Comments Add Comment

चितवनको चिन्ता : सौराहामा किन टिक्दैनन् पर्यटक ?

परम्पराले धानेन, सौराहाले खोज्दैछ ‘नयाँ टेस्ट’

५ वैशाख, चितवन । सौराहा, चितवनको मात्र हैन, नेपालकै प्रमुख पर्यटकीय गन्तव्य हो । यो गन्तव्यसम्मको यात्रा उति कष्टकर छैन, देशको मध्यभागमा पूर्वपश्चिम राजमार्गको समीपमै रहेको यो पर्यटकीयस्थल भरतपुर विमानस्थलबाट ४५ मिनेटको दूरीमा छ ।

सौराहालाई सहज यातायात पहुँचको कुनै समस्या छैन, तर यही सजिलो पक्षकै कारण सौराहामा पर्यटकहरु धेरै समय नअडिने समस्या भने व्याप्त छ ।

पर्यटन व्यवसायी सुमन पाण्डेको भनाइमा पर्यटनले ल्याउने विकास भनेको पर्यटकले गर्ने खर्चमा आधारित हुन्छ । अझ विदेशी पर्यटक माफर्त आर्जन हुने विदेशी मुद्राले त देशकै अर्थतन्त्रलाई चलायमान र शक्तिमान गराउँछ ।

जति धेरै पर्यटक पर्यटकीय क्षेत्रमा बास बस्छन् र अनेक तवरबाट सक्रिय हुन्छन्, उति धेरै खर्च पनि गर्छन् । उनीहरुले जति धेरै मन खोलेर पैसा खर्चन्छन्, त्यति नै पर्यटन व्यवसायी र स्थानीय उकासिन्छन् । त्यसका लागि पर्यटकीय गन्तब्यमा खर्च हुने सुनिश्चिततासहितको वातावरण तयार गरी राख्नुपर्छ ।

तर, देशकै तेस्रो प्रमुख पर्यटकीय गन्तब्य सौराहामा विदेशबाटै आईपुग्ने पर्यटक ३ दिन र २ रात बढी बस्नै सक्दैनन् । यो भन्दा बढी बस्न पर्यटकका लागि सौराहा कुनै अतिरिक्त ‘भुलभुलैया’ तयार गरिएको छैन ।

धेरैजसो आन्तरिक पर्यटक सौराहामा २ दिन एक रातमा लागि पुग्छन् । टाढाका गन्तव्यबाट आएका र विदशेी पर्यटकका लागि अधिकांश २ रातको प्याकेज हुन्छ ।

पुरानै ‘टेस्ट’

सौराहामा पर्यटक २ रातको बसाइको प्रचलन अहिलेदेखिको हैन, निकै ४०कै दशकदेखि निकुञ्ज बाहिरका होटलमा बस्ने अधिकांश पर्यटकका लागि चितवन २ राते गन्तव्य थियो र छ पनि ।

सौराहामा पर्यटकलाई २ रातभन्दा बढी अड्याउनै किन सकिँदैन त ? क्षेत्रीय होटल संघ सौरहामा अध्यक्ष सुमन घिमिरे भन्छन्, ‘यहाँ उपलब्ध सबैखालका पर्यटकीय गतिविधिमा संलग्न हुने पर्यटक ३ दिन र २ रात नै पर्यप्त हुन्छ ।’

घिमिरे सरकार र व्यवसायीहरु पुरानै ढर्रामा चल्दा यस्तो अवस्था आएको स्वीकार्छन् । पर्यटकलाई सौराहामा अरु धेरै दिन बसाउन सकिने गरी टुर प्याकेज तयार भएको छैन । परम्परागतबाहेक केही अतिरिक्त प्याकेज भए पनि मार्केटिङ गर्ने काममा सरकार र व्यवसायी चुकेका छन् ।

२ रात पर्यटकले आफ्नै होटलमा बास बस्नुलाई नै सौराहका व्यवसायी उपलब्धी मानिरहेका छन् । जसले गर्दा सौराहाले लिन सक्ने जति लाभ उठाउन सकेको छैन ।

‘यहाँ पर्यटकलाई टिकाउनका लागि गर्न सकिने अरु धेरै कुरा छन्,’ अध्यक्ष घिमिरे भन्छन्, ‘तर सौराहाले पर्यटकलाई नयाँ ‘टेस्ट’ सकिरहेको छैन । हामी बुवाहरुले सौराहामा बसेर जे बेच्नुभयो त्यही बेर मात्रै बसेका छौं, अब यत्तिकै त चल्दैन ।’

के गर्छन् पर्यटक ?

यहाँ आईपुग्ने पर्यटक पहिलो दिनमा खासै कुनै पर्यटकीय गतिविधिमा संलग्न हुँदैनन् । होटलमा ब्याग राखेर निस्किएका पर्यटक साँझ राप्ती किनारमा पुग्छन् र नदीमा निकै मनमोहक रुपमा देखिने सूर्यास्तको मज्जा लिन्छन् । सौराहा पुग्नेका लगि यो निकै उद्भूत अनुभूति हो ।

नदी किनारमा साँझ जंगली जनावर निस्कन्छन् । त्यसलाई सूर्यास्तसँगै हेर्नुको मोहकता नै विशेष हुन्छ ।

त्यसको भोलिपल्ट नै पर्यटकहरुको मुख्य दिन हुन्छ । त्यस दिन हात्ती वा जिप सफारी गर्छन् । कतिपय दुबै सफारीमा संलग्न जंगली जनावर हेर्ने इच्छा पूरा गर्छन् । जीप सफारीमा जानेहरु गोही प्रजनन केन्द्रसम्म पुगेर फर्कन्छन् ।

यस्तै राप्ती नदीमा परम्परागत डुंगा चढ्दै गोही तथा चराहरु हेर्नु पनि सौराहामा पुग्नेका लागि नौलो अनुभव हुन्छ । शान्तरुपमा बगिरहेको राप्तीमा साँझको समयमा गरिने डुंगा सयरको छुट्टै महत्व छ ।

साँझ सौराहामा रहेको कला केन्द्रमा थारु संस्कृति र परिकारको मज्जा लिन सकिन्छ । कतिपयले गोरु गाढामा चढेर थारु बस्तीको भ्रमण गर्छन् ।

हात्ती प्रजनन केन्द्रमा पुग्नु पनि सौराहा पुग्ने पर्यटकका लागि अनिवार्य जस्तै हुन्छ । जहाँ घरेलु हात्तिलाई जंगली हात्तीसँग संसर्गका लागि राखिएको हुन्छ ।

नदीमा हात्तीसँगै नुहाउने अनुभव पनि गर्न पाइन्छ । ‘बर्ड वाचिङ’ का लागि पनि सौराहा चिनिएको छ । यी सबै पर्यटकीय गतिविधिमा संलग्न भएर सौराहा बजार घुम्दा ३ दिन पर्याप्त हुन्छ ।

‘रि–ब्रान्डिङ’ गरौं

त्यसपछि पर्यटक आँखा चिम्लेर राजमार्ग वा भरतपुर एयरपोर्टमा आउँछन् र अर्को गन्तब्यमा हानिन्छन् । पर्यटकको आगमन बढिरहेका कारण नै त्यहाँको बजार र होटलले यो पक्षलाई त्यति धेरै ध्यान दिएका छैनन् । जसका कारण धेरै दिन बसेर सौराहामा मज्जा लिन्छु भन्ने पर्यटकले पनि यहाँ बस्नुको औचित्य पुष्टि हुने विकल्प भेट्टाएका छैनन् ।

सौराहाका स्थानीय व्यवसायीले यहाँ बस्ने पर्यटकका लागि नयाँ प्याकेजहरु ल्याउनुपर्ने अनुभूति गर्न थालेका छन् । स्थानीय रघुपति चौधरीका अनुसार सौराहालाई नयाँ प्योकजहरुमार्फत ‘रि ब्रान्डिङ’ गर्न र विश्वमाझ मार्केटिङ गर्न सरकारको सहयोग आवश्यक छ ।

पर्यटन व्यवसायी पनि यसमा सहमत छन्, तर ठूलो लगानी गर्न नसक्ने कारण उनीहरु आफैं अग्रसर हुने अवस्था पनि छैन । तर, गर्न सकिने काममा पनि व्यवसायीको ध्यान गएको छैन ।

‘यहाँ बस्ने पर्यटकका लागि हामी एकदिन चितवन र नवलपरासीका विभिन्न पर्यटकीय गन्तव्य स्थलसम्म लगेर फर्काउन सक्छौं,’ घिमिरे भन्छन्, ‘यहाँबाट पवित्र देवघाट धाम, शाश्वतधाम, बाल्मिकी आश्रम, बिसहारी ताल, उपरदाङगढी लगायतका पर्यटकीय गन्तब्यसम्म घुमाउन लगियो भने एक दिन भए पनि पर्यटक बढी बस्छन् ।’

हाल सौराहा पुगेका धेरै पर्यटकलाई चितवनमा अन्य पर्यटकीय गन्तब्य छन् भन्ने जानकारी हुँदैन । तर, थाहा पाएका व्यवसायीले पनि त्यसलाई आफ्नो प्याकेजभित्र समेटेका छैनन् ।

के–के गर्न सकिन्छ ?

सौराहाका लागि वर्षदेखि एकै प्रकारका प्याकेज बिक्री गरिँदैछ । जसले गर्दा एकपटक आएका पर्यटक दोस्रोपटक किन आउने प्रश्न जन्मिने गरेको छ ।

आजभोलि केही पर्यटकलाई देवघाट र साश्वत धामसम्म लगेर आफ्नै गाडीमा फर्काउने गरेका छन् । जसबाट अतिरिक्त आर्जन पनि सुरु भएको छ । तर, त्यसले व्यवसायिकता पाएको छैन ।

रेस्टुरेन्ट तथा बार एशोसियन (रेवान) सौराहाका अध्यक्ष गोकर्ण गिरी अब सौराहाबाट निकुञ्ज हुँदै चुरे पर्वतसम्मको पैदल मार्ग पनि खोल्नुपर्ने बताउँछन् । निकुञ्जभित्र ‘जंगल वाक’ गर्न चाहाने पर्यटक धेरै हुने भन्दै सौराहाबाट चुरे पर्वत श्रृंखलासम्म जैविक मार्ग भएर पैदल यात्रा गर्ने गन्तव्यको विकास गर्न जरुरी रहेको उनको भनाइ छ । ‘त्यसो भएमा सौराहाको विशेषता अझै थपिन्छ,’ गिरी भन्छन् ।

यस्तै सौराहाका व्यवसायीहरु राप्ती नदीको उत्तरतर्फको भागमा बस्ती जोगाउन उठाइएको ड्याममाथि बनेको सडकलाई साइकलिङ रुटका रुपमा विकास गर्नुपर्ने पक्षमा छन् ।

त्यसो भएमा सौराहाबाट लोथरसम्म पुगेर पर्यटकले साइकिङ गर्दै पुनः राजमार्गबाट सौराहा फर्किन सक्छन् ।

सुन्दर राप्ती नदीको किनरै–किनार प्रकातिक दृश्यावलोकन गर्दै साइकिलङको मज्जा दिनु पनि पर्यटकका लागि नयाँ अनुभुति हुने रेवान सौराहाका अध्यक्ष गिरी बताउँछन् ।

पुरानो जोगाउँदै नयाँ स्वाद आवश्यक

निकुञ्जभित्र होटल हुँदा खर्चालु पर्यटकका लागि सौराहा थारु संस्कृति हेर्ने प्रमुख स्थल थियो । अन्य पर्यटकले पनि थारु कला, संस्कृत र जनजीवनलाई प्रत्यक्ष रुपमा अवलोकन गर्ने सौराहामा पछिल्लो सयमा मौलिक थारु जनवीवन र त्यसअरुपपका पुराना जीवनशैली हराउँदै गएको छ ।

उनहरुको आर्थिक पक्ष बलियो बन्दै जाँदा पुरानो किसिमको जनजीवनले आधकुनिकता पाएको छ । जसका कारण अब सौराहामा पुगेर सांस्कृतिक नाच हेर्नुबाहेक अन्य थारु संस्कृतिको विशिष्टकृत झल्को मेट्न सकिँदैन ।

यसलाई पनि संरक्षण गर्दै सरकारले सौराहामा पर्यटकलाई अझ धेरै दिन बस्ने वातावरण सिर्जना गर्न सघाउनुपर्ने पक्षमा व्यवसायी छन् ।

यस्तै सौराहा विभिन्न आधुनिक किसिमका सेवहरु पनि भित्र्याएर पर्यटकलाई अल्झाउनुपर्ने तर्क पनि अघि सारिँदैछ ।

‘यहाँ विभिन्न पानीजन्य आधुनिक गेमहरु खेलाउनुपर्छ,’ होटल संघका अध्यक्ष घिमिरे भन्छन्,‘पुराना विशेषता र सम्भावनालाई बलियो गर्दै नयाँ विशेषता थप्न तर्फ लाग्नैपर्ने छ ।’

व्यवसायीहरु सौरहामा ठूला लगानीमा नदी र निकुञ्जमाथि वन र वन्यजन्तुको अवलकोन गर्न मिल्ने गरी केवलकार पनि चलाउन सकिने बताउँछन् । त्यसका लागि राज्यको नीति नै परिवर्तन गर्न र ठूलो लगानी ल्याउनुपर्छ ।

यस्तै निकुञ्जभित्र होटल जसरी टेन्टेड क्याम्प लगाएर पर्यटकलाई निश्चित रात बस्न दिइनुपर्ने पक्षमा समेत उनीहरुले लबिङ गरिरहेका छन् ।

त्यसरी निकुञ्जभित्रै पर्यटकलाई टेन्टेट क्याम्पमा बस्न दिइए सौराहामा पुग्ने पर्यटकले थप खर्च गर्ने र त्यसले अन्तर्राष्ट्रियस्तरमै नेपालको जंगलमा आधारित पर्यटनको प्रवद्र्धनमा ठूलो भूमिका खेल्ने व्यवसायीको तर्क छ ।

पछिल्ल्लो सयममा सौराहमा डान्सबार, लाइभ म्युजिक लगायतका आधुनिक सेवा खोलिएका छन् । तर, त्यस्ता पर्यावरण र स्थानीय वातावरणमा असर पर्ने सेवाहरु भित्र्याउन नहुने पक्षमा स्थानीयहरु छन् ।

वन, वन्यजन्तु, जैविक विविधता र स्थानीय जैवनशैलीमा असर नपर्ने गरी अरु पर्यटकीय पूर्वाधार थपिनु पर्नेमा जोड दिन्छन् सौराहा चितुनलाल थारु । ‘पर्यटकलाई नयाँ सेवा दिने नाममा विकृति र कुकृति भित्रन हुँदैन,’ उनी भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment