+
+

अमेरिकाबाट सरिताको वयान : उसले जीवन नर्कजस्तो बनाइदियो

विजय साह अमेरिकी प्रहरीको डरले नेपाल फर्केको दाबी

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख १९ गते ०:१७

१८ वैशाख, जनकपुरधाम । लोग्नेको सम्पत्ति माइतीलाई दिएको आरोप खेपेकी सरिता साहले मुख खोलेकी छन् । लामो समयदेखि सपरिवार अमेरिकामा बस्दै आएका जनकपुरधामका विजय साहले नेपाल फर्किएलगत्तै पत्नीले आफूलाई सडकमा ल्याइदिएको पत्रकारलाई बताएका थिए ।

विजय साहले आफ्नी पत्नी सरितामाथि आरोप लगाएको समाचार अनलाइनखबरमा प्रकाशन भएपछि अनलाइनखबरको सम्पर्कमा आएकी सरिताले भनिन्, ‘उनी मलाई कुटेर अमेरिकन प्रहरीको डरका कारण जनकपुरधाम र्फकेका हुन् ।’

जनकपुरमा विवाह गरेर अमेरिका जानेवित्तिकै विजयले आफूलाई पटक-पटक कुटपिट गरेको सरिताको भनाइ छ । पछिल्लो समय कुट्दा आफूले अमेरिकी प्रहरीमा उजुरी दिएको सरिताले बताइन् ।

पछिल्लो दुईवर्ष यता काम छाडेर विजय घरमै बस्दै आएको र आफू काम गर्न जाँदा पनि अरुसँग लागेको भन्दै आरोप लगाएर कुटपिट गर्ने गरेको सरिताले सुनाइन् । उनले कुटपिटबाट घाइते बनेको फोटो पनि अनलाइनखबरलाई पठाएकी छन् ।

विजयले जनकपुरधामको दुई ठाउँमा रहेको घर र घडेरी पत्नी सरिताले आफ्नो आफ्ना पिता बृजनन्दन साह र आमा मञ्जुदेवीका नाममा रजिष्ट्रेशन गराएको बताएका थिए ।

सरिता ।

तर, सरिताले उक्त जग्गा पिताले भनेझैं विजयले बेचेको बताए । ‘त्यसबेला दाजुभाइले अंश लेला भन्ने डरका कारण विजयले मेरा बुवालाई सो जग्गा बेचेका थिए’, सरिताले भनिन्, ‘तर, अहिले दाजुभाइको कुरा मान्दै आफ्नी पत्नी, दुई सन्तानलाई छोड्न तयार भएको सुन्दा आफू एकदमै दुःखित छु ।’

‘अब इन्सानको जिन्दगी बाँच्न चाहन्छु’

विजयसँगको जीवन ज्यूँदा गुलामी धेरै गर्नुपरेको सरिताले बताइन् । अमेरिका पुगेदेखि नै विजयले आफूलाई गालीगलौज गर्दै कुटपिट गर्दै आएको सरिताको आरोप छ । ‘यहाँ म जे भन्छु, त्यत्ति मात्रै गर’ भन्दै बन्धकमा राख्न खोजेको सरिताले सुनाइन् ।

अहिलेसम्म गुलामीको जिन्दगी जिउँदै आएकी छु’ उनले भनिन्, ‘तर अब यो सह्य छैन्, अब इन्सानको जिन्दगी बाँच्न चाहन्छु ।’

आफूलाई वर्षाैंदेखि कुटपिट गर्नेलाई कार्वाही गर्नुपर्ने माग राख्दै सरिताले न्याय दिलाइदिन आग्रह गर्दै भनिन्, ‘अब मलाई ऊसँग डिभोर्स चाहियो, उसँग जीवन जिउन सक्दिनँ ।’

सरिताका साथमा १० वर्ष र ८ वर्षका दुई छोरा छन् । अमेरिकामा उनीहरुको पढाइ र लालन-पालन सरिता आफैंले गर्दै आएकी छिन् ।

सरिताले अमेरिकाबाट दिएको प्रतिक्रिया उनकै शब्दमा-

मान्छेहरु भन्छन्, बिहेपछि महिलाको भाग्य खुल्छ, नयाँ जीवनसाथी पाएर उसले हात समातेर हिँडाउँछ । उसलेे जीन्दगीका सबै दुःख हटाएर सुख नै सुख दिन्छ । यस्तै सपना मैले पनि सजाएकी थिएँ । तर, यो थाहा थिएन कि त्यही सपनाले मेरो जिन्दगीको सारा खुशी छिनेर लिनेछ ।

विजय साहसँग मेरो बिहे सन् २००६ मा भएको हो । अहिले दुई छोरा छन्, १० र ८ वर्षका । स्कुल जान्छन् । म अमेरिकामा बस्छु ।

मेरो बिहे हुनुभन्दा दुई महिना पहिले मेरी दिदीको बिहे भएको थियो । त्यही भएर बुबाले अहिले कान्छी छोरीको बिहे गर्दिनँ भन्नुभएको थियो । तर, त्यसबेला विजय साहले भने- जहिले पनि अमेरिकाबाट आउँछु बिहे गर्न, पैसा खर्च हुन्छ, तर बिहे हुँदैन । यदि योपालि पनि भएन भने म अब कहिल्यै आउँदिन बिहे गर्न । यो कुराले विजयकी आमा चिन्तामा पर्नुभयो ।

विजय साहको घर नजिककी छिमेकीले मेरा बुबासँग कुरा गरे । बुबाले भन्नुभयो कि दुई महिनापहिले मात्रै ठुली छोरीको बिहे गरेर अहिले कसरी अर्को बिहे गर्ने ? तर उताबाट जोड गरेपछि घरका सबै मान्छेले छलफल गरे । दाइजो केही नलिई यत्तिकै बिहे गर्न विजय तयार भए ।

तर, उनले बिहेको ३/४ दिनपछि देखि दाइजोको कुरा झिकेर दुःख दिन थाले । बिहेको ३/४ दिने पछिदेखि नै उसले मसँग सरसामान, पैसा र दहेजका लागि कुटपिट गर्न थालेे । घरमा सुनाउँदा सबैले उनलाई सम्झाउने प्रयास गरे । तर, मान्छेको बानी व्यहोरा कहाँ परिवर्तन हुन्थ्यो ?

यो सिलसिला नेपालबाट लिएर अमेरिकासम्म आइपुग्यो । उनी नकारात्मक सोच र ईष्र्याको भण्डार रहेछन् । अमेरिकामा त्यति लामो समयसम्म बसेर पनि जीवनमा केही सिक्न गर्न सकेनन् । लडाइँ झगडा गर्ने, शंका गर्ने सोचले गर्दा ।

मैले यहाँ आएपछि साथीभाइहरु बनाएँ । उनको जीवनशैलीलाई परिवर्तन गर्ने प्रयास गरें । सोच्ने तरिकालाई अलिअलि बदलें । यो सबै देखेर साथीभाइले जब मेराबारेमा राम्रो कुरा भन्थे, त्यसबाट उनलाई जलन हुन्थ्यो । किन त्यो मान्छेले तिम्रा लागि त्यस्तो कुरा बोल्यो भनेर शंकाको भावना राख्न थालेे ।

जहिले पनि सानोतिनो कुरा हुँदा तेरो बाबु भिखारी छ भन्दै दाइजोको कुरो गर्ने, कुटपिट गर्नेर् । म नेपाली संस्कार र बाबुआमाको इज्जतलाई हेरेर जहिल्यै चुप लाग्थें ।

म आफूले मात्रै काम गरेर घर चलाउँथें । उनलाई काम गर भन्दा झर्किने, गाली गर्ने । लोग्ने मान्छे हो, बच्चा श्रीमतीप्रतिको दायित्व हुनुपर्ने हो । त्यो भएन । म साथीभाइसँग सहयोग लिएर काममा जाने-आउने गर्थें । दुईवटा बच्चालाई हेरचाह गर्नु सानो कुरा होइन ।

१२ वर्षको हाम्रो दाम्पत्य जीवनमा उनले कहिल्यै पनि श्रीमतीलाई दिने माया र व्यवहार बुझेनन् । जहिल्यै पनि पैसा र सम्पत्तिलाई महत्व दिने, मान्छेलाई होइन ।

अमेरिका जस्तो देशमा बसे पनि दहेजका लागि मर्ने मान्छे हुन् यिनी । जसले मानवतालाई भन्दा पैसालाई बढी मूल्यवान ठान्छन् ।

उनी जहिले पनि लडाइँ गर्दा मेरो पर्स, गाडीको साँचो र फोन लिन्थे, अनि भन्थे- जाऊ यहाँ तिम्रो कुन बाबुआमा छन्, उसँग गुहार माग । १२ वर्षमा करिब ५० चोटि मलाई पिटिसकेको त्यो मान्छेको हिम्मत दिनदिनै बढ्न थाल्यो । ममाथि अत्याचार हुन थाल्यो । उनले मेरो भावना बुझ्न सकेनन् कि मेरो दिमागमा उनका लागि माया र समाजलाई ध्यान राखी केही कुनै कारवाही गरिनँ ।

२०/२५ वर्षदेखि उनका दाजुभाइमा पनि दुश्मनी थियो । उनका आफन्तले उनीमाथि माओवादी लगाउने प्रयास पनि गरे । तर, उनले आज तिनै दाजुभाइका लागि आफ्नी श्रीमती र बच्चाहरुको बलिदानी दिँदैछन् । उनी आफैंले दाजुभाइबाट जोगाउन सम्पत्ति मेरा नाममा राखेका हुन् । त्यो सम्पत्ति दुई भाइ छोराहरुलाई चाहिन्छ कि चाहिँदैन ? त्यसैले सम्पत्ति हडपेको र सडकमा ल्याएको भन्न मिल्छ ? यसमा समाजले हेरिदेओस् । म र मेरा छोराहरुलाई न्याय दिइयोस् ।

म आफू मध्यमवर्गकी मान्छे, जसले जहिल्यै पनि इज्जतको पर्वाह गर्छ । समाजको पर्वाह गर्छ । बाबुआमाको मान-सम्मान सोच्ने छोरी भएकाले मैले आफ्ना बाबुआमाको मर्जीले त्यस्तो मान्छेसँग बिहे गरें ।

अहिले उनी यहाँबाट मलाई पिटेर भागेका छन्, पुलिसको डरले । उनी लगभग दुई वर्षदेखि काम छाडेर घरैमा बसेका थिए । म एउटा वेयरहाउस कम्पनीमा काम गर्छु ।

उनले १२ वर्षको जीवन नर्कजस्तो बनाइदिए । म भगवानसँग सोधिरहन्छु । म कुनै स्टेप उठाउन सकिरहेको छैन । किनकि मेरो संस्कारले त्यसो गर्न दिँदैन सायद । म त सपनामा पनि कसैको चित्त दुखाउन सक्दिनँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?