यसभन्दा अगाडि कहिले होस्टेलमा त कहिले अमेरिकामा एक्लै जन्मदिन मनाएकी नायिका सुहाना थापा, पहिलो पटक मिडिया र फ्यानसँग जन्मदिन मनाउँदैछिन् । अंग्रेजी मिति अनुसार मे ८ र नेपाली मिति अनुसार वैशाख २६ गते जन्मिएकी नायिका सुहाना थापाका लागि यो बर्षको जन्मदिन विशेष छ ।
चलचित्र ‘ए मेरो हजुर ३’ रिलिज अगाडि नायिका तथा निर्देशक झरना थापाकी छोरी भनेर चिनिएकी नायिका थापा अब भने आफ्नै नामबाट चिनिने दौडमा छिन् । उनले नायिका भएपछि मिडियासँग जन्मदिन मनाउन लागेको भन्दै खुशी व्यक्त गरिन् ।
सुहानाले अमेरिकामा रहँदा मनाएको जन्मदिनको याद गर्दै भनिन्–‘अमेरिकामा रहँदा ३ बर्ष अगाडि मैले एउटा रेष्टुरेन्टमा पुगेर एक्लै केक काटेकी थिएँ । त्यसपछि साथीहरुसँग मनाएँ । पहिले पनि होस्टेलमा बढी बसेकाले केक भन्दा पनि चकलेट बाड्ने काम गर्थेँ ।’
सुहाना भगवान् कृष्णकी ठूलो भक्त हुन् । यसैले उनले आज बिहानै मन्दिर पुगेर भगवान कृष्णको पूजा गरिन् । ‘ए मेरो हजुर ३’ले यति ठूलो कमाई गर्छ जस्तो लागेको थियो भन्ने प्रश्नमा उनले भनिन्–‘मैले यो सोच राखेकी थिइनँ । तर, यो चलचित्रपछि दर्शकमा मप्रति आशा बढेको छ । मलाई पनि कडा मिहिनेत गर्नुपर्छ भन्ने प्रेरणा मिलेको छ । मैले यो चलचित्र रिलिज नभएसम्म यो क्षेत्रमा कसरी अगाडि बढ्ने भन्ने सोचेकी थिइनँ । मैले सम्पूर्ण रुपमा दर्शककै हातमा छाडिदिएको थिएँ । तर, अब भने यही क्षेत्रमा करिअर बनाउछु भन्ने लागेको छ ।’ सुहानाले आफू अब परिपक्क भएको महुशश गर्न थालेको समेत खुलाइन् ।
सुहानाको जन्मदिनको अवसर पारेर सुहाना इन्टरटेन्मेन्टले नयाँ चलचित्र घोषणा गर्ने योजना पनि बनाएको छ । तर, नायिका थापा भने आफूलाई पनि यो सरप्राइज नै हुने बताउँछिन् । सुहानाले चलचित्रको बिषयमा तत्काल कुनै योजना नभएपनि विचमा कुनै प्रोजेक्ट सुरु भएको खण्डमा नेपाल आउने बताइन् । उनी अध्ययन पुरा गर्नका लागि अमेरिका फर्किदैछिन् ।
आजबाट २१ बर्षमा प्रवेश गरेकी नायिका थापालाई हाम्रो तर्फबाट जन्मदिनको शुभकामना ।