+
+
Shares

सामान्य विवादमै ज्यान मार्ने अपराध

सामान्य विवादमै व्यक्तिको हत्या जस्तो जघन्य अपराध भइरहेको छ । प्रहरी अधिकारीहरु पनि विभिन्न तनाव, डिप्रेसन जस्ता कारणले मान्छे आक्रामक बन्ने बताउँछन् ।

नारायण अधिकारी नारायण अधिकारी
२०८३ जेठ ४ गते २०:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंको चन्द्रागिरी नगरपालिका–३ थानकोट खरिबोटमा २ जेठ राति सामान्य विवादमा २५ वर्षीय जाकिर मन्सुरीको हत्या भएको छ।
  • नुवाकोटको म्यागङ गाउँपालिका–४ किम्ताङमा ३० वैशाखमा दुई दाजुभाइको सामान्य विवादमा गोली प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ।
  • ललितपुरको पाटनमा १५ चैतमा सामान्य विवादमा सिर्जन नेम्वाङ र सुमित नेम्वाङ दाजुभाइको हत्या भएको छ।

४ जेठ, काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–३ थानकोट खरिबोटमा २ जेठको राति महोत्तरी घर भएका २५ वर्षीय जाकिर मन्सुरीको हत्या भयो ।

महोत्तरी नै घर भएका अन्दाजी ३८ वर्षीय समी अहमदले तरकारी काट्ने चक्कु प्रहार गरी मन्सुरीको हत्या गरेका थिए ।

चक्कु प्रहारबाट घाइते मन्सुरीलाई उपचारका लागि सतुंगलस्थित मेडपोइन्ट अस्पतालमा लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार सामान्य घरायासी विवादमै हत्या भएको थियो ।

प्रहरीका अनुसार समी र जाकिर भिनाजु र सालो नाता पर्ने व्यक्ति हुन् । दिदी भिनाजुको सम्बन्धका बारेमा विवाद भएपछि भिनाजुले सालोको हत्या गरेका थिए ।

हत्यासम्म पुग्ने कुनै ठूलो विवाद नै नरहेको प्रहरी अधिकारीहरू बताउँछन् । सामान्य विवादकै कारण सालोको ज्यान गएको प्रहरीको भनाइ छ ।

सामान्य विवादकै कारण ज्यान गुमाउने जाकिर पहिलो व्यक्ति भने होइनन् । पछिल्लो एक महिना यताको अवस्था हेर्ने हो भने सामान्य विवादमै व्यक्तिको ज्यान लिनेसम्मका अपराधका घटना भएका छन् ।

०००

नुवाकोटको म्यागङ गाउँपालिका–४ किम्ताङमा ३० वैशाखमा दुई दाजुभाइको शव फेला पर्‍यो  । किम्ताङबेँसी निवासी ४३ वर्षीय सोमनाथ तामाङ र उनका भाइ ३६ वर्षीय सूर्यमान तामाङको शव जंगलमा फेला परेको थियो ।

दाजुभाइकै शव किम्ताङ खोलामा ढुंगाले थिचेर लुकाइएको अवस्थामा भेटिएको थियो । नुवाकोटका एसपी विपिन रेग्मीका अनुसार ३० वैशाखको बिहान १० बजे खबर आएपछि खोजतलास गर्दा शव भेटिएको थियो । घटनास्थल नुवाकोट र धादिङको सीमा क्षेत्रमा पर्छ ।

प्रहरीलाई गोली प्रहार गरेर दाजुभाइको हत्या भएको जानकारी प्रहरीकहाँ आएको थियो ।

परिवारका सदस्यका अनुसार दुवै दाजुभाइ मंगलबार बिहान कुलो बनाउन भन्दै घरबाट निस्केका थिए । त्यसपछि उनीहरू सम्पर्कविहीन भएका थिए । घटनास्थल सडकबाट करिब ५ घण्टाको पैदल दूरीमा धादिङको सीमा नजिक पर्छ ।

यो हत्या पनि सामान्य विवादमै भएको देखिन्छ । हत्याको आरोपमा सुरुमा ६ जनालाई पक्राउ गरेर अनुसन्धान गरेको प्रहरीले ४ जनालाई रिहा गरेर २ जनामाथि मात्रै अनुसन्धान अघि बढाएको छ । जसमा सोही गाउँका धने भनिने धनबहादुर तामाङ र माइला भनिने सोमबहादुर तामाङ हिरासतमा छन् ।

धादिङबाट पक्राउ परेका उनीहरूमाथि अनुसन्धान गर्दा हत्याका कारण भने कुनै ठूलो नरहेको प्रहरीले बताएको छ । अहिलेसम्मको अनुसन्धानअनुसार मृतक दाजुभाइ गाउँमा पेटी ठेक्काको रुपमा काम गर्थे ।

यता हत्या आरोपमा पक्राउ परेका धने र माइला भने मजदुर हुन् । ठेक्का अर्कैले पारेका भन्दै दाजुभाइले काम दिन नसक्ने बताएपछि विवाद चर्केको हत्याको अवस्थामा पुगेको एक प्रहरी अधिकारी बताउँछन् ।

विवाद भएपछि दाजुभाई मोटरसाइकल लिएर खोलातिर झर्छन् । बाटोमा धने र माइला बन्दुक लिएर बसेका हुन्छन् । बाटो ढुकेर भरुवा बन्दुकले दाजुभाइको हत्या गरिएको प्रहरीको भनाइ छ ।

०००

नुवाकोटमा सामान्य विवादमा दाजुभाइको हत्या भएजस्तै ललितपुरको पाटनमा पनि सामान्य विवादमै दाजुभाइको हत्या भएको थियो ।

१५ चैतमा पाटनको कृष्ण मन्दिर परिसरमा सिर्जन नेम्वाङ र सुमित नेम्वाङ दाजुभाइको हत्या भएको थियो ।

नेम्वाङ दाजुभाइले फोन गर्दा नम्बर गलत परेर सञ्जीव नेपाली नाम गरेका व्यक्तिको मोबाइलमा फोन गएको थियो । प्रहरीका अनुसार उनीहरू एकापसमा परिचित समेत होइनन् ।

नचिनेको नम्बरबाट फोन आएपछि उनीहरूबीच भनाभन भएको ललितपुरका एसएसपी होविन्द्र बोगटीको भनाइ छ । त्यसपछि पाटनमा भेट्न आइज भनेर एकअर्कालाई भनेपछि उनीहरू कृष्ण मन्दिर परिसरमा भेट्न पुगेका थिए ।

सोही क्रममा दुवै पक्षबीच हात हालाहाल हुँदा सञ्जीवले चक्कु प्रहार गरेर नेम्वाङ दाजुभाइको हत्या गरेका थिए ।

दाजुभाइ हत्या प्रकरणमा प्रहरीले सञ्जिव नेपालीसँगै नवलपरासीको गैंडाकोट–१ का २१ वर्षीय गगन सुनार र झापाको कमल गाउँपालिका–६ का २७ वर्षीय विकास लिम्बुविरुद्ध मुद्दा चलायो ।

जसमध्ये नेपालीलाई जन्मकैद सजायको माग गरियो भने अन्य दुई जनालाई मतियारका रूपमा मुद्दा दायर गरियो । अहिले तीनै जना पुर्पक्षका लागि नख्खु कारागार चलान भएका छन् ।

दाजुभाइको ज्यान जानुको घटनामा जम्माजम्मी गलत नम्बरमा फोन गएको विषय बन्यो । गलतमा फोन गएपछि त्यसैबाट सुरु भएकाले विवादले काठमाडौं उपत्यकाभित्रै सम्साँझै ज्यान गुमाए ।

०००

२३ वैशाखमा दिउँसो साढे २ बजेतिर कीर्तिपुर नगरपालिका–१० पोडेटोलमा गुल्मीको धुर्कोट नगरपालिका–७ घर भई कीर्तिपुर ढलपा बस्ने २२ वर्षीय विपिन घिमिरेको हत्या भयो ।

धारिलो हतियार हतियार प्रहारपछि घिमिरे भुईंमै ढलेका थिए । कीर्तिपुर अस्पताल पुर्‍याइएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

हत्या गर्ने र मारिने साथी–साथी हुन् । उनीहरूबीच विवाद बढेपछि धारिलो हतियार प्रहार गरेर हत्या गरिएको थियो ।

घटनास्थलको सीसीक्यामेरा फुटेजमा ६ जनाको समूह देखिन्छ । तीमध्ये एक जना (विपिन)को हत्या हुन्छ । हत्याको मुख्य कारण भने एक खिल्ली गाँजा रहेको प्रहरी अधिकारीहरु बताउँछन् ।

गाँजाको विषयमा उनीहरुबीच विवाद भएको थियो । त्यसपछि एउटा समूहले दिउँसै हतियार प्रहार गरेर विपिनको हत्या गर्‍यो ।

घिमिरेलाई हत्या गर्ने मुख्य अभियुक्त सुजन शाहीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कीर्तिपुरकै चोभारमा गोली प्रहार गरी पक्राउ गर्‍यो । यो घटनामा अहिलेसम्म चार जना पक्राउ परेका छन् । एक जना भने अझै फरार छन् ।

काठमाडौंमै दिउँसै हतियार प्रहार गरी युवकको हत्या गरिएको यो घटनामा विषय भने कुनै ठूलो विवाद छैन । लागु औषधको विवादमा हत्या भएको प्रहरीको भनाइ छ ।

०००

पोखरामा गत २५ चैतको सम्साँझै विभत्स तरिकाले सिर्जना पौडेल केसीको हत्या भयो । पृथ्वीचोकमा जुत्ता पसल सञ्चालन गर्दै आएको पौडेलमाथि खुकरी प्रहार भयो । उनी रन्थनिँदै भुँईमा ढलिन्,उनको मृत्यु भयो ।

जेठी श्रीमतीले विष सेवन गरेर आत्महत्या गरेपछि कृष्ण केसीले ४ वर्षअघि सिर्जनालाई विवाह गरेका थिए । २ वर्षअघि कृष्णको पनि मृत्यु भएको थियो । उनको अहिले ३ वर्षकी छोरी छन् ।

विवाह र श्रीमानको मृत्युपछि बढेको पारिवारिक कलह र अंश मुद्दाको विवादले सिर्जनाको हत्याको रुप लियो । जबकी यो हत्या आफ्नै भान्जा नै संलग्न रहेको भन्दै प्रहरीले पक्राउ गरेको थियो ।

०००

यी घटनाहरूले मान्छे आक्रामक बन्दै गएको सामान्य विवादमै व्यक्ति हत्या जस्तो जघन्य अपराधमा पुगेको देखाउँछ । प्रहरी अधिकारीहरु पनि विभिन्न तनाव, डिप्रेसन जस्ता कारणले मान्छे आक्रामक बन्ने बताउँछन् ।

आवेगमा विवेक गुम्दा पनि यस्ता अपराधहरू हुने गरेको मनोचिकित्सकहरू बताउँछन् । अचानक उत्पन्न हुने तीव्र आवेगलाई नियन्त्रण गर्न नसक्दा मान्छे क्रुर बन्ने र सामान्य विवादमै हत्यासम्मका घटनाहरू हुने गरेका छन् ।

सामान्य अवस्थामा मानिसले झगडा बढ्दै गएको महसुस गरेपछि यसले पछि समस्या निम्त्याउन सक्ने सोचेर आफैं समाधान गर्ने प्रयास हुन्छ ।

तर, कहिले काँहि व्यक्तित्वको समस्याले अध्याधिक आवेगमा विवेक गुम्दा वा कन्ट्रोल गर्न नसक्दा चेतनशील सोच कमजोर हुने र ठूलो दुर्घटना हुने मनोचिकित्सहरू बताउँछन् ।

प्रहरीले भने वरपरको समाज, वातावरण, संगत र डीजीटल दुनियाँले पनि मान्छेलाई आक्रामक बनाउँदै लगेको बताउने गरेको छ ।

लेखक
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?