Comments Add Comment

फुटपाथमा सवारी, अण्डरग्राउण्ड पार्किङमा व्यापार !

६ वैशाख, चितवन । नारायणगढ झर्ने ओरालोको दायाँतर्फ भरतपुर महानगरपालिकाका वरिष्ठ इन्जिनियर भरत आचार्यको घर छ । उनको घरको माथिल्लो तलामा सिटिजन बैंक र तल्लो तलामा महिन्द्राको शो रुम छ ।

अण्डरग्राउण्ड पार्किङका लागि बनाएको ठाँउमा महिन्द्राकै मर्मत केन्द्र चलेको छ ।

पार्किङ भने सडकमा बनाएको देखिन्छ ।

नारायणगढका अधिकांश ठूला भवनहरुका अण्डरग्राउण्ड पार्किङमा सटर हालेर भाडामा लगाइएको छ । त्यहाँ ब्यापार फस्टाएको छ । पार्किङ भने फुटपाथमा गर्न लगाइन्छ ।

फुटपाथमा ब्यापार गर्नेहरुलाई लखेट्ने महानगरपालिका ठुला घरको अण्डरग्राउण्ड पार्किङमा व्यापार र फुटपाथमा पार्किङ भईरहेकोबारे अनभिज्ञ छ ।

अण्डरग्राउण्ड पार्किङमा बनाइएका एउटा सटर २० हजारदेखि ४० हजार रुपैंयासम्ममा भाडामा लगाइएको छ । त्यसबाट एकातिर वहाल कर छली र अर्कोतिर फुटपाथमा पार्किङ भइरहेको छ ।

महानगरपालिका आफैं व्यक्तिको जमिन भाडामा लिएर पार्किङ गरिरहेको छ । चमेली विग बजारमा एक ब्यापारी कृष्णहरी तिमिल्सिना जग्गा भाडामा लिएर पैसा तिर्ने तर, ब्यापारिक भवनको अण्डरग्राउण्ड पार्किङमा ब्यापार गर्न दिने महानगरपालिका संसारमा कहि नरहेको भन्दै ब्यङग्य गरे ।

लोकमान प्लाजा सञ्चालक ज्ञानेन्द्रमान शाक्य नारायणगढ बजारमा अण्डरग्राउण्ड पार्किङ चाहिन्छ भन्ने अवधारणा आफुले नै दिएको बताउँछन् । तर, उनैले अण्डरग्राउण्डमा सटर बनाएर भाडामा लगाएका छन् ।

आफैंले किन अवधारणा उलंघन गरेको अनलाइनखबरको प्रश्नमा शाक्यले भने, ‘मेरो प्लाजाको जग्गा कम भएर पार्किङ गर्न मिलेन ।’

अण्डरग्राउण्ड पार्किङमा कलर ल्याबलाई भाडामा दिएका नारायणगढ कम्प्लेक्स सञ्चालक सेवन पन्तले चाही केही भाग पार्किङका लागि राखेको बताए ।

अब त कृष्णमान प्लाजाका कृष्णमान श्रेष्ठले पनि अण्डरग्राउण्ड पार्किङमा सटर बनाएर भाडामा लगाउने सोच बनाएका छन् । किन त ? उनले भने, ‘त्यहाँ सवारीसाधन सुरक्षित होला जस्तो लागेन ।’

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख चन्द्र गिरी ब्यापारिक भवनहरूले अण्डरग्राउण्ड पार्किङको सहि उपयोग नगर्दा असर फुटपाथमा परेको बताउँछन् । उनले भने, ‘फुटपाथ पैदल यात्रुको लागि हो तर, हामीले नै फुटपाथमा पार्किङ गर्नुपरेको छ ।’

महानगरपालिकासँग छैन नीति

नारायणगढ क्षेत्रमा बनेका र बन्न थालेका कतिपय कतिपय ब्यापारीक भवनमा अण्डरग्राउण्ड पार्किङ छैन । न ५० प्रतिशत स्थान खुल्ला छाडेका छन् । यसमा महानगरपालिकाले चासो पनि राखेको छैन ।

व्यापारिक उद्धेश्यका भवनहरुमा अण्डरग्राउण्ड हुनुपर्छ भन्ने नीतिगत व्यवस्था नभएको महानगरपालिकाका इन्जिनियर सूर्यप्रकाश लामा बताए ।

वस्ती विकास शहरी योजना तथा भवन निर्माण सम्वन्धि आधारभूत निर्माण मापदण्ड २०७२ को दफा १३.११ को (ख) मा सरकारी, अर्धसरकारी वा सार्वजनिक भवन निर्माणको स्वीकृती दिदा जग्गा उपयोग प्रतिशत ५० प्रतिशतभन्दा बढि नहुने गरी स्वीकृती दिने व्यवस्था छ तर, लागू भएको छैन ।

त्यस्तै, दफा १२.४ मा भवनको प्रयोजन परिवर्तन गर्नुपरे निर्माण मापदण्ड र भवनसंहिता विपरित नहुने गरी स्थानीय निकायबाट स्वीकृति लिनुपर्ने उल्लेख छ । नारायणगढमा यो कानुनी व्यवस्थाको पनि उलंघन भइरहेको छ ।

उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले अण्डरग्राउण्ड पार्किङमा व्यापार नगर्न पटकपटक सचेत गराए पनि अटेरी गरेको बताए ।

महानगरपालिकाकी मेयर रेनु दाहालले भने अण्डरग्राउण्ड पार्किङमा सटर बनाएर भाडामा लगाएको विषय जानकारी नै नभएको बताइन् । ‘अब यो बिषयलाई बैशाख ८ गते बस्ने बोर्ड बैठकमा एजेण्डाको रुपमा लगेर निर्णय गराउँछु’, उनले अनलाइनखबरसँग भनिन्, ‘ब्यापारिक भवनमा अण्डरग्राउण्ड पार्किङ हुनैपर्ने नीतिगत व्यवस्था गरेर कार्यान्वयनमा ल्याउने छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment