Comments Add Comment

कृषिलाई उद्योगको रुपमा विकास गर्ने योजना आयोगको लक्ष्य

सदस्य गुरुङ भन्छन्– उत्पादकत्व बढाउनेमा केन्द्रित छौं

Photo Credit : रोयल आचार्य/अनलाइनखबर

६ वैशाख, काठमाडौं । राष्ट्रिय योजना आयोगका सदस्य डा. दिलबहादुर गुरुङले समृद्धिको प्रमुख आधार कृषिलाई नै मान्नु पर्ने बताएका छन् ।

आयोगले तयार पारेको १५ औं पञ्चवर्षीय योजनामा नै मुलुकको समृद्धिका लागि कृषिलाई नै प्रमुख आधार मानिएको भन्दै सदस्य डा. गुरुङले कृषिलाई अब उद्योगको रुपमा विकास गर्नु पर्ने बताए । आयोगले तयार पारेको १५औं योजना विगतको भन्दा फरक र रुपान्तरणकारी भएको समेत उनले दावी गरे ।

‘विगतको योजनाहरुमा उत्पादनमा जोड थियो । यस अघिका आयोजनाहरु राम्रा थिए तर, धेरै अनुदानमा फोकस थियो, मूख्य फोकस खाद्य सुरक्षा सुनिश्चित गर्ने र कृषि प्रसारलाई बढी अनुदान दिनेमा केन्द्रित थियो’, अनलाइनखबरसँगको कुराकानीमा उनले भने, ‘अहिले १५औं योजनामा कृषि क्षेत्रलाई नै समृद्धिको मूख्य आधारको रुपमा लिइएको छ ।’

योजनाले कृषि अनुसन्धान, प्रसार र शिक्षालाई एकीकृत गरेर प्रभावकारी रुपमा सञ्चालन गरी प्रविधि विकास गर्ने, उत्पादनमूलक सामग्रीलाई विशेष जोड दिइएको सदस्य गुरुङले बताए । अबको लक्ष्य कृषिलाई उद्योगको रुपमा विकास गर्न तर्फ केन्द्रित हुनु पर्ने उनको धारणा छ ।

‘कृषिलाई उद्योगको रुपमा विकास गर्ने । प्रतिस्पर्धात्मक बनाउने भनेर फोकस केन्द्रित भएको छ’, उनले भने । युवाहरुलाई बढी भन्दा बढी कृषि पेशामा आकर्षित गरेर पेशालाई मर्यादित बनाउने समेत आयोगको योजना रहेको उनले बताए ।

उत्पादकत्व लेभलमा हामीले कति उपलब्धी गर्यौ भनेर सोच्नु पर्ने भन्दै अब कृषक भन्दा पनि उत्पादकत्व चाहिँ बढाउनु पर्ने उनले बताए ।

गीत पुरानै भए पनि काम हुन्छ

१५ औं योजनामा आयोगले आयात प्रतिस्थापन, निर्यात बढाउने, उत्पादकत्व बढाएर आत्मनिर्भर हुने, रोजगारी सिर्जना गर्ने लगायतलाई मूख्य लक्ष्यको रुपमा लिएको छ । तर, यि विषयहरु नयाँ भने होइनन् । मुलुक कृषि प्रधान भए पनि कृषि उपजको उत्पादन राम्रो छैन ।

कृषिमा आत्मनिर्भर हुनु पर्छ, आयात प्रतिस्थापन गर्नुपर्छ भन्ने सरकारले गाउँदै आएको ‘पुरानै गीत’ हो । विगतमा भन्दै आएका विषय राम्रै भए पनि काम भने हुन सकेको छैन । अब भने गीत पुरानै भए पनि काम राम्रो हुने डा. गुरुङ बताउँछन् ।

अहिले मूख्य बालीहरुको १५ प्रतिशत वरीपरी बिउ प्रतिस्थापन दर छ, यसलाई ५ वर्षमा २५ प्रतिशत पुर्‍याउने योजना रहेको डा. गुरुङ बताउँछन् ।

५ वर्ष पछि बिउमा किसानको पहुँच करिब करिब दोब्बर हुने र त्यसपछि उत्पादन पनि दोब्बर हुने उनको दावी छ । साथै जमीनको उत्पादकत्व पनि नबढाइ नहुने उनले बताए । प्रविधिको समेत प्रयोग बढाउने आयोगको लक्ष्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment