११ जेठ, काठमाडौं । चीनले अमेरिकासँगको सम्बन्ध नयाँ शीत युद्धको सम्मुखमा पुगेको बताएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले अमेरिकाले चीनसँगको सम्बन्धलाई नयाँ शीतयुद्धतर्फ धकेलेको बताएका हुन् ।
पछिल्लो समय कोरोना भाइरस (कोभिड-१९), हङकङ मामिला र अन्य विषयमा दुई मुलुकको बीचमा तनाव देखिइरहेको अवस्थामा चिनियाँ विदेशमन्त्रीले यस्तो बताएका हुन् ।
चिनियाँ विदेशमन्त्री वाङले आइतबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै अमेरिकामा अहिले केही राजनीतिक शक्ति चीनसँग नयाँ शीतयुद्ध सुरु गर्ने दिशामा अघि बढेकोमा आफूहरुको ध्यानाकर्षण भएको बताए ।
अमेरिकासँग चीनको लामो समयदेखि व्यापार, मानव अधिकार र अन्य विषयमा मतभेद देखिँदै आएको छ । कोरोना भाइरस (कोभिड-१९) को महामारी सुरु भएसँगै यी दुई मुलुकबीचको सम्बन्ध झनै चिसिएको छ । वाङले अमेरिकाको राजनीतित्र शक्ति को हुन् भन्ने विषयमा भने उल्लेख गरेका छ्रैनन् ।
पछिल्लो केही समययता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको महामारीको विषयलाई लिएर चीनको आलोचना गर्दै आएका छन् ।
स्रोत : एएफपी