+
+

उच्च अदालतको न्यायाधीशमा १२ जनाको नाम सिफारिस

महरालाई जेल पठाउने न्यायाधीश उच्च अदालतमा सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर ४ गते १८:३१

४ मंसिर, काठमाडौं । न्याय परिषदले उच्च अदालतको न्यायाधीशका लागि १२ जनाको नाम सिफारिस गरेको छ ।

बुधबार बसेको बैठकले जिल्ला न्यायाधीशमध्येबाट ६ जना, अधिवक्तामध्येबाट ५ जना, न्याय सेवाको राजपत्रांकित प्रथम श्रेणीको कर्मचारी १ जना उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो ।

उच्च अदालतको न्यायाधीश सिफारिस हुनेमा जिल्ला न्यायाधीशमध्येबाट किरणकुमार पोखरेल, मुरारीबाबु श्रेष्ठ, सुदर्शनराज पाण्डे, दीपेन्द्र अधिकारी, रमेशराज पोखरेल, नरिश्वर भण्डारी रहेका छन् । पोखरेल झापा, श्रेष्ठ नवलपरासी, पाण्डे काठमाडौं, अधिकारी बारा, पोखरेल रुपन्देही र भण्डारी डोल्पा जिल्ला अदालतका न्यायाधीश हुन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । त्यस्तै अधिवक्तामध्येबाट भोजपुरका मिलनकुमार राई, चितवनका राजुराम सिलवाल, डोटीकी मेरिना श्रेष्ठ, मोरङकी मीना गौतम सेढाई र चितवनका सोमकान्त मैनाली उच्च अदालतको न्यायाधीशमा सिफारिस भएका छन् ।

न्याय सेवाको राजपत्रांकित प्रथम श्रेणीका अधिकृतको तर्फबाट महान्यायाधिवक्ता कार्यालयका सहन्यायाधीवक्ता गीताप्रसाद तिम्सिना उच्च अदालतको न्यायाधीशमा सिफारिस भएका छन् ।

तीन पद खाली नहुँदै सिफारिस

समितिको बैठकले मंसिर महिनामा रिक्त हुने उच्च अदालतका तीन न्यायाधीशको ठाउँमा तीन अधिवक्तालाई न्यायाधीशमा सिफारिस गरेको छ ।

मंसिर १५ गते सेवा निवृत्त हुने उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्यायाधीश दयानाथ खरेलको ठाउँमा भोजपुरका अधिवक्ता देशबहादुर सार्की, मंसिर १६ गते सेवा निवृत्त हुने उच्च अदालत पाटनका न्यायाधीश नरेन्द्रकुमार शिवाकोटीको ठाउँमा सुनसरीकी अधिवक्ता रेखा थापा पाण्डे र मंसिर २१ गते सेवा निवृत्त हुने उच्च अदालत पोखराका न्यायाधीश जगतप्रसाद श्रेष्ठको ठाउँमा सप्तरीकी अधिवक्ता किरणकुमारी गुप्ता सिफारिस भएकी छन् ।

न्यायपरिषदको बैठकले उच्च अदालतका ८ जना न्यायाधीशको सरुवा सिफारिस पनि गरेको छ । उच्च अदालत विराटनगरको इलाम इजलासका न्यायाधीश प्रकाशचन्द्र गजुरेल उच्च अदालत जनकपुरको राजविराज इजलासमा, तुल्सीपुर इजलासका शिवनारायण यादव इलाम इजलासमा, विराटनगरका विनोद शर्मा सुर्खेतमा सरुवा सिफारिस भएका छन् ।

उच्च अदालत सुर्खेतका कृष्ण गिरीको वीरगञ्ज इजलासमा, सुर्खेतकै रमेशकुमार खत्री पोखरामा, इलाम इजलासका रवि शर्मा हेटौंडा इजलासमा, दिपायललका जनक पाण्डे वीरगञ्ज इजलास र ओखलढुंगा इजलासका राजेशकुमार काफ्ले नेपालगञ्ज इजलासमा सरुवा सिफारिस भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?