Comments Add Comment

बारामा किट अभावले कोरोना परीक्षणमा ढिलाइ

सीडीओ भन्छन् : क्‍वारेन्टाइनमा बस्नेहरुलाई घर पठाउन सकिएन

११ जेठ, काठमाडौं । बारामा किट अभाव हुँदा सम्भावित कोरोना संक्रमितको परीक्षणमा ढिलाइ भएको छ । पछिल्लो समय संक्रमितको संख्या बढ्दै गएको तर स्वाब संकलन गर्ने भाँडा (भीटीएम) र पीसीआर किटको अभाव हुँदा परीक्षणमा ढिलाइ भएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले अनलाइनखबरलाई जानकारी दिए ।

प्रजिअ पण्डितले पर्याप्त किट उपलब्ध नभएको र परीक्षण गर्न आवश्यक नभएका व्यक्तिले पनि परीक्षणका लागि आग्रह गरेकामा फेसबुकमा स्टाटस लेखेरै असन्तुष्टि जनाए । उनले प्रहरी कार्यालयका सिपाहीमा कोरोना संक्रमण देखिँदा पनि सुरक्षा निकायका प्रमुखहरुको परीक्षण गराउन नसकिएको बताएका छन् ।

उनले आफ्नो फेसबुक वालमा लेखेका छन्,

‘पीसीआर र आरडीटी टेस्ट कसका लागि ? डब्लुएचओ तथा नेपाल सरकारको स्वास्थ्यसम्बन्धी प्रोटोकलअनुसार क्वारेन्टाइनमा बसेका आशंकित र पोजेटिभको कन्ट्याक ट्रेसिङ र ट्रयाकिङमा पहिचान भएका  व्यक्तिहरूलाई मात्र परीक्षण गर्ने भन्ने व्यवस्था छ ! तर, अहिले सरकारी पदाधिकारी, वडासम्मका निर्वाचित पदाधिकारी, घरैमा र स्टुडियोमा बसेर काम गर्ने पत्रकारहरूबाट समेत परीक्षण गराउनको लागि अनुरोध आइरहेको छ । फ्रन्टलाइनमा काम गर्ने र आफ्नै सिपाहीको पोजेटिभ आउँदा पनि सुरक्षा निकायका प्रमुखहरूले स्वाब परीक्षण नगराएको अवस्था छ।

वास्तविक आवश्यक पर्ने लक्षित तथा आशंकित व्यक्ति क्वारेन्टाइनमा दुई हप्ता पुग्दा पनि परीक्षणको सुविधा पाउन नसकेको अवस्था छ । किटको अभाव हुँदा व्यवस्थापनमा कठिनाइ भइरहेकोले सबैको अपेक्षा पूरा गराउन असमर्थ रहेको व्यहोरा विनम्र अनुरोध गर्दछौं । फेरि यो आज परीक्षण गरेपछि भविष्यमा कोरोना भाइरस नलाग्ने भ्यक्सिन पनि होइन । पोजेटिभ देखिएको बिरामीलाई पनि नेगेटिभ नआउन्जेल परीक्षण गरिरहनुपर्छ । तसर्थ पीडित मानव जीवन रक्षाको लागि आवश्यकता जहाँ छ त्यहाँ पुर्‍याउन सहयोग गर्नुहोस् ।’

पछिल्लो समय जिल्लामा संक्रमितको संख्या ह्वातै बढेको पनि उनीहरूको सम्पर्कमा आएकाहरूको परीक्षणमा ढिलाइ भएको प्रजिअ पण्डितले बताए । ‘संक्रमित भेटिएको क्वारेन्टाइनमा बसेका व्यक्तिहरूको समेत परीक्षण गराउन सकेका छैनौं’ उनले भने ।

प्रजिअ पण्डितका अनुसार तत्कालका लागि एक हजार थान किटको आवश्यकता रहेको छ। जिल्लाको विभिन्न १६ स्थानमा बनाइएका ३३ वटा क्वारेन्टाइनमा अहिले पनि ६०४ जना मानिस बसिरहेका छन्। क्वारेन्टाइनमा बस्ने अधिकांश भारतबाट फर्किर आएकाहरू छन् । क्वारेन्टाइनमा दुई हप्ताभन्दा बढी समय बसिसकेका उनीहरूलाई परीक्षण नगरी घर पठाउँदा थप जोखिम बढ्न सक्ने अवस्था रहेको उनले बताए ।

प्रजिअ पण्डितले भने, ‘शुक्रबार एकैदिन सिम्रौनगढ क्वारेन्टाइनमा बसेका छ जना व्यक्तिहरूमा संक्रमण पुष्टि भयो । यसले के देखाउँछ भने क्वारेन्टाइनमा बसेका व्यक्तिहरूको परीक्षण गराउनु आवश्यक छ ।’ दुई साता बसेकै भरमा ज्वरो मात्रै नापेर पठाउँदा समुदायमा जोखिम बढ्नेछ । क्वारेन्टाइनमा बसेकामध्ये ६४४ जना भने घर फर्किसकेका छन् ।

संक्रमितको सम्पर्कमा रहेका पाँच जना जितपुर सिमरा उपमहानगरपालिकाको आइसोलेसनमा छन् । उनीहरूको वीरगञ्जस्थित नारायणी अस्पतालबाट परीक्षण गरिसकिएको छ ।

प्रजिअ पण्डितका अनुसार बारामा अहिलेसम्म १२ जना संक्रमितमध्ये कलैया अस्पतालको आइसोलेसनमा नौ जना उपचाररत छन्। एक जना वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचाररत छन् । दुई जना भने शनिबार मात्रै नारायणीबाट निको भएर डिस्चार्ज भएका छन्।

जिल्ला प्रहरी कार्यालयको मुद्दा शाखामा कार्यरत एक जना प्रहरी जवानमा संक्रमण पुष्टि भएपछि उनको सम्पर्कमा आएका २५ जना सुरक्षाकर्मी बालमन्दिरको आइसोलसेनमा रहेको प्रजिअ पण्डितले बताए । उनीहरूको परीक्षण भइसकेको छ ।

उनका अनुसार बारा जिल्लामा ४१३ जनाको पीसीआर र ३१६ जनाको आरडीटी परीक्षण गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment