
३ चैत, काठमाडौं । टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएपछि काभ्रेको पनौती तनावग्रस्त बनेको छ ।
आक्रोशित भीड र प्रहरीबीच झडप भएको छ । त्यसक्रममा गोली चल्दा एक जना प्रहरी हवल्दार घाइते भएका छन् ।
प्रदर्शनकारीतर्फ तीन जना घाइते छन् । घाइते हुनेको नाम खुलिसकेको छैन ।
प्रदर्शनकारीले प्रहरी बिट पनि तोडफोड गरेका छन् ।
काभ्रे प्रहरी प्रमुख एसपी रविकुमार पौडेलले गोलीबाट प्रहरी घाइते बनेको अनलाइनखबरलाई बताए । यद्यपि, रात परिसकेकाले गोली कहाँबाट कसरी चल्यो भन्ने पुष्टि भइनसकेको उनले बताए ।
अहिले पनि घटनास्थलमै रहेको बताउँदै उनले स्थितिलाई नियन्त्रणमा लिने प्रयास भइरहेको बताए । प्रहरीले भने अश्रुग्यास मात्र प्रहार गरेको उनको भनाइ छ ।
सोमबार अपरान्ह पनौतीको मानेश्वरी बसपार्कमा बा ५ ख ५४८० नम्बरको टिपरले ठक्कर दिँदा जनिमाया गोले र उनकी छोरी स्मारिका गम्भीर घाइते भएका थिए । उनीहरुको शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिम्सिनाले अनलाइनखबरलाई बताए ।
त्यसपछि स्थानीयवासीले विरोध प्रदर्शन सुरू गरेका थिए ।
प्रतिक्रिया 4