Comments Add Comment

हावाहुरी प्रभावित सुत्केरीको विजोग : शिशु जोगाउनै गाह्रो

५ वैशाख, वीरगञ्ज । चैत १७ गते ठूलो आँधी आउँदा बाराको फेटा गाउँपालिका ६ पुरैनियाकी अमिरुल नेसा तीन दिनको सुत्केरी थिइन् ।

तीनवटा छोराछोरी सहितकी सुत्केरी उनलाई घरले थिच्यो । जसो तसो बाहिर निस्किइन् । घर हावाले उडाएपछि हाल उनी राहतमा पाएको टेन्टमा बस्दै आएकी छन् । सिलाइको काम गर्ने श्रीमान भारतमै छन् ।

पोषिलो खानेकुराको अभावमा घरमै जन्मिएकी छोरी ‘तेतरी’ लाई हुर्काउन उनलाई निकै सास्ती भइरहेको छ । ‘घर छैन, केही छैन, दुःखले पाल्दैछु । आँधी आउँदा भाग्छु, नआउँदा टेन्टमै सुत्छु । घाममा बच्चालाई धेरै गर्मी हुन्छ । बेना चलाएर बस्छु । के गर्ने दशा लागेको छ’ अमिरुलले भनिन् ।

हावाहुरी गएको भोलिपल्टैदेखि गाउँमा राहतको ओइरो लागेको थियो । तर सुत्केरीका लागि आवश्यक खानेकुरा केही थिएन । सुत्केरी अमिरुलले पनि अरुले जस्तै एक सातासम्म गाउँमा चलेको मेस कै दालभात तरकारी खाएर बसिन् । ‘राहतमा बच्चाको लागि दुई डिब्बा दुध मिलेको छ अन्य कुरा केहि पाएको छैन । अब त्यसै बस्नुपरेको छ । राहतमा अरुलाई जे मिलेको त्यही खानेकुरा खाएर बसेको छु’ उनले भनिन् ।

राहतमा उनको परिवारले पनि अरुले जस्तै दाल, आलु, चामल पाएको छ । पोषिलो खानाको अभावमा अमिरुलले दुधे शिशुलाई आफ्नो दुधसमेत पेटभरी खुवाउन सकेकी छैनन् । ‘यसअघिका तीन छोरालाई आफ्नै दुध खुवाएर हुर्काएकी थिएँ । अहिले त दूध राम्रोसँग आउँदैन । बच्चालाई कहाँ पुग्छ र ?’ उनले भनिन् ‘पहिले सुत्केरी हुँदा दुई तीन दिन बिराएर मासु खाने गरेको थिएँ, हावाहुरी आएपछि घरमा मासु आएको छैन ।’

उनको ११ जनाको परिवार राम्रोसँग चलिरहेको थियो । घरमा भैंसी थियो, आँधी आएपछि घरमा किचियो, घाइते भैंसी गाउँलेले लिएर गए । आँगनमा ससुराले पसल चलाउँदै आएका थिए, त्यसैबाट आएको आम्दानीले नुन तेलको गर्जो टर्ने गरेको थियो । त्यो पनि हावाहुरीले उडाएर लग्यो । ससुरा अहिले कामविहीन भएका छन् ।

कहिले दिनमा चर्को गर्मी हुन्छ त कहिले साँझमा हावाहुरी सहित पानी र असिना पर्छ । टेन्टको भरमा तीन हप्ताको शिशुलाई जोगाउन मुश्लिक भएको छ । नेपाली सेनाले निर्माण गरेको अस्थायी टहरा (टेण्ट) मा उनके दिनचर्या बितिरहेको छ ।

अमिरुलकी सासु ६२ बर्षकी सोयाब सुत्केरीलाई तागतिलो खाना दिन नसकेको दुखेसो गर्छिन् । ‘घिउमा सुजी भुटेर दुध मिलाएर हलुवा बनाउँथ्यौ, बोडी मासु ल्याएर खुवाउँथ्यौं’ उनले भनिन् ‘तर अहिले सुत्केरीलाई चोखा र दाल खुवाउनुपरेको छ ।’

उनले अघि भनिन् ‘गाउँमा केही राम्रो राहत आयो भने मानिसहरु झगडा गरेर उतै लिईहाल्छन । हामी दौडधुप र झैझगडा गर्न सक्दैनौं, बाहिरबाट कोहि आएर हेरेर घरमै दिन्छ भने पाउँछौं ।’

फेटा गाउँपालिका वडा नं ६ का अध्यक्ष जाकिर हुसैन मियाँले पनि सुत्केरी, गर्भवति महिलालाई लक्षित गरेर कुनै राहत सामग्री नआएको जानकारी दिए ।

‘हावाहुरी प्रभावित क्षेत्रमा ३० जनाको हाराहारीमा गर्भवती र सुत्केरी महिला होलान्, तर उनीहरुका लागि गेडागुडी, माछा मासु लगायतका पोषिलो खानेकुरा कतैबाट आएन, हामीले पनि अन्य कुराको व्यवस्थापन गरिरहँदा त्यता ध्यान दिन सकेनौं’ उनले भने ‘बच्चाका लागि दूध, सोलार र साडी एउटा संस्थाले ल्याएर दिएको थियो । प्रभावित परिवार बाहेकका मानिसहरु समेत आएर होहल्ला गरेपछि जे जति थियो, सबैलाई बाँडेर पठायौं ।’

प्रभावित क्षेत्रका लागि राहत ल्याउनेले अन्न, लत्ता कपडा भन्दा गर्भवती, सुत्केरी महिला र बालबालिका लक्षित सामाग्री ल्याउँदा उत्तम हुने उनको सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment