र्धशतकसहित कुल ११८ रन जोडे । उनको औसत २९.३३ रह्यो ।

अर्का अलराउन्डर कुशल मल्ल बलिङमा सफल भए । ब्याटिङमा खासै मौका नपाएका उनले पाँच म्याचमा ८ विकेट लिएका छन् । सूर्य तामाङले तीन म्याचमा ६ विकेट लिएका छन् । प्रतियोगिताका सर्वाधिक किफायती बलरहरुको सूचीमा नेपालका तीन बलर अग्रपंतिमा छन् । सूचीको पहिलो नम्बरमा सुर्य, दोस्रोमा कुशल र तेस्रोमा पवन छन् । उनीहरुको इकोनोमी क्रमशः २.०३, २.०५ र २.२४ रहेको छ । चौंथो र पाचौंमा यूएईका बलर छन् ।

नेपालका सर्वाधिक आशा गरिएका बलरहरु कमलसिंह ऐरी र रसिद खानले भने क्रमशः ४ र ३ विकेट मात्रै लिन सफल भए । बरु उनीहरुले ब्याटिङमा

जो चलेनन्

केही खेलाडीहरुको प्रदर्शन भने अपेक्षाकृत हुन सकेन । पहिलो नम्बरमा आउने नाम हो सन्दिप जोरा । प्रतियोगितामा नेपालले रोहितपछि बढी आशा उनीमाथि गरेको थियो ।

राष्ट्रिय टिमबाट समेत खेलिसकेका उनले प्रतियोगितामा आफ्नो छाप छोड्न सकेनन् । चार म्याचमा ब्याटिङ गरेका उनले ०, ४, ५, ४ गरी जम्माजम्मी १३ रन बनाए ।

आसिफ शेखले प्रदर्शन औसत रह्यो । उनले चार म्याचमा २७, ८, २६, ३३ गरी कुल ९४ रन बनाए । हरिबहादुर चौहानले यूएईविरुद्धको डेब्यू म्याचमै अद्र्धशतक बनाए । छैटौं नम्बरमा ब्याटिङ गर्न आएका उनले अविजित ६७ रनको योगदान दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment