+
+

बजेटमा पर्यटनले पाएन प्राथमिकता

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ १५ गते २०:०५

१५ जेठ, काठमाडौं । सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’ घोषणा गरेको सरकारले बजेटमा भने पर्यटन क्षेत्रलाई महत्व दिएको देखिएन । आगामी आर्थिक वर्ष ०७६/७७ को बजेटमा पर्यटन प्रवर्द्धनमा जोड दिने शाब्दिक प्रतिवद्धता बाहेक ठोस कार्यक्रम छैनन् ।

होटेल संघ नेपाल (हान)का प्रथम उपाध्यक्ष विनायक शाह भन्छन् ‘भ्रमण वर्षलाई लक्षित गरी केही नयाँ घोषणा हुने अपेक्षा थियो, जसले अन्तर्राष्ट्रिय पर्यटन बजारमै चर्चा कमाओस, त्यो बजेटमा देखिएन ।’ परम्परागत ढर्राको प्रवर्द्धनबाट वार्षिक २० लाख पर्यटक भित्राउने लक्ष्य पूरा नहुने उनी बताउँछन् ।

आगामी आवको बजेटमा पर्यटनतर्फ सभा-सम्मेलनका माध्यमबाट हुने पर्यटन (माइस-टूरिजम) लाई प्राथमिकता दिने उल्लेख गरेको छ । तर, माइस टूरिजम फस्टाउने पूर्वाधार नेपालमा छैनन् । सरकारले निर्माण गर्ने घोषणा गरेको बहुउद्देश्यीय सम्मेलन केन्द्र बनाउन मात्रै ३ वर्ष लाग्ने बजेटमै उल्लेख छ । नेपालमा भएको एक मात्र अन्तर्राष्ट्रिय स्तरको सम्मेलन केन्द्र पनि संसदले ओगटेको छ । यस अवस्थामा घोषणा भएको ‘माइस-टूरिजम’ पूरा हुन कठिन अवधारणा हो ।

बजेटमा नेपाल एकीकरणमा प्रयोग भएका गढी, किल्ला र बाटोलाई संरक्षण गरी आकर्षक पर्यटकीय गन्तब्य बनाउने घोषणा गरिएको छ । पर्वतीय, कृषि, खेल, ग्रामीण, जलयात्रा, पर्या, स्वास्थ्यलगायत उत्पादनलाई समेटेर एकीकृत पर्यटन विकास गर्ने घोषणा पनि बजेटले गरेको छ । सुदूर पश्चिमको दार्चुलादेखि पूर्वको ताप्लेजुङसम्म जोड्ने हिमालयन हरित पदमार्गको अवधारणा घोषणा गरी यसमा पूर्वाधार बनाउने सरकारले उल्लेख गरेको छ । साहसिक पर्यटनमा विश्वको ध्यानाकर्षण गराउने तथा रारालाई राष्ट्रिय प्रवर्द्धन गन्तब्य घोषणा गर्ने उल्लेख गरिएको छ ।

सरकारले चालु आवमा १०० गन्तब्य घोषणा गरी प्रत्येक गन्तब्यको विकासमा ५० लाख रुपैयाँ बजेट छुट्याएको थियो । यसवर्ष पर्यटनले अपनत्व महसुस गर्ने गरी नयाँ कार्यक्रम नआएको पर्यटन क्षेत्रको गुनासो छ ।

हानका प्रथम उपाध्यक्ष शाह भन्छन्, ‘परम्परागत कार्यक्रमले मात्र अब पर्यटन अगाडी बढ्न सक्दैन भन्ने तथ्यलाई सरकारले महसुश नै गर्न सकेन ।’

सोसाइटी अफ ट्राभल एण्ड टूर्स अपरेसन (सोट्टा) नेपालका पूर्वअध्यक्ष यम खड्का पर्यटनमा जिम्मेवारी लिने नेतृत्वको अभाव बजेटमा देखिएको टिप्पणी गर्छन् । खासगरी भिजिट नेपाललाई मात्र केन्दि्रत गरी बजेट आइदिएको भए सन् २०२० को आधार खडा गर्न सफल हुने उनको भनाइ छ ।

‘यो कार्यक्रम के हो, कसरी अगाडि बढ्दैछ भन्नेमा सबै अलमल छन्,’ उनी भन्छन्, ‘त्यसकारण पनि प्राथमिकतामा नपरेको देखिन्छ ।’

नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष सीएन पाण्डे भने बजेटमा उल्लेख कार्यक्रमबाट आफू आशावादी रहेको बताउँछन् । नेपालमा पर्यटन विकासको सन्दर्भमा पूर्वाधार कमी रहेको र बजेटले हवाइ तथा सडक पूर्वाधारमा जोड दिएका कारण सकारात्मक प्रभाव पार्ने उनी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?