
१५ जेठ, काठमाडौं । कतारले अन्ततः नेपालमा भिसा सेन्टर खोल्ने भएको छ । यसले मलेसियाको जस्तै सिन्डिकेट भित्र्याउने भन्दै केही म्यानपावर व्यवसायीले विरोध सुरु गरेका छन् । भिसा सेन्टर खोल्न अदृश्य शक्तिले काम गरेको आरेाप लगाएका छन् ।
यसअघि श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले ‘कतार भिसा सेन्टर’ खोल्न नदिने बताएका थिए । उनले यसले सिन्डिकेट कायम हुने र कामदार माथि विभिन्न बाहनामा शुल्क अशुल्न हुन सक्ने भन्दै विरोध जनाएका थिए ।
तर, कतार सरकार र भिसा सेन्टर खोल्न लागि परेका नेपाली व्यवसायीको दबावमा सरकारले भिसा सेन्टर खोल्न अनुमति दिएको छ । व्यवसायीले यसलाई राजनीतिक र नीतिगत रुपमा भएको चलेखेल भनेका छन् ।
बुधबारबाट नै कतारले आफ्नो भिसा सेन्टर सञ्चालनमा ल्याउन लागेको जानकारी व्यवसायीले पाएका छन् । उसले कतार जाने कामदारको बायोमेट्रिक लिने र स्वास्थ्य परीक्षणलाई विश्वासनीय बनाउने गरी काम गर्ने बताइएको छ ।
आ-आफ्नै दावी
वैदेशिक रोजगार व्यवसायी संघका महासचिव नरेश गेलालले यस्तो सिन्डिकेट हुने गरी भिसा सेन्टर खोल्न सरकारले सहमति दिएको भन्दै राजीनामा घोषणा गरेका छन् ।
‘हाम्रो अथक प्रयासका बाबजुद पनि भिसा सेन्टर खुल्यो, त्यसैले संघमा रहिरन नैतिक संकट भयो, हिजो पनि माइग्रामका नाममा मलेसियाको सिन्डिकेट यसै गरी नेपाल भित्र्याइएको थियो । सुरुमा एक रुपैयाँ पनि शुल्क नलिने भन्दै भित्र्याएर पछि आर्थिक भार थोपार्ने पुरानो प्रवृत्ति हो,’ उनले भने,’यस्तो सिन्डिकेटविरुद्ध लडेका सरकारले अहिले केका आधारमा अनुमति दियो भन्ने प्रश्न जन्मिएको छ ।’
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भिसा सेन्टरले विदेशिने कामदारसँग एक रुपैयाँ पनि शुल्क नलिने र कुनै प्रकारको सिन्डिकेट कायम नगर्ने प्रतिवद्धता गरेको छ । तर, व्यवसायीहरु भने सीमित व्यवसायीलाई मात्रै कतारमा कामदार आपूर्ति गर्न दिने योजनसहित यो सेन्टर खुलाइएको दावी गर्छन् ।
संघका अध्यक्ष रोहन गुरुङ हाल शुल्क नलिने र सिन्डिकेट कायम नगर्ने कुरा सकिएको बताउँछन् ।
‘यदि सीमित मेडिकल सेन्टर र म्यानपावर व्यवसायीलाई मात्रै कतारको कामदार आपूर्ति प्रक्रियामा राखेर सिन्डिकेट लादियो भने हामी कतारको दूतावास घेराउ गर्छौं,’ अध्यक्ष गुरुङले भने,’कामदार र व्यवसायीलाई एक रुपैयाँ पनि भार भिसा सेन्टरबाट पर्नु हुँदैन ।’
उनले भिसा सेन्टर खोल्न हेम गुरुङ लगायत व्यवसायी सक्रिय भएको सुनेको बताए । ‘हामीलाई यसबारे कुनै औपचारिक जानकारी कसैले दिएको छैन,’ गुरुङले भने ।
कतारले विभिन्न देशमा भिसा सेन्टर खोलेको छ । नेपालमा खोल्न एक वर्षदेखि उसले प्रयास गरेपनि कामदार मलेसिया पठाउने प्रक्रियामा लादिएको सिन्डिकेट विरुद्ध श्रममन्त्री गोकर्ण बिष्टले कडा कदम चालेपछि अन्योल भएको थियो ।
श्रम तथा रोजगार मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत कतार सरकारलाई भिसा सेन्टर नखोल्न भन्दै पत्राचार नै गरेको थियो ।
तर, मलेसियाको सिन्डिकेटको टुंगो नलाग्दै कतारलाई पनि त्यस्तै प्रक्रियमा सजिलै प्रवेश दिइएको छ । यसले सरकारको भनाइ र गराइमा कति फरक छ भन्ने देखाएको व्यवसायी बताउँछन् ।
सबै काम सेन्टरबाट
कतार दूतावासका एक अधिकारी भने यो सेन्टर कुनै सिन्डिकेट लाद्ने गरी नल्याएको बताउँछन् । कतार जाने नेपाली नागरिकका लागि सलिलो होस् भने एकै स्थानबाट सेवा दिने गरी सेन्टर सञ्चालनमा ल्याइएको उनको दावी छ ।
‘यो मलेसिया वा अरु देशको जस्तो संयन्त्र हैन, यसले काकदारलाई नै सजिलो गराउँछ, विदशेमा गाएर मडिकल अनफिट भएर फर्किहाल्नुपर्ने र आपाराधिक रेकर्ड भएका नागरिक कतार पुग्ने अवस्था हटाउँछ, उनी भन्छन् ।
सेन्टरमा भिसा, स्वास्थ्य परीक्षण र कामदारको बायोमेट्रिक, बिमा लगायतका सेवाका प्रक्रिाय पुरा गरिनेछ । कामदारको सक्कली करारपत्र प्राप्त गर्ने प्रक्रिया पनि यहीँ हुनेछ ।
यसअघि कतारमा गएर पुरा गर्नुपर्ने प्रक्रिया यही पुरा हुने भएकाले कतार पुग्नासाथै परिचपत्र प्राप्त हुने बताइएको छ । यसले भिसा प्रक्रिया सरलीकरण हुने बताइएको छ ।
कसरी दिइयो अनुमति ?
कतारसँग श्रम सम्झौता पुनरावलोकनको प्रक्रिया चलिरँहदा हतार-हतार भिसा सेन्टर खुल्नुलाई व्यवसायीले शंकास्पद मानेका छन् । शून्य लागतमा कामदार पठाउने छलफल चलिरहेका बेला भिसा सेन्टरका नाममा कुनै पनि संरचना मान्य नहुने बताएको सरकारपछि हट्नुको कारण के हो भन्ने उनीहरुको प्रश्न छ ।
श्रम मन्त्रालयले गत वैशाख २९ गते परराष्ट्र मन्त्रालयलाई पत्र लेख्दै कतार भिसा सेन्टरवाट नेपाली कामदारहरुले कतार जान पूरा गर्नु पर्ने प्रकृयाहरु थम्ब्स प्रिन्ट, बायोमट्रिक डाटा, हेल्थ प्रोसिड्योर, वर्क कन्ट्याक्ट, एटेस्टेसन र भिसा प्रोसेसिङ चार्जकोको लागत एवं शुल्क रोजगारदाताले व्यहोर्ने र नेपाली कामदारलाई कुनै पनि शुल्क नलाग्ने व्यवस्था गर्न भनेको थियो ।
शुल्क तथा लागत रोजगारदाताले नै व्यहोर्ने र नेपाली कामदारलाई कुनै पनि शुल्क नलाग्ने व्यवस्थाको प्रत्याभुत हुन आवश्यक रहेको पत्रमा उल्लेख थियो । यो व्यवस्था सुनिश्चित हुनेगरी कतार भिसा सेन्टर सम्वन्धी आवश्यक निर्णय प्रचलित कानून वमोजिम साधिकार निकायबाट नै हुन उपयुक्त हुने पत्रमा उल्लेख थियो । त्यस अनुसार नै परराष्ट्रले कतारलाई भिसा सेन्टर खोल्न अनुमति दएको हो ।
प्रतिक्रिया 4